सिरहा । प्रदेश नं. २ का धेरै स्थानीय तहमा पराजित भएको एमाले मधेस आन्दोलनको उद्गमस्थल मानिने सिरहाको लहानमा जित हात पार्न सफल भयो । यो नगरपालिकामा नेकपा एमालेका मुनी साह सुडीले नेपाली कांग्रेसभन्दा २ हजार एक सय ७६ मत बढी ल्याएर विजयी भए । साहले ११ हजार ३०७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अचमितलाल चौधरीले ९ हजार १३१ मत मात्र ल्याए । उपप्रमुखमा पनि एमालेले नै जित्यो । मधेसवादी दलका उम्मेदवारको भने मत अझै कम छ । मधेसवादी पार्टीहरुबीचको फाटो र लहान नगरपालिकालाई सधैं विभाजन गर्ने जातीय मतका कारण यहाँ एमाले विजयी भएको स्थानीय जानकारहरु बताउँछन् ।
अर्को पक्ष मधेसवादी दलहरुले राजनीतिक व्यक्तित्वलाई चुनावमा उम्मेदवार नबनाउनु पनि उनीहरुको हारको अर्को कारण हो । मधेस आन्दोलनको नेतृत्व गर्नेहरुलई पाखा लगाउने प्रवृत्तिले पनि लहानमा उनीहरुले हार ब्यहोर्नु परेको कार्यकर्ताहरु बताउँछन् । यहाँ पार्टीगत राजनीतिभन्दा पनि चौधरी र चौधरी बाहेकका राजनीतिले काम गर्ने गरेको जानकारहरुको भनाई छ । यो पटक पनि झण्डै त्यस्तै भएको छ । लहान नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबाट चौधरीले उम्मेदवारी दिएका थिए । मधेसवादी दलहरुले आफ्ना छुट्टाछुट्टै उम्मेदवारी दिएकाले पनि लहानमा एमालेका उम्मेदवारलाई सजिलो भएको बताइन्छ ।
लहान मधेस आन्दोलनको उद्गमस्थल भएपनि यहाँ मधेसवादी दलबीच एकता नहुँदा उनीहरुले पराजय भोग्नुपरेको पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादव बताउँछन् । ‘जातीय मत पनि त्यतिकै विभाजित छन्, त्यसमाथि मधेसवादी दलहरुले पनि छुट्टाछुट्टै उम्मेदारी दिएपछि एमालेलाई सजिलो भएको हो’ उनले भने । यहाँ संघीय समाजवादीका तर्फबाट बैजनाथ साह, राजपाबाट डा महादेव यादव र लोकतान्त्रिक फोरमबाट विनोदकुमार साहले उम्मेदवारी दिएका थिए । बैजनाथ साह निर्माण व्यवसायी हुन् । डा महादेव साह राजनीतिप्रति चासो राख्ने व्यक्ति हुँदाहुँदै पनि उनलाई एउटै राजनीतिक आस्थामा अडिग नरहने व्यक्तिको रुपमा लिने गरिन्छ ।
उनीहरु कुनैपनि जितको नजिक नदेखेपछि यहाँका चौधरी बाहेकका मतदाताले एमालेलाई रोज्नुपर्ने बाध्यता भएको एकथरी बताउँछन् । मधेसवादी दलहरुबीचको आपसी फूट, अघिल्लो संविधानसभामा जितेर गएपनि उनीहरुमा देखिएको व्यक्तिगत स्वार्थका कारण मधेसी नागरिकले उनीहरुलाई विश्वास गर्न नसकेको सूर्यनारायण सत्यनारायण मोरवैता यादव सिरहाका रसायन शास्त्रका सहप्रध्यापक चन्देश्वर यादवले बताए । ‘पहिलो मधेस आन्दोलनको शाख उनीहरुले जोगाउन सकेनन्, उनीहरु व्यक्तिगत स्वार्थ र गुट फुटमा लागे, त्यसको परिणाम दोस्रो संविधानसभामै देखिसकेको छ । अनि दोस्रो मधेस आन्दोलन त्यसमा मधेसवादी दलका नागरिक मात्र थिएनन् । त्यहाँ समानुपातिक, समावेशी तथा राज्यको शासन सत्तामा आफ्नो पनि पहुँच हुनुपर्छ भन्ने सबै मधेसीको सहभागिता थियो’ उनले भने ।
उनका अनुसार मधेसी नागरिक अझैपनि समावेशी, समानुपातिक र राज्यको सबै तहमा आफ्नो सहज प्रतिनिधित्व चाहन्छन् । त्यस्ता खालको आन्दोलनमा मधेसी नागरिकले अझैपनि भाग लिने देखिन्छ । तर मधेसी नेताहरु वा मधेसवादी दलहरुप्रति यहाँका नागरिकले अझै विश्वास गर्न सकिरहेका छैनन् । नागरिकको विश्वास जित्न नकेकै कारण पनि लहान मधेसवादी दलको हातबाट गुमेको उनी बताउँछन् । मानव अधिकारकर्मी तथा अधिवक्ता सुनिलकुमार साहको भने मत अलि फरक छ । लहान नगरपालिका योभन्दा पहिले पनि एमालेले जितेको र पार्टीको पहिलेदेखि नै बर्चश्व रहेकाले अहिले विजयी हुन सहज भएको उनी बताउँछन् ।
