सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

बैतडी, २४ भदौ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढी नै छ ।
जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आव २०७१÷७२ बैतडीमा कूल गर्भवतीको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकामा आव २०७२÷७३ मा बढेर ६६ प्रतिशत पुगेको छ । यस्तै आव २०७३÷७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ ।
आव २०७३÷७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नाको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताए । बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ । आव २०७१÷७२ मा पाँच हजार १०२ जना गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा आएकामा तीन हजार ६१८ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
आव २०७२÷७३ मा गर्भवतीको संख्या पाँच हजार ५० रहेकामा तीन हजार ९६८ स्वास्थ्य संस्थामा सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा पाँच हजार ४८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकामा तीन हजार ९०० मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक रहेको छ ।
स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले बताए । उनले भने, ‘घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेका हुन् ।’
जिल्लाका १२६ ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा छन् । जिल्लाभरि १६० सुरक्षित प्रसूति केन्द्र सञ्चालन गरी हरेक गर्भवतीवलाई स्वास्थ्य संस्था अर्थात् सुरक्षित प्रसूति केन्द्रमा सुत्केरी गराइएपछि जिल्लालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने भएको छ ।
जिल्लाका चार ठाउँबाट गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि मातृ मृत्युदरमा कमी आएको छ । अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीको जटिलताका बारेमा समयमै जानकारी पाइने र सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्न सकिने भएकाले मातृ मृत्युदरमा कमी आएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए ।
हाट स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स जोशीले बताए । ग्रामीण क्षेत्रमा गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सजिलो भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताए ।
अर्थ अभावमा टाढा गएर गर्भवतीको अवस्थाका बारेमा जाँच गराउन नसक्ने नागरिकका लागि ग्रामीण अल्ट्रासाउण्ड वरदान सावित भएको छ । अहिले हाट, पाटन, मेलौलीमा मात्रै महिनामा ६० भन्दा बढी गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिइरहेका छन् । तीमध्ये महिनामा कम्तीमा तीन चार जनालाई सिफारिस गरी पठाउनुपरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज कुँवरले बताए । अल्ट्रासाउण्डबाट जटिलता छ भनी पत्ता लागेकाहरुलाई बाहिर पठाइएको उनले बताए । अल्ट्रासाउण्ड सेवा नहुँदा गर्भावस्थामा जटिलता भएका महिलाको ज्यानसमेत जाने गरेको थियो । रासस

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार ०६:३०