सूचनाको शक्ति - The Power Of Information

        

संगठित हुँदै कर्णालीका महिला

सागर परियार
जुम्ला । जुम्लाका महिलाहरु सहकारीका माध्यमबाट अहिले संगठित हुँदै समाज रुपान्तरको अभियानमा लागेका छन । पहिले आ–आफ्नै काममा व्यक्तिगत रुपमा हिँडिरहेका महिलाहरु हिजोआज सहकारीका माध्यमबाट सामुदायिक काममा एकजुट हुन थालेका हुन् । सहकारीमा आबद्ध भए पनि उनीहरु मासिक रुपमा बैठक गर्ने, बचत उठाउने र गाउँमा जाँड रक्सी नियन्त्रण गर्ने अभियान समेत थालेका छन् । बैठक बस्दा सुख दुखका कुराहरु साट्ने गरेको पाइन्छ । जाने बुझेका कुरा साटासाट गर्दा क्षमता विकास पनि भैरहेको चन्दननाथ सहकारीका प्रबन्धक ऋषिराम पाण्डेले बताए ।
पैसाको छेलोखेलो गर्न थालेपछि महिलाहरु आत्मनिर्भर पनि भएका छन् । महिलाहरु घरदेखि बाहिरसम्मको काम दत्तचित्त भएर लाग्ने भएकाले महिलाको नेतृत्वमा चलेका सहकारीहरु सक्रिय पनि रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । कर्णालीका झण्डै ६१७ वटा सहकारी मध्ये ७५ प्रतिशत सहकारी महिलाले नेतृत्व गरेका छन् । लालीगुराँस सहकारी छुमचौरकी अध्यक्ष जौकला बुढा सहकारीले महिला सांगठित मात्र होइन, क्षामतावान भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले घरधन्दा र चुलौ चौकोमा सिमित रहने महिला अहिले गाउँका हरेक विकास निमार्णको निर्णय प्रकृयामा सक्रिय सहभागिता जनाउन थालेका छन् ।’

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलवार ०९:०२