सूचनाको शक्ति - The Power Of Information

        

पूर्वकम्लहरीको दैनिकी : भाँडा माझ्ने हातमा सिलाईमेसिन

बाँके । चार वर्षअघि उनका हातमा जुठा भाँडा मात्रै हुन्थे, तीन वर्षअघि उनका हातहरुले राइफल चलाउने रहर गरेका थिए तर अहिले उनका हातहरु कपडा सिलाउने मेसिनतर्फ आकर्षित भएका छन् । बाँके नौवस्ता गाविस–४ की २४ वर्षीया सविना चौधरीका हातहरुमा तीन वर्षको अन्तरमा फेरिएका यी दृश्यहरुले गाउँलेहरुलाई चकित पारेको छ । कक्षा ७ मा पढ्दापढ्दै आमाको मृत्यु भएपछि आर्थिक अभावका कारण कम्लहरी बस्न बाध्य सविनाको जीवनमा तीन वर्षयता निकै परिवर्तन आएको छ । दाङ, बाँकेलगायतका जिल्लाहरुमा पाँच वर्ष कम्लहरी जीवन बिताएकी सविनाले अध्ययन कार्यलाई निरन्तरता त दिन सकिनन् तर जीवनलाई दासताबाट भने मुक्ति दिलाइन् ।
उनी दासताको त्यो जीवनबाट यति खुला र उत्साहित भएर आइन् कि ‘एउटा थारु किसानको छोरीका हातहरु जुठा भाँडा माझ्नलाई मात्र हुन्’ भन्ने समाजलाई बन्दुक समाएर देखाइदिन गतवर्ष उनी नेपालगन्जसम्म पुगिन् । नेपाल प्रहरीमा भर्ती खुलेकाले उनी ठूलो उत्साह र जोशका साथ नेपालगन्ज पुगिन् तर बिडम्वना उनको त्यो लक्ष्यमाथि उनको उचाइले वाधा हालिदियो । ‘प्रहरीका लागि आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो,’ सविना भन्छिन्, “तैपनि म निराश भइनँ, समाजलाई गरेर देखाउने अनेक उपायको खोजी गर्न थालें ।’ प्रहरी सेवामा आकर्षित भएकी सविनामा जुनकुनै किसिमले पनि प्रहरी सेवासँग सम्वद्ध हुने रहर त जाग्यो तर फेरि पैसाको समस्याले त्यो पुरा हुन सकेन ।
सविनाको त्यो खोजी कार्य आर्थिक अभावका कारण पनि भनेजस्तो सहज थिएन । समाजलाई बेग्लै काम गरेर देखाउने धोको लिएकी सविनाको अर्को विकल्प निस्कियो, ‘कपडा सिलाउने मेसिन चलाउने ।’ सिलाइकटाई सिक्न थाल्दा उनले आफूजस्तै पूर्वकम्लहरी सिर्जना चौधरीलाई पनि भेटिन् । नौवस्ता गाविस–७ की २३ वर्षीया सिर्जनाले पनि सविनाले जस्तै समाजलाई केही गरेर देखाउने रहर गरेपछि दुबैजनाले एक महिनासम्म सिलाइकटाई सिके । शुरुमा सिलाइकटाई मेसिन चलाउन डराउने सविना र सिर्जना अहिले व्यवसायीक रुपमै टेलरिङ्ग गर्न सफल भएका छन् । सिर्जना भन्छिन्, ‘शुरुमा त सकिँदैन कि जस्तो लाग्थ्यो, घरमा पनि यसले गर्छे भनेर विश्वासै गर्दैनथे । अहिले टेलरिङ्ग व्यवसाय सुरु गरेको देखेर त अचम्म मान्छन् ।’ कुनै दिन मालिकको घरमा जुठा भाँडा माझेर समय खेर फालिरहेका सविना र सिर्जना अहिले सीप सिकेर व्यावसायिकरुपमा सिलाइकटाईलाई अँगाल्न सक्ने भइसकेका छन् । तर उनीहरुसामु फेरि पनि समस्या बनेको छ– समाजको अविश्वास ।