नेकपा एमालेले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको नाम सार्बजनिक मत माग्न सुरु गरेको थियो । एमाले नेता कार्यकर्ताले लहान नगरलाई प्रतिष्ठाको विषय बनाई विशेष पहल गरेकाले पनि आफ्नो पक्षमा मत पार्न सकेको जानकारहरु बताउँछन् । अधिवक्ता साहले भने, ‘नेपाली कांग्रेसले त झन मेयर र उपमेयरको नाम घोषणा उम्मेदवारी दर्ताको एक दिनअघि मात्र गर्नु र पार्टीभित्रैबाट एकआपसमा तिक्तता बढदै जानुका कारण पनि यसपटक नेकपा एमालेले नै पुनः आफनो पुरानो साख जोगाउन सहज बन्यो ।’
उदाहरण बने टीकापुर र लहान
पछिल्लो मधेस आन्दोलनको शुरुवात टीकापुरबाट भएको थियो । पहिलो मधेश आन्दोलनको उद्गम थलो नै लहान थियो । ती दुवैमा जित हात पारेर एमालेले सबैलाई चकित पारेको छ । स्थापित नेता मुनी साह माओवादी छाडेर एमाले प्रवेश गरेपछि लहानमा माहोल बदलिएको थियो । चुनावी माहोल आफ्ना पक्षमा पार्न वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख योगेश भट्टराई र सचिव प्रदीप ज्ञवालीले लहानका सभाहरुमा निरन्तर उपस्थिति जनाएका थिए । लहान र एमालेलाई मत परिणाम अगाडिसम्म विपरित ध्रुवका रुपमा अथ्र्याइने गरेको थियो । अहिले भने दुवै पर्यायवाची देखिएका छन् । ‘एमालेलाई मधेश विरोधी भन्नेको मुखमा बुझो लागेको छ,’ नेता राजेन्द्रप्रसाद चौधरी भन्छन् ।
देशकै ठूलो नगरपालिका : तोडियो नेताको प्रतिष्ठा
लहान देशकै ठूलो नगरपालिका हो । मतदाताको हिसाबले यो आफैंमा एउटा संसदीय निर्वाचन क्षेत्र हो । केही मात्र कम जनसंख्याका कारण उपमहानगरपालिका बन्न नसकेको लहानको जितले एमालेलाई सिरहामा उत्साहित बनाएको छ । कांग्रेस नेता प्रदीप गिरी र पद्मनारायण चौधरीको गृहनगर पनि भएकाले यो चुनावी परिणामका अन्य आयाम पनि छन् । मुनी साह ०४९ सालमा स्वतन्त्र उम्मेदवार उठेर मेयरमा पराजित भएका थिए ।
त्यसपछि उनी चुनाव जित्न पार्टी र संगठन पनि चाहिने रहेछ भनेर एमाले प्रवेश गरे । ०५४ मा उनले एमालेबाट मेयर जितेपछि लहानको दीर्घकालीन विकासमा धेरै राम्रा काम गरेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो संविधानसभा चुनावअघि उनी माओवादी प्रवेश गरेर चुनाव लडे । तर, कांग्रेसका पद्मनारायण चौधरीसँग पराजित भए । यसपटक उनी पुनः एमालेमै फर्किए । एमालेको संगठन बलियो र कार्यकर्ता प्रतिबद्ध भएका कारण आफ्नो जित सम्भव रहेको उनको बुझाइ छ ।
एमालेलाई मुनीको राहत
सदरमुकाम सिरहा नगरपालिकामा उपमेयर जितेर पनि मेयरमा झिनो मतान्तरले पराजय भोगेको एमालेलाई लहानको जितले राहत दिएको छ । ‘विरोधीहरुले चोकचोकमा मधेश आन्दोलनमा मारिएका शहीदको भिडियो प्रदर्शन गरे, काँग्रेस सरकारले हत्या गरेका मधेशीलाई एमालेले गरेको हत्याका रुपमा प्रचार पनि गरे,’ नवनिर्वाचित मेयर साहले भने, ‘तर, हामीले खण्डन गर्यौं, मधेशविरोधी एमाले होइन भन्ने जनताले पुष्टि गरे ।’ नागरिक अगुवा डा.नमोनारायण झाको भनाइमा एमाले नेताहरुको बोलीले मधेशमा नकारात्मक धारणा छ, उक्त पार्टीप्रति । झा भन्छन्, ‘यहाँ मुनी साहको व्यक्तित्वले जितेको हो ।’ जेएस मुरारका बहुमुखी क्याम्पसका प्राचार्य सजन साह पनि त्यसैमा जोड दिन्छन् । भन्छन्, ‘मुनी साहको व्यक्तित्वलाई एमालेले क्यास गरेको देखियो ।’
।