सूचनाको शक्ति - The Power Of Information

        

‘भारत नगए परिवार पाल्न गाह्रो’

सपना बिष्ट, बाँके । घरमा बर्षभरी अन्नपात नपुग्ने, परिवार पाल्न धौ–धौ हुने, बुढेसकालले पनि छोइसक्यो । जाजरकोट भूर गाविसका ६१ बर्षिय दलबहादुर विक बर्षमा आठ महिना भारतमा कमाइ गर्न जान्छन् । चाडबाड र खेतीपातीको समयमा मात्रै उनी घर पर्किन्छन् । रोपाइँ सकेर कमाईका लागि भारत पसेका उनी दशैँ तिहार मनाउन चार महिनामै फर्किएका छन् ।
उनी तिहार सकिन नपाउँदै फेरी भारततिरै जाने सोँचमा छन् । दशैँ तिहारसँगै बारीमा गहुँ छरेर उनी फेरी भारततर्फ कमाइका लागि जाने योजना बुनेर घर फर्किएका छन् । घरमा आएपछि लामो समय नबस्ने उनी खेतबारीको अन्नले चार महिना पनि पु¥याउन गा¥हो भएपछि भारततिर जाने गरेको बताउँछन् ।
‘घरमा आएर धेरै समय खेर फाल्यो भने परिवार पाल्नै धौ–धौ हुने गर्छ’ उनले भने ‘त्यसैले विशेष अवसरबाहेक कमाइका लागि भारत जानु बाहेक अरु विकल्प छैन ।’ यो परिवार जस्तै बर्षमा चार महिनामात्रै खान पुग्ने सुर्खेत डाँडाखालीका विरु परियारको कथा पनि उनको जस्तै छ । ३२ बर्षको उमेरमा विहे गरेका उनका साना–साना चार सन्तान छन् । उनलाई पनि आफ्ना सन्तानको पढाई लेखाई, खानपिन, लत्ताकपडा, नुनतेल लगायत घरपरिवारको अन्य खर्च जुटाउन भारत नगई हुँदैन ।
‘सधैझैँ यसपाली पनि दशैँ तिहार मनाउन र आफ्नो एक छेउलो जग्गामा खेती गर्न भनेर भारतको सिम्लाबाट घर फर्किएको हुँ,’ भारतबाट फर्किदै गरेका उनले भने, ‘गाउँमा हल्लिएर बस्ने हो भने परिवार पाल्न समस्या हुन्छ, त्यसैले भारत नगई हुँदैन ।’ मध्यपश्चिमका अधिकांश जिल्ला एक हजारबढि मानिस रोजगारीका लागि भारत जाने गर्दछन् । भारत जानेहरुमा न्यून आय भएका र बर्षभरी खेती गरेर खान नपुग्ने परिवारका व्यक्तिहरु धेरै छन् ।
गरिब परिवारका घरमुलीदेखि छोरा र विद्यार्थीहरु पनि पढाई छाडी सबै कामको खोजीमा भारत जाने गर्दछन् । कोही जिल्ला सदरमुकाममा काम खोज्दै हिँड्छन् त धेरैजसो भारततर्फ जाने गर्छन् । न्यून आय भएका अभिभावकहरु कमाईका लागि भारत जाने परम्परानै भए पनि चाडबाड र खेतीपातीको समयमा भने उनीहरु सधैजसो घर फर्कने गर्दछन् । खेतीपातीबाट उत्पादन भएको अन्नले बर्षभरी खान नपुग्ने भएपछि न्युन आय भएकाहरु बर्षमा ६ देखि ८ महिना भारतमै विताउने गर्दछन् ।
त्यस्तै ती परिवारका युवा, विद्यार्थी र बालबालिका समेत विद्यालय विदा भएका समयमा परिवारको खर्चसँगै आफ्नो पढाई खर्च जुटाउन कामको खोजीमा विभिन्न सहरहरुमा धाउन थाल्छन् । स्वदेशमै रोजगारीका अवसर नभएपछि भारतमा सस्तो श्रम बेचेर उनीहरूले घरपरिवार पाल्ने गरेको पाइन्छ । कहिलेकाही आइपर्ने दैवीसंकटका बेला सरकारले पनि कुनै राहत उपलब्ध नगराउने भएपछि गरिब परिवारको दयनीय आर्थिक अवस्थाका कारण भारततर्फ पलायन हुनुको विकल्प नभएको उनीहरु भनाई छ ।
मध्यपश्चिमको प्रमूख केन्द्र नेपालगन्ज नाका भएर दैनिक करिब ५०० बढि नेपालीहरु भारतबाट घर फर्किरहेको सीमा प्रहरी चौकी जमुनाहाका प्रहरी इन्चार्ज सुधीर खड्काले बताए । ‘मध्यपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत गएका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । घर फर्किनेको संख्या दिनप्रतिदिन बढिरहेको छ, खड्काले भने । उनका अनुसार भारतबाट घर फर्किनेमा सबैभन्दा धेरै निम्न आयस्तर भएका नेपालीहरु छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण घर खर्चदेखि छोराछोरीको पढाई खर्च जुटाउनु र कामको खोजी गर्नु निम्न आयस्तर भएका नेपालीहरुको बाध्यता नै भएको छ । यस क्षेत्रका विभिन्न जिल्लाका दुर्गम तथा विकट गाउ“का बालबालिका बढीमात्रामा भारततर्फ काम गर्न जाने गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार १२:४२