सूचनाको शक्ति - The Power Of Information

        

गोविन्द केसीको पक्षमा नारा लगाउने १५ डाक्टर प्रहरी खोरमा (भिडियोसहित)

काठमाडौं । डा गोविन्द केसीका समर्थक डाक्टरहरु नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट पक्राउ परेका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै उनीहरु संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका थिए । बिहान १० बजेदेखि नाराजुलुस गरिरहेका उनीहरुमध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनीहरु तीनकुनेस्थित प्रहरी कार्यालयमा छन् ।
पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाल, फिल्मकर्मी रवीन्द्रसिंह बानियाँ, शशि विक्रम कार्की, नवराज थापा, पुकार बम, सस्मित पोखरेल, जगन्नाथ लामिछाने, लेनिन विष्ट, डा. कश्यप श्रेष्ठ लगायत रहेका छन् । उनीहरुलाई प्रहरीले तिनकुनेस्थित प्रहरी कार्यालयमा राखेको छ । जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएको भन्दै आजैदेखि बजे डा गोविन्द केसी अनसन सुरु गरेका छन् ।

अस्पताल बन्द आज पनि यथावत

सहमति नभएपछि नेपाल चिकित्सक संघले आन्दोलनका नयाँ कार्यक्रम तय गरेको छ । संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने कायम राख्दै नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका आजका कार्यक्रम यस्ता छन्

१) आज दिउँसो १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका पूर्व अध्यक्ष तथा महासचिवहरु, उपत्यकामा रहेका स्वास्थ्य संस्थाका निर्देशक, संचालक, प्रमुख, विभिन्न विशेषज्ञ समाजका प्रमुखहरु, नर्सिङ तथा प्यारामेडिक संघ संगठनका प्रमुखहरु लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भेला गर्ने ।
२) संघका शाखा कार्यालयहरुले आफ्ना शाखा अन्तर्गत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समेत दिउसो १ बजे देखि आआफ्ना शाखा कार्यालयहरुमा जम्मा भई थप आन्दोलनका रणनीतिबारे व्यापक छलफल गर्ने ।

स्वास्थ्य सेवा सुरू गर्न सरकारको आग्रह

सरकारले आन्दोलन फिर्ता लिएर स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको भक्न्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ०७:०९