सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा फड्को मार्दै सुदूरपश्चिम, चार जिल्ला उत्कृष्ट १० भित्र

बैतडी । पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ ।
स्वास्थ्यमा कार्य सम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो ।
यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेस्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७/६८ मा बैतडी ६८ औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १० औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए । उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनका आधारमा मूल्यांकन गरिएको हो ।’
केही वर्षअघि स्वास्थ्य सूचकांकमा खस्किँदै गएको सुदूरपश्चिम पछिल्लो समयमा स्वास्थ्यकर्मी र समुदायको सक्रियतामा स्वास्थ्य सूचकांकमा सुदूरपश्चिमका जिल्लाहरु उत्कृष्ट हुँदै आएका उनले बताए । सुदूरपश्चिमले स्वास्थ्य सेवामा जति फड्को मार्नुपर्ने हो त्यति फड्को मार्न नसकेको डा अवस्थीको भनाइ छ । उनले भने, ‘भौगोलिक विकटता, चाहिनेजति स्वास्थ्यकर्मीको आपूर्ति नहुनु र समयमै औषधि लगायतका सामग्री नपुग्नु मुख्य कारण रहेको छ ।’
मन्त्रालयले विभिन्न मापदण्ड तयार गरी उत्कृष्ट जिल्ला छनोट गरेको जनाएको छ । देशभरिमा सुर्खेतले ८९ दशमलव ८ अंक सहित पहिलो जिल्ला बनेको छ । तेस्रो स्थानमा प्यूठान, चौथोमा ललितपुर, सातौँमा दाङ र पाल्पा आठौँ नम्बरमा परेको छ भने रोल्पा नवौँ नम्बरमा पर्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्यांकनमा आव २०७१/७२ र २०७२/७३ मा लगातार सुदूरपश्चिमका पाँचवटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका थिए । पछिल्लो पाँच वर्षयता सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ ।
स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकांकमा मूल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अंकका आधारमा तथा आव २०७३/७४ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो । स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आव २०७३/७४ मा सबैभन्दा कमजोर स्वास्थ्य सेवा दिने जिल्ला मनाङ बनेको छ । ७५ जिल्लाको मूल्यांकनमा ५६ दशमलव ८ अंकमात्र पाएर मनाङ सबैभन्दा कमजोर जिल्ला बनेको हो । सेवाका हिसाबले दोस्रो कमजोर जिल्ला सोलुखुम्बु बनेको छ । सर्लाही तेस्रो कमजोर जिल्ला बनेको छ । चौथोमा धनकुटा, पाँचौँमा सप्तरी, छैटौँमा भोजपुर, सातौँमा हुम्ला परेका छन् । यस्तै, आठौँमा सुनसरी, नवौँमा ताप्लेजुङ र दशौँमा रौतहट परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलवार ०६:०४