‘सीप सिकेर मात्र के गर्नु, यो केटीले कहाँ राम्रो कपडा सिलाउन सक्छे भनेर मानिसहरु विश्वासै गर्दैनन्,’ सिर्जना भन्छिन्, ‘त्यही कारणले गर्दा मानिसहरु कामै दिँदैनन् । अनि कसरी अँगाल्नु पेशा ?’ उता सविनालाई भने अहिले मानिसहरुले काम नदिए पनि अर्काको घरमा दासताको जीवन बिताउनुभन्दा आफै सीप सिकेर कामको खोजी गर्नसक्ने भएकोमा सन्तोष छ । ‘काम खोज्दै गए एक दिन कसो नपाइएला,’ सविना भन्छिन् । सरकार, संघसंस्था र समाजले आफूहरुजस्ता केही गर्न चाहने पूर्वकम्लहरीको बारेमा विशेष ध्यान दिनुपर्ने सविना र सिर्जनाको माग छ । सरकार र संघसंस्थाहरुले आफूहरुको सिपको उपेक्षा गरेको उनीहरुको गुनासो छ । सविना भन्छिन्, ‘दुनियाँ चोरेर, ठगेर, मागेर खाइरा’छन् । हामीले भएको सिपलाई प्रयोग गरी काम गरेर पनि खान नपाउने ?’ आफूहरुको भाँडा माझ्ने क्षमतामाथि विश्वास गर्नेहरुले सिलाइकटाईको सिपमाथि पनि विश्वास गर्नुपर्ने सविनाको भनाइ छ । सविना भन्छिन्, ‘भाँडा माझ्न थारुका छोरीहरुबाहेक अरु कोही सक्षम छैनन् कि जस्तो गरी खोजी–खोजी लैजाने तर अरु सिपमा भने विश्वासै नगर्ने ? यो कस्तो न्याय हो ?’
अहिले उनीहरुको पसलमा कामको चाप बढ्दै गएको छ । सिलाइकटाइ पेसाबाट दैनिक २ सयदेखि ३ सय रुपैयासम्म आम्दानी हुने गरेको उनीहरु बताउ“छन् । ‘दैनिक आम्दानीले खाना लाउन मात्र होइन केटाकेटीको पढाइखर्च पनि पुगेको छ,’ सविनाले भनिन् । कसैको सहयोग विनानै यही पेसाले आफूहरु आफ्नै खुट्टामा उभिन सफल भएको पनि उनीहरुको भनाई छ । ‘यो पेसाले हामीलाई निकै राहत दिएको छ,’ सिर्जनाले भनिन् । बाँके चिसापानी–५ की सीता चौधरी पनि पूर्वकम्लहरी हुन् । उनी अहिले घरजम गरेर सन्तानलाई शिक्षादिक्षा र घरखर्च चलाएर बसिरहेकी छिन् । उनका लागि आम्दानीको श्रोत बनेको छ सिलाईकटाई मेसिन । उनी आजभोलि ग्राहकका कपडा सिलाउनमै व्यस्त हुन्छिन् । आफ्नै खर्चमा एक महिने तालिम लिएकी उनले यही पेसालाई जीविकोपार्जनको आधारसमेत बनाएकी छिन् ।
आर्थिक स्थिति निकै कमजोर भएकी उनी आफैले सानो सिलाईकटाई पसल सञ्चालन गरेपछि उत्पादन आर्थिक अवस्था फेरिएको बताउँछिन् । उनीकहाँ अहिले पुरुषहरु समेत कपडा सिलाउन आउने गरेका छन् । भन्छिन्, ‘घरमा खानेकुरादेखि छोराछोरीलाई पढाउने खर्च यसैबाट भ्याएकी छु ।’ सविना, सिर्जना र सिता मात्र होइन विभिन्न सीपमूलक तालिम पाएपछि पूर्वकम्लरीहरु आत्मनिर्भर बन्दै गएका छन् । तर सरकारले कम्लरी मुक्त घोषणा गरेपनि अहिलेसम्म पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुको गुनासो छ । सीप सिके जिवनयापन गर्न सकिन्छ, भन्ने कुरा बुझेका पूर्वकम्लरीहरु सिलाईकटाई पेशातर्फ आकर्षित हुने गरेको उनीहरु