सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा ३ अर्बको मदिरा आयात

  • दसैँले बढायो मदिराको व्यापार


काठमाडौं । दसैँ सुरु भएसँगै मदिराको व्यापार बढेको छ । पछिल्ला वर्षका दसैँमा मदिराको खपत बढ्न थालेको मदिरा व्यवसायी महासंघले जनाएको छ । राजधानीसहितका शहरबाट बाहिरिनेले ठूलो परिमाणमा मदिरा लैजाने भएकाले व्यापार बढेको व्यवसायीहरु बताउँछन् । युवा वर्गले मदिरालाई ‘कोशेली’को रुपमा समेत हेर्ने गरेकाले दसैँमा उच्च माग हुने गरेको व्यवसायीको भनाइ छ । विदेसिएका नेपालीहरुले पनि स्वदेश फर्किँदा कोशेलीकै रुपमा मदिरा ल्याउने गरेको पाइन्छ । १.१५ लिटरसम्मको परिमाणमा मदिरा ल्याउँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई कुनै पनि शुल्क तिर्नुपर्दैन ।
मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल दसैँको घटस्थापना सुरु भएपछि तिहारसम्म नै मदिराको उच्च मात्रामा माग हुने गरेको बताउँछन् । उनी भन्छन् ‘दाजुभाई तथा साथीभाईहरु जमघट हुँदा रमाइलो गर्ने माध्यमका रुपमा यसलाई लिन थालिएको छ, जसले माग बढाएको हो ।’ दसैँको बेला कार्यालयहरुमा लामो अवधिको विदा हुने भएकाले पनि अधिकांश यो समयमा फूर्सदिलो हुने र त्यो समयमा मदिराको कारोबार बढ्ने गरेको उनको भनाई छ । महासंघका अनुसार वार्षिक खपत मदिरामध्ये दसैँमा मात्रै १५ प्रतिशत हुने गरेको छ । नेपालमा वार्षिक झण्डै १ करोड २५ लाख लिटर मदिराजन्य पदार्थ आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ ।
जसमा त्रिभुवन विमानस्थलमार्फत कोशेलीका रुपमा ल्याउने मदिराको परिमाण समेटिइँदैन । त्रिभुवन विमानस्थलबाट कोशेलीका रुपमा विदेसिएकाले ल्याउने मदिराको तथ्याङ्क नराखिने गरेको विभागले जनाएको छ । योबाहेक स्वदेशी तथा घरेलू मदिराको पनि पर्याप्त खपत हुने गरेको छ । देशका ग्रामीण क्षेत्रमा घरेलू मदिरा उत्पादन गरी शहरी क्षेत्रमा समेत जाने गरेको पाइन्छ । दसैँका बेला माछामासुको अत्याधिक प्रयोग हुने र त्यसका लागि मदिराको प्रयोग उपयुक्त ठान्ने प्रवृत्तिले गर्दा खपत बढी हुने गरेको नेपालले बताए । ‘पछिल्लो समयमा महँगो वाइन र ह्विस्कीप्रति मानिसहरु आकर्षित भएका छन्’ उनले भने, ‘विभिन्न पार्टी तथा सम्मेलनका बेला महँगो मदिरा बिक्री हुने गरेको छ ।’ नेपालका अनुसार मदिराको कारोबार बढ्नुमा सर्वसाधारणको खर्च गर्ने प्रवृत्तिको विकास हुनु पनि एउटा कारण हो ।
‘खर्च गर्ने क्षमता बढेको छ, त्यसमा पनि फूर्सदिलो समयमा जमघट हुँदा स्वभाविक रुपमा खर्चको हिस्सा मदिरामा पनि जाने गरेको छ,’ उनले भने । काठमाडौंमा साढे ४ लाख रुपैयाँसम्मको मदिरा पाइन्छ। दरवारमार्ग्िस्थत ग्रिनलाइन स्टोरमा रहेको क्यामु क्युभ ५.१५० नामको ७ सय मिलिलिटरलाई नै साढे ४ लाख रुपैयाँ पर्दछ । फ्रान्समा बनेको यो मदिरा साढे ४ वर्षअघि नेपाल भित्रिएको हो । त्यस्तै फ्रान्समै बनेर भित्रिएको लुई १३ को मूल्य ३ लाख ६० हजार रुपैयाँको हाराहारीमा छ । स्वदेशीभन्दा विदेशी ब्राण्डका वाइन र ह्विस्की ठूलो परिमाणमा खपत हुने गरेको छ । जसका कारण वाइन र ह्विस्कीको आयात पनि उच्च छ । विभिन्न २९ वटा देशबाट मदिरा आयात हुने गरेको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा कुल ३ अर्ब १३ करोड रुपैयाँको मदिरा आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९३ करोड बढी हो । वर्षेनि मदिरा आयातमा बाहिरिने रकम बढ्दै गएको विभागले तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ०६:४६