सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका महिलाले बेचे सवा एक करोडका खसीबोका

विश्वराज पछल्डङ्ग्या / बाँके । राप्तीसोनारी गाउँपालिका–६, मोहनपुरकी सीता जिसीले खसी बिक्री गरेर ५४ हजार रुपैयाँ आम्दानी गरेकी छन् । उनले दसैंमा ५ वटा खसी बिक्री गरेकी हुन् । ३ वटा खसी बिक्रीका लागि तयार भइसकेको बताइन् । ‘दसैं र तिहारमा गरी ८०–९० हजार रुपैयाँको खसी बिक्री गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘अरु बिक्री गर्न बाँकी छ ।’ राप्तीसोनारी गाउँपालिका–६ की रुमा थारुले दसैंको बेला ५२ हजार ८ सय रुपैयाँमा ५ वटा खसी बिक्री गरेको बताइन् ।
उनले व्यावसायिक रुपमा बाख्रा पाल्न थालेपछि सोचेभन्दा धेरै फाइदा भएको बताइन् । साविक फत्तेपुर गाविसका महिलाले सुधारिएको प्रविधिमार्फत बाख्रा पालन सुरु गरेर मनग्य आम्दानी गरेको बताइन् । राप्ती–सोनारी गाउँपालिका–६ का महिलाले मात्र दसैंका अवसरमा १४ लाख रुपैयाँको खसी बिक्री गरेका छन् । नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले १३ लाख ९० हजार रुपैयाँको १३९ वटा खसी बिक्री गरेका हुन् । यो गत वर्षभन्दा दोब्बर बढी हो ।

महिलाले उत्पादन गरेका १ करोड २० लाखको खसी काठमाडौं पठाइयो

यसवर्ष बाँकेका महिलाले उत्पादन गरेका १ करोड २० लाख रुपैयाँको ३ हजार खसी दसैंका लागि काठमाडौं लगिएको छ । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत ठाउँका महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेले खसी काठमाडौं पठाएको हो । काठमाडौंका व्यापारीसँग मिलेर बाँकेका महिलाले उत्पादन गरेका ३ हजार खसी काठमाडौं पठाइएको संघका सामाजिक परिचालक भीम बहादुर नेपालीले जानकारी दिए । उनले काठमाडौंका व्यापारीको मागबमोजिम खसी बिक्रीका लागि पठाइएको बताए । ‘भारतबाट ल्याएका खसीको तुलनामा बाँकेका महिलाले पालेका खसी मोटा र राम्रा भएकोले काठमाडौं लगायतका सहरका माग बढ्दो छ,’ उनले भने ।

तौलेर खसी बेच्छन् महिला

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर बिक्री गर्न थालेका छन् भने फाट्टफुट्ट रुपमा बिक्री गर्न छोडेका छन् । पहिले खसी काट्ने र खसी, बोकाको व्यापार गर्नेहरुसँग फाट्टफुट्ट बिक्री गर्ने महिलाहरु अहिले थोकमा मात्र बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरकी व्यवस्थापक विद्या गुरुङले जानकारी दिइन् । उनले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेपछि महिला खसी, बोका उत्पादनमा वृद्धि भएको बताइन् । वर्षमा बल्लतल्ल २–३ वटा खसी बिक्री गर्ने महिलाहरु अहिले १० –१२ वटा बिक्री गर्न थालेको जानकारी दिइन् । ‘पहिले खसी अन्दाज गरेर कुत्वामा बिक्री गरिन्थ्यो, अहिले तौल गरेर मात्र बिक्री गरिन्छ,’ उनले भनिन् ।

भारतबाट ७० प्रतिशत कम आए खसी

यसवर्षको दसैंका लागि भारतबाट खसी, बोका एकदमै कम आएको पशु क्वारेन्टाइन चेकपोस्ट नेपालगन्जले जनाएको छ । रातिको समयमा नाराणगढ–मुग्लिङ सडक खण्ड बन्द हुने भएकोले नेपालगन्ज नाका भएर खसी, बोका एकदमै कम गएको पशु क्वारेन्टाइन चेकपोस्टका इन्चार्ज पशु चिकित्सक रामसेवक त्रिपाठीले जानकारी दिए । उनले नेपालगन्ज नाकाबाट गत वर्षभन्दा यसवर्षको दसैँमा ७० प्रतिशत कम खसी, बोका नेपाल भित्रिएको बताए । साउनमा अलिअलि आए पनि भदौमा ठप्प भएको बताउँदै उनले यसवर्ष कृष्णनगर नाकाबाट खसी, बोका भित्रिएको बताए । ‘बाँकेका लागि फाट्टफुट्ट मात्र आए, काठमाडौंका लागि भदौदेखि ठप्प छ,’ उनले भने ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार १०:४७