सूचनाको शक्ति - The Power Of Information

        

१० वर्षभित्र नेपालमा साम्यवाद : प्रचण्ड

‘आगामी चुनावमा ०७४ सालकै नतिजा ल्याउछौं’


संगीन शर्मा, बाँके । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जीत हासिल गरेको बताएका छन् । ‘देशैभरी माओवादीप्रति ब्यापक जनलहर उर्लिंदै गएको, जसको पछिल्लो उदाहरणका रुपमा २ नम्बर प्रदेशको चुनावलाई हेर्न सकिन्छ,’ अध्यक्ष दाहालले आइतबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउनेमा ढुक्क रहनुहोस् ।’
शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटकहरु विपरित ध्रुवमा बिभाजित भएपनि पछिल्लो समय केन्द्रिकृत हुने क्रम बढेको भन्दै अध्यक्ष दाहालले खुसी ब्यक्त गरे । पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटकहरु एकैठाउँमा ध्रुविकरण हुनुको विकल्प नरहेको बताउँदै अध्यक्ष दाहालले कालान्तरमा वैद्य, विप्लव र बाबुराम लगायत अन्य नेतृत्व पनि माओवादीकै आन्दोलनमा समाहित हुन आउने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बिभिन्न पार्टीबाट माओवादीमा समाहित हुन आएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहाल केही भावुक भएका थिए । बिगतमा एउटै मोर्चामा रहेर काम गरेका नेता कार्यकर्ताहरु पुरानै घरमा फर्किने क्रम बढेकाले माओवादी आन्दोलनले सार्थकता पाउनेमा ढुक्क हुन अध्यक्ष दाहालले सबैलाई आग्रह समेत गरे । आगामी १० वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने दाबी गरेका छन् । जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भैसकेको बताउँदै अध्यक्ष दाहालले केही दशक भित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्य्दिशा अनुसार माओवादी अगाडि बढिरहेको बताए ।
कार्यक्रममा नयाँ शक्ति बाँकेका पूर्व ईन्चार्ज दुर्गाबहादुर थारु सन्तोष, पूर्व सांसद तथा विप्लव माओवादीका प्रभावशाली नेता अशोक रोकाया लगायत बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माओवादीमा समाहित भएका थिए । पार्टी प्रवेश पछि आफ्नो दुर्गाबहादुर थारुले सबै वर्ग र समुदायको अधिकार स्थापित गराउने जिम्मेवार पार्टी माओवादी मात्र भएकाले आफू पुनः पुरानै घरमा फर्किएको बताए । उनले छोटो समयमै धेरै उपलब्धी हासिल गर्ने मनसायले बाहिरिएका माओवादी आन्दोलनका सारथीहरु बिस्तारै माओवादी आन्दोलनमै फिर्ता हुने विश्वास समेत ब्यक्त गरे । रोकायाले मानसिक विचलनका कारण बिगतमा भएको गल्ती सच्याउँदै सबै माओवादी घटकहरु एकजुट हनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतवार ०९:०७