बिरामीको आँखाबाट मोतीविन्दु मात्रै निकालेर छोड्ने गरिएको इतिहासको अन्त्य गर्दै मोतीविन्दुको उपचारमा सफल सिद्ध भएको इन्ट्राओकुलर लेन्सको आविष्कार गर्न एउटा विद्यार्थीको प्रश्नले भूमिका खेलेको छ ।
सन् १९४६ को कुरा हो । लण्डनको एक अस्पतालमा डा. ह्यारोल्ड रिड्ले एक बिरामीको आँखाबाट मोतीविन्दु निकाल्दै थिए, साथमा उनको सहयोगी टिम र सिकिरहेका केही विद्यार्थी थिए । शल्यक्रिया सकिएलगत्तै अपरेसन थिएटरमा एक जिज्ञासु विद्यार्थीले डा.ह्यारोल्डलाई सोधे, ‘तपाईँले मोतीविन्दु त निकाल्नु भो सर, तर बदलामा केही पनि हाल्नुभएन नि ।’ विद्यार्थीको प्रश्नले उनी सोचमग्न भए । आफ्नो डाक्टरी जीवनमा उनले कैयौँ आँखाको शल्यक्रिया गरेका थिए । तर बदलामा केही राख्ने कुरावारे भने उनले कहिल्यै विचार गरेका थिएनन् । मोतीविन्दुको शल्यक्रिया यसरी नै गर्ने हो भन्दै उनले ती विद्यार्थीलाई चित्त बुझाए । तर आफूले दिएको उत्तरले उनको आफ्नै मन भने बुझ्न सकेको थिएन । त्यो बेलामा आँखावाट मोतीविन्दु निकालिन्थ्यो मात्रै । अक्सर मोतीविन्दुकै कारण बिरामीहरू दृष्टिविहीन हुन पुग्थे ।यो कुराले डा ह्यारोल्ड थप सोचमग्न हुन पुगे ।
ह्यारोल्ड त्यस्ता डाक्टर हुन जसले दोस्रो विश्वयुद्धताको विमान दुर्घटनामा परी घाइते भएका थुप्रै पाइलटहरूको आँखाको उपचार गरेका थिए । उपचारको क्रममा ती घाइते भएका पाइलटहरूको आँखाभित्र डा ह्यारोल्डले केही साना साना कणहरु भेट्थे । लडाईको क्रममा विमानहरु दुर्घटनाग्रस्त हुन्थे । अनि ककपिटमा वस्ने पाईलटहरु कोही मर्थे, कोही घाईते हुन्थे । डा ह्यारोल्डले घाईते पाईलटको आखाँमा भेटेका साना साना कणहरु ककपिटमा प्रयोग गरिने प्लाष्टिकका थिए । डा ह्यारोल्डले कहिल्यै त्यस्ता कणहरू पाइलटका आँखाबाट झिकेनन् वा भनौँ झिक्ने प्रयाससम्म पनि गरेनन् । लामो समयसम्म पनि त्यस्ता प्लाष्टिकका कणहरूले पाइलटका आँखामा कुनै असर नगरेको कुरा बल्ल उनले महशुस गरे । ककपिटमा प्रयोग गरिने प्लाष्टिक पोलीमिथाइल मेथाक्राइलेट नामको प्लाष्टिकबाट बनेको हुन्छ । जुन पारदर्शी सिसा जस्तै हुन्छ । अब डा. ह्यारोल्डलाई लाग्यो, ककपिट प्लाष्टिकका साना कणहरूले आँखामा कुनै असर गर्दैन भने यही ककपिटको प्लाष्टिकबाट आँखाको लेन्स किन नबनाउने त ?
त्यसपछि डा. ह्यारोल्ड विमानको ककपिटमा प्रयोग हुने सिसाबाटै लेन्स बनाउन सकिन्छ कि भनेर घोत्लिए । उनका प्रारम्भिक प्रयासहरू विफल भए । तर ककपिटको सिसाबाट लेन्स बनाउने सम्वन्धमा धमाधम अनुसन्धानहरू हुन थाले । डा. ह्यारोल्डको अवधारणाले लगभग तीस वर्षपछि सार्थकता पायो । आज संसारभर मोतीविन्दुको उपचारमा काम प्रयोग गरिने इन्ट्राओकुलर लेन्स यही अवधारणाको उपज हो । यो लेन्सको आविष्कार भएको करिव ६ दशक नाघिसकेको छ । इन्ट्राओकुलर लेन्सको आविष्कारपछि हालसम्म मोतीविन्दुको उपचार पाएका संसारभरका दसौँ लाख मानिसले आफ्नो गुमेको ज्योती फिर्ता पाइसकेका छन् । बिरामीको आँखाबाट मोतीविन्दु मात्रै निकालेर छोड्ने गरिएको इतिहासको अन्त्य गर्दै मोतीविन्दुको उपचारमा सफल सिद्ध भएको इन्ट्राओकुलर लेन्सको आविष्कार गर्न एउटा विद्यार्थीको प्रश्नले भूमिका खेलेको छ ।
।