सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा आठौँ पुस्तक महोत्सव हुँदै

बाँके । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, जिल्ला शाखा, बाँकेको आयोजनामा नेपालगन्जमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ संचालन हुने भएको छ । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ आगामी मंसिर २८ गतेदेखि पुस ५ गतेसम्म हुने महोत्सवले पठन संस्कृतिको विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । महोत्सव प्रचारप्रसार समितिका संयोजक बसन्त लामिछानेले पठन संस्कृतिको विकास गर्न, विद्यार्थीहरुमा प्रतिस्पर्धी भावनाको विकास गरी क्षमता अभिवृद्धि गर्न, साहित्य र सृजनालाई अभिप्रेरित गर्न, पुस्तक तथा स्टेशनरी व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।
‘पश्चिम क्षेत्रको शैक्षिक हवका रुपमा रहेको नेपालगन्जमा पहिलोपटक महोत्सव गर्दैछौँ,’ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थापक समेत रहेका संयोजक लामिछानेले भने, ‘शिक्षा क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव गर्दैछौँ ।’ उनले महोत्सव पश्चिम नेपालमा ‘पढौँ र पढाऔँ’ संस्कृतिको विकास गराई सभ्य एवं शालिन समाजको निर्माण अभियानमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका प्रथम उपाध्यक्ष सालिक सुवेदीले ७ दिनसम्म सञ्चालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससँग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य रहेको जानकारी दिए ।
उनले भने, ‘अन्तर विद्यालय तथा कलेजस्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।’ प्रथम उपाध्यक्ष सुवेदीले बदलिदो राज्यको संरचनासँगै शिक्षाको स्वरुप, नेपाली साहित्यको रुपरेखा लगायतका विषयहरुमा सम्बन्धीत विज्ञहरुलाई उपस्थित गराई अन्तरक्रियाहरु पनि सञ्चालन गरिने जानकारी दिए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका सचिव सागर ज्ञवालीले महोत्सवमा विभिन्न विधामा पुस्तक लेखन, सम्पादनका साथै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई विगतमा जस्तै राष्ट्रिय सम्मान गरिने बताए ।
यसका साथै परनिर्भरतामा रहेको शैक्षिक सामाग्री तथा मसलन्दको आयातलाई घटाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उत्पादक उद्योगी, व्यवसायीलाई पनि सम्मान गरिने जनाइएको छ । १५० बढी स्टलहरु रहने महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, वैदेशिक उच्च शिक्षाका लागि क्रियाशिल कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् । महोत्सवलाई मनोरञ्जनात्मक बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता गराउने आयोजकले जनाएको छ । आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव नेपालगन्जको कारकाँदोस्थित डिभिजन सडक परिसरमा गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार १०:१६