कृष्ण अधिकारी
काठमाडौँ । सीप र अवसर पाए चुलाचौका र मेलापात सम्हाल्ने महिलाले समाज विकासमा पनि महत्वपूर्ण योगदान दिन सक्दछन् । यस्तो एउटा उदाहरण बनेकी छिन् डडेल्धुरा असीग्रामकी भागिरथी जोशी । ०६९ चैतमा सदरमुकाममा भएको चारदिने सुधारिएको चुलो निर्माणसम्बन्धी तालिमले उनलाई सक्षम चुलो प्रवद्र्धक बनायो । यसको परिणाम पुरानो चुलोमा खाना पकाउँदा निस्कने धुवाँबाट प्रभावित महिलाको स्वास्थ्यमा सुधार मात्रै भएन, उनीहरूको दिनचर्यामा समेत परिवर्तन आयो । ‘परिवर्तन आफैँबाट’ भन्दै तालिमबाट फर्केपछि उनले पहिलोपटक घरमा सुधारिएको चुलो जडान गरिन् । परम्परागत चुलोको तुलनामा यो चुलोमा आधा दाउरा भए पुग्ने, धुवाँ नआउने, खाना पनि छिटो पाक्ने भएकाले गाउँका अन्य महिलाले पनि ‘यस्तै चुलो बनाइदिन’ आग्रह गर्न थाले । विस्तारै उनले गाउँका अन्य घरमा चुलो बनाउँदै जान थालिन् । ‘चुलो बनाइदिएबापत केही आम्दानी पनि हुने भएकाले काममा उत्साह पनि थपिँदै गयो,’ भागिरथी भन्छिन्, ‘गाउँगाउँमा गएर चुलो बनाउने काम गरिरहेकी छु, कमाइ पनि राम्रै भइरहेको छ ।’ गाविसका प्रत्येक वडामा गएर त्यहाँँ गठन भएका आमा समूहलाई सुधारिएको चुलोको महत्वबारे बताउने र प्रयोग गर्न प्रेरित गर्ने उनको काम लोकप्रिय भयो । आधुनिक चुलो घरायसी प्रयोजनामा उत्तम सावित भयो । यसले वन–जङ्गलको संरक्षणमा पनि प्रत्यक्ष योगदान दिने भएकाले गाउँमा गठन भएका सामुदायिक संस्था, सामुदायिक वन उपभोक्ता समूहदेखि गाउँ परिषद्को बैठकमा उनलाई चुलोबारे बताइदिन अनुरोध हुन थाल्योे । गएको वर्ष उनले गाउँमै चुलोको प्रदर्शनी गरेपछि वल्लोपल्लो गाउँबाट आएका मानिसले पनि आ–आफ्नो घरमा चुलो जडान गर्ने निधो गरे । विस्तारै गाउँभरि सुधारिएको चुलोको महत्व र भागिरथीको सीपबारे चर्चा हुन थाल्यो । अहिले उनलाई चुलो बनाउन भ्याइनभ्याइ छ । उनी आफ्नो गाउँबाहेक अन्य गाउँमा पनि गएर चुलो बनाउने तथा चुलो प्रवद्र्धकहरूका लागि प्रशिक्षणसमेत दिन थालेकी छिन् । उनी भन्छिन्, ‘सुरुसुरुमा कतिपय पुरुषले विरोध पनि गरे । तर, विस्तारै उनीहरू पनि चुलोको प्रयोगकर्ता हुन थाले ।’ उनीसँगै तालिममा सहभागी भएर चुलो बनाउन थालेकी सोही गाउँकी भारती देउवा पनि आफ्नो कामबाट सन्तुष्ट छिन् । उनले पनि असीग्राम गाविसका विभिन्न वडामा झन्डै डेढ सय चुलो जडान गरेकी छिन् । एउटा चुलो जडान गरेबापत उनीहरूलाई दुई सय रुपैयाँ प्राप्त हुन्छ । भारती भन्छिन्, ‘चुलो बनाएर आफूलाई केही आर्थिक लाभ हुन्छ । त्योभन्दा पनि गाउँका महिलालाई धुवाँबाट मुक्त गरी स्वच्छ जीवन बाँच्ने अवसर दिन सकेकामा धेरै सन्तोष लाग्छ ।’ उनका भनाइमा यसको सामाजिक लाभ पनि छ । नयाँ चुलो जडान गरेको दिन घरमा मीठो खानेकुरा पकाउने चलन हुन्छ । चुलो बनाएबापत उनीहरूलाई पनि बोलाएर खुवाउने गर्छन् । यसले ती परिवारसँग उनीहरूको नजिकको सम्बन्ध बन्छ । गाविसका सात सय मध्ये झन्डै चार सय घरधुरीमा सुधारिएको रकेट चुलो जडान भएको छ । भागिरथीको वडा नं. ३ मा भने शतप्रतिशत घरमै आधुनिक चुलोको प्रयोग भएको छ । गाविसका सबै घरमा चुलो विस्तार गरी यसै वर्ष धुवाँमुक्त गाविस बनाउने उनको चाहना छ । उनी भन्छिन्, ‘यसबारेमा गाविस र जिल्लाका सम्बन्धित कार्यालयमा पनि कुरा गरिरहेकी छु ।’ गाउँका प्रत्येक घरमा सुधारिएको चुलो जडान गर्ने उनको लक्ष्यमा असीग्राम गाविस, सामुदायिक वन उपभोक्ता समूहलगायत विभिन्न सङ्घसंस्था र स्थानीय समुदायको सहयोग छ । सुधारिएको चुलोले दाउराको खपत आधा नै कम गर्ने भएकाले वन–जङ्गलको संरक्षण गर्ने उद्देश्यले जानकी सामुदायिक वन उपभोक्ता समूहले चुलो जडान गर्ने परिवारलाई प्रोत्साहनस्वरूप पाँच सय रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जङ्गलबाट सुकेको, ढलेको रूखका दाउराले नै अहिले गाउँलेलाई पुग्न थालेकाले वनमाथिको निर्भरता कम हुँदै गएको छ । सो सामुदायिक वनले चुलो जडान गर्ने परिवारलाई मात्रै वन पैदावार प्रयोग गर्न दिने नीति लिएपछि गाउँमा आधुनिक चुलो जडान गर्ने लहर नै आएको समूहका अध्यक्ष केशव मेहता बताउँछन् । भागिरथी स्थानीय महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको पूर्वअध्यक्ष पनि हुन् । अहिले सहकारीमा दुई सय ७६ महिला आबद्ध छन् । प्रत्येक सदस्यले महिनामा १० रुपैयाँका दरले बचत गरेका छन् । यसले महिलामा बचत गर्ने, सङ्गठित हुने र आयमूलक वा अन्य काममा लगानी गर्ने बानी विकास भएको छ । पहिले अरू मानिससँग बोल्न पनि लजाउने भागिरथी अब गाउँको विकासबारे निर्धक्क कुरा राख्न सक्ने भएकी छिन् । उनी भन्छिन्, ‘सीप सिक्यो भने हामीले पनि गर्न नसकिने केही रहेनछ ।’ हिउँदको समयमा बढी चिसो हुने भएकाले सुरुमा चुलो सल्काउन गाह्रो हुने, आगो ताप्न नमिल्ने र चुलोको मुख सानो हुँदा ठूला दाउरा हाल्न नमिल्नेजस्ता गुनासा केही उपभोक्ताबाट आएका थिए । सुरुसुरुमा केही असजिलो भए पनि विस्तारै अभ्यस्त हुन थालेपछि अधिकांशले परम्परागत चुलो हटाउँदै गएका छन् । दुई छोरा र एक छोरीसहित पाँचजनाको परिवारको आम्दानीको अरू कुनै स्रोत नभएकाले घरखर्च चलाउन निकै कठिन रहेको भागिरथी बताउँछिन् । त्यसमा पनि सानो छोरा काठमाडौंमा र छोरी सदरमुकाम अमरगढीमा उच्च शिक्षा अध्ययन गर्दै रहेकाले उनीहरूको पढाइखर्च जुटाउन बोझ पनि छ भागिरथीलाई । यति चर्को आर्थिक समस्या झेलेर पनि उनले चुलोको प्रवद्र्धनमा देखाएको सक्रियताको धेरैले प्रशंसा गरेका छन् । छोराछोरीहरू घरबाहिर पढ्न बस्ने, श्रीमान् अस्वस्थ हुँदाहुँदै पनि भागिरथीको चुलो प्रवद्र्धन अभियान सुस्ताएको छैन । श्रीमान् मेखराज भन्छन्, ‘मैले कुनै रोजगारी गर्न नसके पनि श्रीमतीको कमाइले घरखर्च र छोराछोरीको पढाइमा सहयोग पुगेको छ । उनले यो सीप नसिकेको भए मेरो त जहाज नै डुब्ने थियो ।’ -सञ्चारिका फिचर सेवा
।