बताउछन् । अहिले पूर्वकम्लहरीहरुको चेतनामा समेत वृद्वि भएको छ । साहुको घरमा बसेर भाडा माझ्नुपर्ने अवस्था सम्झिँदै चिसापानी गाविस–४ की अनिता चौधरी भन्छिन्, ‘विगत वर्Èहरुमा हामी साहुको घरमा बन्धक जस्तै भएका थियौं । अहिले हामी त्यो घेराबाट निस्किएका छौं । यसमा सरकारको ठूलो सहयोग र लगानी छ । तर सरकारले साहुको घेराबाट निकालेर बीचैमा छाडिदियो ।’ उनले सरकारले कम्लरी मुक्तीका लागि गरेको घोषणाको सराहना समेत गर्दै भनिन्, ‘कम्लरी मुक्त गरेपछि हामीलाई बाच्ने आधार दिएन ।’
सिलाईकटाई पेसातिर आकर्षित भएका पूर्व कम्लरीहरुले अहिले थोरै लगानीमा सोचेभन्दा बढी आम्दानीसमेत गर्दै आएका छन् । सिलाईकटाई पेशामा लागेका अधिकांश पूर्वकम्लरीहरुले अहिले आफुहरुको दैनिक जीवनमा परिर्वतन आएको बताउँछन् । बिनौना गाविस–९ की पूर्वकम्लरी संगिता चौधरी सिलाईकटाई पेसा अपनाएपछि आफु आत्मनिर्भर बन्दै गएको दावी गर्छिन् । दुई बर्षदेखि सिलाईकटाई पेसा अपनाउदै आएकी संगिताले घर खर्च समेत आधा धानेकी छिन् । उनले मासिक रुपमा १० हजार रुपैया बचत गदै आएको बताइन् । उनले कम्लरी मुक्त भएपछि अरुको सिलाईकटाई पसलमा सात महिना जति काम गरेको बताउँदै हाल आएर थोरै लगानीमा आफ्नै गाउमा महिलाहरुका लागि आवश्यक पर्ने लुगा सिउने गरेकी छिन् । उनले सिलाई व्यवसाय बाट घर खर्च चलाउनुका साथै ५ हजार रुपया“ विभिन्न समुहमा बचत गर्ने गरेको बताइन् । पहिले घर परिवारको भरमा बा“च्दै आएकी संगिताले अहिले घर खर्च चलाउन थालेपछि आफ्ना श्रीमान् र सासुससुरा खुसी भएको बताइन् ।
थारु समुदायको आम्दानीको अभावमा छोराछोरीलाई विद्यालय पठाउन समेत सक्दैन्थ्ये तर संगिताले सिलाई व्यवसाय संचालन गरेपछि छोराछोरीहरुलाई निजी विद्यालयमा पढाइरहेकी छिन् । सविना, सिर्जना, सिता, अनिता र संगिता जस्तै सिलाई कटाई सिकेका अन्य पूर्व कम्लरीहरु पनि व्यापार नगरे पनि आफ्नै घरमा कुनै न कुनै पेशा गरेर बसिरहेका छन् । कतै जागिर खान सकियो भने ती बहिनीहरुलाई आफूजस्तै बन्धक हुनबाट बचाउँला भन्ने सविनाको ठूलो धोको छ तर जागिर पाइने÷नपाइने अनिश्चितताले उनलाई साह्रै चिन्तित बनाएको छ । सविनाले भनेजस्तै नाबालिकाहरुको भाँडा माझ्ने सिपको प्रयोग गर्न जानेको यो समाजले भाँडा माझीमाझी खारिएर आएकाहरुको अरु सिपलाई सम्मान र सदुपयोग गर्ने दिन कहिले आउला ? भाँडा माझ्दा विश्वास गरेका ती हातहरुलाई कपडा सिलाउने मेसिन समाउँदा किन विश्वास नगर्ने ? सविना, सिर्जना, सिता, अनिता र संगिताजस्ता हजारौं पूर्व कम्लहरीका यस्ता प्रश्नहरुले समाजबाट जवाफ खोजिरहेका छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतवार ०५:०५