जून बेला मेरी आमाले
कटौरोमा दुध भात लिएर
मरै पछि पछि लाग्थिन्
को खाइ को खाइ भन्दै आमा
जति जति मेरो नजिक आउँथिन्
म त्यति त्यति टाढा भाग्दै जान्थेँ ।
हातमा कटौरो समातेर
मलाई भेटाउन खोज्थिन् आमा
म उफ्री उफ्री दौडिदिन्थेँ
आमाले मलाई भेटाउन नसकेको दिन
मलाई म्याराथन जिते जस्तै लाग्थ्यो ।
जब घाम
पहेँला धर्सा धर्तिमा छोड्दै
क्षितिजसँग मितेरी गाँस्न लाग्थ्यो
तब झमक्क साँझ पर्न थाल्थ्यो
झयाई किरिहरु झ्याउ झ्याउँ गर्न थाल्थे
पटुकीको टुप्पोमा
खाँदा खाँदैको आधा रोटि बाँधेर
मेला बाट घर फर्कि्न्थिन् आमा।
आमा अचेल
साँच्चै समय बदलिएको छ
जसरी रुखले
नयाँ पातहरु बदल्दै जान्छ
बादलले रंङ बदल्दै जान्छ
मेरै पेट भर्दिनको निम्ति
तिमिले मेरो पछाडी दौडिनु पर्दैन अब
तिम्री छोरी बुझ्ने भैसकेकी छे
तिमिलाई दौडाएर
कुनै म्याराथन जित्नु छैन उसलाई ।
तिम्री छोरी बद्लिएकी छे
उस्ले पहिरने
जामा बदलिएको छ
तिम्रो सपाना पूरा गर्ने निहुँमा
उ आफ्नै सपनाहरु खोज्दै छे
भौँतारिदै छे
शहरका तिनै साँघुरा गल्लीहरुमा
यहाँ झ्याउकिरि कराउँदैनन् आमा
न त झ्याउँ किरि कराँउदा
पटुकीमा रोटी लिएर
तिमी आउँछेउ ।
यो समय बदलियो
घडीका सुईहरुले
करोडौं फन्का लगाईसके
हजारौं पटक
दुस्ख दिएकी तिम्री छोरीले
एक पटक पनि मुस्कान
दिन सकि कि सकिन कुन्नी ?
समयले
सबथोक बदल्दै लगेको छ
बस्ने घर बद्लेको छ
आमा तिम्रो मन जस्तै
हिँड्ने गोरेटाहरु फराकिला बनेका छन्
बिस्तारै मान्छेका सपनाहरु
मान्छेका मनहरु बदलिँदै छन् ।
तर
आमा तिमीले
मलाई गर्ने माया उस्तै देख्छु
प्रेम उस्तै देख्छु
जसरी यो आकाश वर्षौँदेखि उस्तै छ ।
उस्तै छेउ तिमी
जसरी वर्षौँअघि थियौ
बिल्कुलै फरक लाग्दिनौं आमा
बिल्कुलै बदलिएन तिम्रो माया
अनि बदलिँदै बदलिएन तिम्रो स्नेह
तिम्रो मातृत्व ।
।