सूचनाको शक्ति - The Power Of Information

        

पुरातात्विक, धार्मिक र साँस्कृतिक सम्पदा ओझेलमा

छेडागाड नगरपालिका–५ मा रहेको ऐतिहासिक देउती बज्यै मन्दिर ।

छेडागाड नगरपालिका–५ मा रहेको ऐतिहासिक देउती बज्यै मन्दिर ।

नरेश राना मगर/जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँस्थित कालिका र मालिका मन्दिर जीर्ण भएको वर्षाै बितेको छ । सदरमुकाम खलंगामा रहेको २५० वर्ष पुरानो उक्त पुरातात्विक मन्दिरको जीर्णोद्वारमा सम्बन्धित पक्षको ध्यान जान सकेको छैन । हरेक शनिबार, अष्टमी र पूर्णिमाका दिन पूजाआजा हुने कालिका मन्दिरको छाना, भित्ता, झ्याल ढोका, पर्खाल लगायत जीर्ण छन् । विजया दशमीं र चैते दशैंं पर्वमा विशेष पुजाआजा हुने कालिका मन्दिर परिसरमा झक्तजनलाई आवतजावत गर्ने बाटो समेत छैन ।
जिल्ला प्रहरी कार्यालय क्षेत्रभित्र मन्दिर रहेकोले भक्तजनलाई आवजावतमा समस्या भएको स्थानीय दीपक खनालले बताए । मन्दिर भत्किने अवस्थामा छ । तर, यसको जीर्णोद्वारमा कुनै पनि पक्षले चासो नदेखाएको उनले बताए । २६० वर्ष पहिले पृथ्वीनारायण शाह र जाजरकोटी राजा हरिनारायण शाहबीच मणिकणिर्का घाट वनारसमा भएको मैत्रीक सम्बन्धसँगै खलंगामा कालिका र मालिका मन्दिरको स्थापना भएको खनालले बताए ।
‘मैत्रीक सम्बन्धपछि पुथ्वीनारायण शाहले हरिनारायणलाई उपहार दिएका भगवतीका मूर्ती नै कालिका र मालिका मन्दिर भित्र रहेका छन्,’ उनले भने । ‘खलंगाको कालिका र मालिका मन्दिर पुरातत्व विभागमा सूचिकृत छन्,’ उनले भने । हाल दुबै मन्दिर जीर्ण अवस्थामा रहेको उनले बताए । जिल्ला प्रहरीले कालिका मन्दिर नजिकै ४ तले ब्यारेक भवन र कार्यालय भवन निर्माण गर्दा झन समस्या भएको उनले बताए ।
पुरातात्विक सम्पदा क्षेत्रमा भवन निर्माण गर्न नपाईने उनले बताए । दशैं पर्वका बेला पनि मन्दिरमा स्वतन्त्रपूर्वक पुजाआजा गर्ने वातावतरण नभएको खनालले बताए । कालिका मन्दिर मात्र हैन, पुरातात्विक सूचीमा रहेको कुशें गाउँपालिका–९ स्थित पैंक मष्टा मन्दिर पनि जीर्ण छ । हरेक पूर्णिमा पुजाआजा हुने उक्त मन्दिरको छाना, कम्पाउण्ड, पर्खाल र भित्ता जीर्ण रहेका छन् । त्रिवेणी नलगाड नगरपालिका १३ तल्लुमा रहेको भगवती मन्दिरको पनि अवस्था उस्तै छ ।
त्यस्तै ऐतिहासिक जाजरकोट दरबार र कालेगाउँ शिवालय मन्दिर झन् जीर्ण छन् । मर्मत संभार तथा जीर्णोद्वार नहुँदा जाजरकोटको पैंक मष्टा, खलंगा कालिका र मालिका, तल्लु भगवती, खलंगा शिवालय, जाजरकोट दरबार, छेडागार पजारु देवल, जगतीपुर वायुघट्ट, बारेकोट राँगामाझिला, दशेराको देउती बज्यै, चाखुरे ठाकुरजी लगाएत ऐतिहासिक तथा सास्कृतिक स्थल ओझेलमा परेका हुन् । यी सबै मन्दिर तथा देवल पुरातत्व विभागमा सूचीकृत छन् ।
पुरातत्व विभागले जाजरकोटका पुरातात्विक स्थल तथा मन्दिरको मर्मत तथा संभार र संरक्षणमा वेवास्ता गरेको इतिहासका जानकार केदारबहादर शाहले बताए । विभागको लापरबाहीले २ सय वर्ष बढी पुराना साँस्कृतिक तथा ऐतिहासिक स्थल लोप हुँने अवस्थामा पुगेको उनले बताए । स्थानीय तह लगाएत सरोकारवाला निकाय र व्यक्तिले पनि पुरातात्विक स्थलको संरक्षणमा वेवास्ता गरेको उनले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलवार ०७:१६