बाँके । सवारीसाधनको कागजपत्र चेकजाँचका नाममा बाँकेको नेपालगन्ज–६ फुलटेक्रा रोडमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ । फुलटेक्रामा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २५० रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् । फुलटेक्रादेखि नहरपूर्वा चोकको विभिन्न स्थानमा नेपाल प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् । सवारीको कागजपत्र माग्ने क्रममा सवारी चालकहरुले कागजपत्र दिँदासमेत नियम विपरीत सवारी चलाएको आरोप लगाउँदै पैसा असुल्ने गरेका छन् ।
वडा प्रहरी कार्यालय फुलटेक्राबाट खटेका प्रहरीहरुले अधिकांश सवारी साधनसँग रकम असुल्ने गरेका छन् । प्रहरी बिटमा सुरक्षामा लागि खटिने प्रहरीहरुले निजी सवारीसाधनभन्दा पनि गिटी, बालुवा बोक्ने टिपर र यात्रुबाहक सवारीसाधनसँग बढी रकम असुल्ने गरेको चालकहरुले जानकारी दिएका छन् । वडा प्रहरी कार्यालयका प्रहरीहरुले उपचारका लागि अस्पताल आउँदै गरेका बिरामीहरुलाई रोकी अनावश्यक दुख दिएको घटनाप्रति मानवअधिकारकर्मीहरुले आपत्ति प्रकट गरेपछि वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बिरामीहरुलाई उपचारका लागि पठाएको थियो ।
यस्तै पछिल्लो समयमा फुल्टेक्रामा चेकजाँचका नाममा यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रहरी बिटमा थुन्ने काम प्रहरीहरुले गरेको सार्वसाधारणहरुले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेकबहादुर तामाङले बिभिन्न पर्वहरुलाई लक्षित बनाइएको सुरक्षा योजनाका नाममा प्रहरीले यात्रुहरुलाई दुख दिएको पाइएमा कडा कारवाही गर्ने बताउँदै फुलटेक्रामा चेकजाँचका नाममा प्रहरीले जनतालाई दिएको दुखका विषयमा छानबिन गरी दोषी प्रहरीमाथि कारवाही गर्ने जिकिर गरेका छन् ।
।