भवसागर घिमिरे
धौली ६ वर्षकी भइन् । उनीसँगै उनको घरमा आमा र हजुरआमा मात्र हुनुहुन्छ । धौलीका बाबा भारतको बम्बैमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । बासँग कुरा गर्नको लागि उनको आमासँग सानो मोबाइल फोन छ । शनिबार आयो कि आमाको ध्यान मोबाइलमै धैरै हुन्छ । बाको फोन आएपछि केहीबेर आमा, त्यसपछि हजुरआमा अनि बल्ल धौलीको बोल्ने पालो आउँछ । उनलाई हप्ताभरिको धेरै कुरा भन्न मन लाग्छ । बाबा भने ‘छोरी निकै छै के’ भन्दै सन्चो बिसन्चो सोधेपछि ‘बादमे कल करुंगा है’ भन्दै ट्याक्क फोन काट्नु हुन्छ । यस्तो हुँदा धौलीको मन दुख्छ । शनिबारबाहेक अरु दिनमा आमाको ध्यान फोनमा कम जान्छ । त्यसैले फोन भान्छाको भाण (तखता) मा राख्नु हुन्छ । भाणकै आडमा घर अड्याउँने मैखामो (खाँबो) पनि छ । मैखामोमा चार्जर जोड्न मिल्ने बिजुलीको प्लग छ । त्यसमा जोडेर राखेको मोबाइल धौलीले भेट्न सक्दिनन् । आमाले कलबिरेको मोबाइल पसलबाट मेमोरीमा भरेर रमाइलो देउडा गीतहरू ल्याउँनु भएको धौलीलाई थाहा छ । मोबाइल पाए त उनी दिनभरी नै त्यसकै देउडा गीत सुनेर नाँच्थिन् । ‘तुईल हातलाय पछी बिगड्डोछ,’ आमा भन्नुहुन्छ, ‘तु झिकै उच्चका हद्दो छै ।’
यसरी आमाले आफूलाई चकचके भनेको धौलीलाई त्यती मन पर्दैन । हुन त उनलाई हरेक कुराको धेरै चासो हुन्छ नै । एक पटक उनले ‘भित्रबाटी को बोल्दो छ’ भन्दै हेर्न रेडियोको खोल उप्काएकी थिइन् । आमाले यसरी हप्काउँनु भयो कि उनलाई दुई दिन त डरले खानै रुचेन । यस्ता धेरै घटनाहरू छन् जसले गर्दा धौली झस्कने, डराउँने अनि सपनामा पनि बर्बराउँने हुन थालिन् । ‘तुईल झिकै मैकन हप्काई,’ हजुरआमाले आमालाई सम्झाउँनु भयो, ‘छोरीको मन पनि कमजोर हुँनै गयाको छ ।’ आमाले भने धौली चकचके भएकाले तहलाउँनै पर्ने भएको भन्दै हजुरआमाको कुरा टाल्नु भयो । एकदिन एकाएक आमाको मोबाइल हरायो । ‘मु घासकाट्न जान लागेकी छ्या हातबाटी छण्र्यो कि,’ चिन्तित हुँदै आमाले भन्नु भयो, ‘यहिँ वल्तिर पल्तिर पड्याछ कि ?’ धौलीलाई सोध्दा उनले आफूलाई थाहा नभएको बताइन् । हजुरआमाले पनि मोबाइल देख्नु भएन् । शुक्रबार साँझ धौलीलाई दूध उम्लेला हेर भन्दै आमा मोबाइल खोज्न घरको कुनाकाप्चा चाहर्नु भयो । दाउराको चुल्हो । आँगो ठूलो दन्केको थियो । हजुरआमा पिढीँमा तरकारी केलाउँदै हुनुहुन्थ्यो । धौलीले एक हातमा डाडु लिएर दूध हेर्दै थिइन् । उम्लने बित्तिकै चलाउँदा चलाउँदै दूध पोखियो । धौली डराउँदै चिच्याइन । हजुरआमा र आमा भान्छामा आउँनु भयो । ‘म खोरल्ली थेँ, उम्लिकन पडिगयो त क्यारु ?,’ धौली रुन थालिन् । आमा नजिक जानु भयो अनि दाउरा झिकेर आगो सानो पार्नु भयो ।
‘यसो कुणामा पन क्यान डरमान्नी छैत,’ आमाले धौलीको कपाल मायाले मुसार्नु भयो, ‘काम अर्दा अर्दै गल्ति भैजान्छत, नजानिकन हर्याको गल्तिमा डराउँनु हुँनैन् ।’ आमाको कुरा सुनेर हजुरआमा मुसुक्क हाँस्नु भयो । आमाले गाली नगरी मायाले सम्झाएपछि धौली छक्क परिन् । मोबाइल नभेटिकनै झमक्कै रात प¥यो । आमाको मन खुसी थिएन । यत्तिकैमा शनिबारको बिहान पनि आयो । ‘आमा लौ तम्रो मुबाइल,’ रातभरी सोचेकी धौलीले खुरुक्क मोबाइल ल्याएर आमालाई दिइन् । आमा छक्क पर्नु भयो। मोबाइलको बेट्री बाहिर निस्कीएको थियो। ‘मुबाइल काँ पाइथी त ?’ आमाले सोधेपछि धौलीले बिस्तारै भनिन् । हिजो दिउँसो घण्टी बजेको सुनेर धौलीले कुर्चिमाथि चढेर तखताबाट मोबाइल झिक्न खोजेकि थिइन् । मोबाइल भुईमा खसेर बेट्री उछिट्टिएपछि उनको सातो गयो । आमाले गाली गर्ने डरले मोबाइल लुकाइछन् । यी सबै कुरा थाहा पाएपछि पनि आमाले गाली गर्नु भएन, मायाले सम्झाउँनु भयो। धौलीको मन हल्का भयो । बेट्री मिलाएर मोबाइल खोल्दै गर्दा बाबाको फोन आइहाल्यो । आमाले धौलीलाई नै पहिला फोन उठाउँन दिनुभयो । धौलीले बालाई बाख्राले जुम्लीया पाठी पाएको, साथीसँग मिलेर हिजो पिङ खेल्न गएको । आमाले मीठो खिर पकाउँनु भएको । हप्ताभरीको सबै कुरा भनी । बा खुसी हुनुभयो । ‘धौली मु दशैंैकी तक आउँने बेला तुईकन भिडियो हेर्ने मुबाइल ल्याइदिउँला हैक ?,’ बाको कुरो सुनेर धौली ‘हस्’ भन्दै फुरुंङ भई । कुरा सक्कियो भनेर च्याटै फोन पनि काटी । ला ! आमाले बोल्नै बाँकी थियो। हजुरआमा पनि पर बसेर पालो कुरिरहनु भएको थियो । ‘मुईल अझ भुल्लीकन फुन काटीदिया त आमा,’ धौलीको कुरा सुनेर आमाले हाँस्दै भन्नुभयो, ‘कहिले कहिले भुल्ली जाइन्छ त ।’ त्यसैबेलामा फेरि मोबाइलमा घण्टी बज्यो । धौलीको अनुहार उज्यालो भयो । आमा र हजुरआमाले पालैपालो बासँग कुरा गर्न थाल्नु भयो । धौली खुसी हुँदै आँगनमा नाँच्न थाली,‘ दशैं आउँन लागिगो, बुबा पन आउँदो भए ।’ सेतोपाटीबाट साभार
।