सात महिना थपियो म्याद
दुर्गा रोकाय, बाँके । सम्झौता अनुरुप नेपालगन्ज बसपार्कको निर्माण कार्य हुन नसक्दा यातायात व्यवसायी र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद सकिए पनि निर्माण कार्य भने ५० प्रतिशत पनि भएको छैन । आधुनिक बसपार्क निर्माणका लागि नगर विकास कोषको लगानीमा नेपालगन्ज उपमहानगरपालिकासँग १४ करोड ९५ लाखमा युनाइटेड विल्डर्सले ठेक्का सम्झौता गरेको थियो । एकातिर बसपार्कको निर्माण समयमै नहुँदा यातायात व्यवसायीहरुले बस पार्किङको समस्या खेप्दै आएका छन् भने अर्कोतिर नेपालगन्जको पुष्पलाल चौकबाट बघौडासम्म हुलाकी सडक निर्माण हुन लागेकाले नेपालगन्ज बसपार्कसम्मको सडक वर्षातमा हिलाम्य र आजभोली धुलाम्य हुँदा आसपासका स्थानीय बासिन्दासमेत हैरान परेका छन् ।
भदौ मसान्तसम्म सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौता अनुसार काम समयमा नहुँदा पुनः ७ महिना म्याद थप गरिएको छ । तर, पनि जुन गतिले काम भइरहेको छ थप गरिएको समयमा पनि निर्माण सम्पन्न हुने छाँट नभएको व्यवसायीहरुको गुनासो छ । अखिल नेपाल ट्रेड युनियन महासंघ, बाँकेका अध्यक्ष बसन्त मल्ल बसपार्क समयमै निर्माण नहुँदा व्यवसायीहरुले ठूलो सास्ती खेप्नु परेको बताउँछन् । उनले सडकमा बस पार्किङ गर्नुपर्दा असुरक्षा बढेको र नयाँ लगानी गर्ने व्यवसायीसमेत निराश भएको बताउँदै यथाशीर्घ सम्बद्ध सबै पक्षले बसपार्कको निर्माणमा ध्यान पु¥याउनुपर्ने बताए । विगत २५ वर्षदेखि चालक भएर काम गर्दै आएका चालक कृष्ण नेपाली लामो समयदेखि बसपार्कको अवस्था अव्यवस्थित रहेको बताउँछन् । उनले हाल निर्माण कार्य भइरहे पनि कछुवा गतिको काम हुँदा यात्रु, यातायात व्यवसायीहरु मर्कामा परेको र धुलो धुवाका कारण व्यवसायी र स्थानीय बासिन्दा हैरान भएको बताए । वरपर रहेका होटलहरुमा धुलोका कारण हैजा फैलिने डर भएको पनि उनले बताए ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव तथा भेरी अञ्चल यातायात व्यवसायी संघका अध्यक्ष डेकनाथ गौतमले देशका प्रमुख शहरहरु मध्येको एक नेपालगन्जको बसपार्क र सो ठाउँमा जाने सडकको अवस्था समेत नाजुक भएका कारण दैनिक करीब ४०० को संख्यामा गुड्ने सवारी साधनले सास्ती खेपिरहेको बताए । उनले समयमै निर्माणका लागि आफूहरुले पटक पटक झकझक्याइरहेको भए पनि निर्माण कम्पनीको ढिलासुस्ती र अटेरीले व्यवसायीहरु मर्कामा परेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले १५ महिने अवधीमा निर्माण सक्ने गरी भएको सम्झौतामा काम हुन नसकेपछि ७ महिना थप गरिएको बताए ।
।