सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलमा कडाइ


भिआइपीको स्वागत–बिदाइमा १० जनाभन्दा बढी जान नपाइने


कृष्ण अधिकारी
बाँके । सुरक्षाका दृष्टिले अति संवेदनशील भएको जनाउँदै नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । भिभिआइपी र भिआइपीको स्वागत तथा बिदाइका लगि हुल बाँधेर सयौंको संख्यामा भिआइपी कक्ष हुदै धावन मार्गसम्म पुग्ने प्रवृत्ति बढेपछि प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । कुन मर्यादा तहको भिभिआइपी र भिआइपीका लागि कति जनासम्म भिआइपी कक्षसम्म जान पाउने भनेर प्रशासनले मापदण्ड तय तय गरेको छ । जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश आउँदा उनीहरुको स्वागत तथा बिदाइमा बढीमा १० जनालाई कक्षसम्म जान दिइनेछ ।
प्रमुख राजनीतिक दलका प्रमुखको स्वागत–बिदाइका लागि सम्बन्धित दलका तर्फबाट सिफारिस गरिएका बढीमा १० जना तथा पार्टीका केन्द्रीय पदाधिकारी आउँदा जाँदा बढीमा ५ जनालाई मात्र भिआइपी कक्ष प्रवेशको पास दिइने व्यवस्था गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका निर्देशक प्रतापबाबु तिवारीले बताए । यस्तै, सरकारी कार्यालय, सार्वजनिक संघसंस्था लगायतले गर्ने कार्यक्रममा विभागीय मन्त्री तथा विशिष्ट पदाधिकारी आउँदा सम्बन्धित कार्यालयका ३ जना र आयोजक तर्फबाट २ गरी ५ जनाको प्रवेश व्यवस्था मिलाइने भएको छ । विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण मुलगेटका हुने प्रवेशमा पनि कडाइ गरिएको छ ।
विमानस्थलको सुरक्षा व्यवस्था संघीय प्रहरी एकाइ कार्यालय अन्तर्गतको विमानस्थल सुरक्षा गार्डले गर्दै आएको छ । यहाँ सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको कमान्डमा ३७ जना प्रहरी खटिने गरेका छन् । नेपालगन्ज विमानस्थल सामान्यतया बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुन्छ । यात्रु, विमान तथा विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको संघीय प्रहरी इकाइ नेपालगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए । काठमाडौंका लागि यहाँबाट दैनिक १० वटा उडान हुँदै आएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलवार ०५:१७