-
आन्दोलन रोक्न पूर्व स्वास्थ्यमन्त्री गगनको आग्रह
बाँके । डाक्टरको आन्दोलनका कारण मंगलबार पाँचौं दिन पनि बाँके लगायत देशभरका अस्पतालका ओपिडी सेवा बन्द छन् । मन्त्रीपरिषदको सोमबारको आकस्मिक बैठकले डाक्टरका माग पूरा गर्न सरकार सकारात्मक रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि नेपाल चिकित्सक संघले त्यसलाई अस्वीकार गरेको छ । संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने अडान दोहोर्याएका छन् ।
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको बैठकबाट बिहीबार १२ गते फर्किएपछि मात्रै वार्ता हुने र सहमति भएमा ओपिडी सेवा खुल्ने उनले जानकारी दिएका छन् । डाक्टरको आन्दोलनका कारण उपचारका लागि अस्पतालमा पुगेका विरामी उपचार नै नगराइकन फर्किन बाध्य भएका छन् । उनीहरु उपचार गराउन नपाउँदा समस्यामा परेका छन् । डाक्टरहरुको लापरवाहीले बिरामीको ज्यान जाने घटना बढ्को भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरुले आन्दोलन थालेका हुन् ।
यसैबीच, पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले जारी आन्दोलनका कार्यक्रम तत्काल रोक्न डाक्टरहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित कार्यक्रममा उनले जनतालाई दुःख दिनेगरि आन्दोलन नगर्न सुझाव दिए । ‘सेवा नै बन्द गर्ने जनतालाई दुःख हुने काम रोक्नुहोस्’ उनले भने, ‘अन्य विकल्पमा जानुहोस् वार्ताबाट निकास दिने काम गरौँ ।’ डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा सम्वन्धित पक्षबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन मन्त्रिपरिषदले निर्णय गरेपछि उनीहरु चरणबद्ध आन्दोलनमा छन् । ओपिडी सेवा नै बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि सर्वसाधरण मर्कामा परेका छन् ।
।