सूचनाको शक्ति - The Power Of Information

        

दशैँ नजिकिएसँगै दैनिक एक लाख यात्रु बाहिरिँदै

काठमाडौँ । नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् । घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए । ‘बाटोको दुरावस्था र वर्षाका कारण योवर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ,’ उनले भने । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच–छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेको बताए । रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ०२:३७