सूचनाको शक्ति - The Power Of Information

        

तारा तालको अस्तित्व संकटमा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ । तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो । राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन । ताल पुरिने क्रमसँगै मुख्य आकर्षणका रूपमा रहेको कमलसमेत लोप हुन लागेको ताल नजिकैको क्षेत्रमा बस्दै आएका नरिभान ढुंगेलले बताए । ‘ताल सुकेपछि कमलको जरा नै उखेलेर जंगली बँदेलले खाने गरेकाले कमल लोपोन्मुख अवस्थामा पुगेको छ,’ उनले भने ।
भदौ, असोजका महिना तालमा ढकमक्क कमल फुलेको टाढैबाट देखिन्थ्यो तर आजभोलि ताल क्षेत्रमा बेसरम झारमात्रै देखिने गरेको छ । तालमा बस्दै आएका रैथाने प्रजातिका जलपक्षी, गोही र विभिन्न प्रजातिका माछासमेत लोप हुने संघारमा पुगेका छन् । गोही, विभिन्न प्रजातिका माछा, सेतो प्रजातिको बकुल्ला र कालो हाँसको प्रमुख वासस्थानका रूपमा रहेको तारा तालमाथि अतिक्रमण हुन थालेपछि ती जलचर र पक्षीसमेत देखिन छाडेका छन् । तालको पूर्वतर्फको पूरै भाग पुरिएको छ । तालको डिल भत्किँदा खोलामा परिणत भएको छ । निकुञ्जले संरक्षणका लागि कार्य अगाडि नबढाउँदा तालको अस्तित्व नै लोप हुने संघारमा पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । दश बिगाहा क्षेत्रफलमा फैलिएको तालमा हाल एक बिगाहा क्षेत्रमा मात्रै पानी रहेको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतवार ०६:०५