सूचनाको शक्ति - The Power Of Information

        

एउटा ट्वीटले बदलेको भोकमरीग्रस्त सोमालिया


सोमालिया, ३० भदौ । गत मार्च १५ तारिखको दिन । सामाजिक सञ्जालमा निकै सक्रिय जेरोम ज्यारीलाई सोमालियामा खटिएका एक स्वयंसेवकले फोन गरे । सोमालियामा भएको भोकमरीमा आमासँगै पानीको खोजी गर्दै हिँडेर ९० माइलको दूरी हिँडेर पार गर्न लागेकी ६ वर्षकी एक बालिकाको आफ्नो आँखै अगाडि जल वियोजनका कारण मृत्यु भएको देखेपछि ती स्वयंसेवकले ज्यारीलाई सहयोगको अपील गर्दै फोन गरेका थिए । जेरोम चर्चित सेलिब्रेटी हुन् । प्य्रान्क भिडियोबाट चर्चा बटुलेका ज्यारीको ट्वीटरमा मात्रै आठ लाखभन्दा बढी साथीहरू छन् । ट्वीटरको प्रयोग गर्दै उनले एकैसाथ आफ्ना ती साथीहरूलाई सोमालियाबाट आएको सहयोगको अपीलबारे खबर गरेका थिए । सँगसँगै उनले सोमालियामा गर्न सकिने राहत वितरणबारे पनि ट्वीटरमा चर्चा गरेका थिए ।
मानिसहरूलाई सहयोगको कार्यमा अग्रसर गराउने योजना धेरै समयदेखि आइरहेको बेला सोमलियामा भोकमरीले मानिसहरूलाई समस्या पारेको जानकारी पाएपछि ज्यारीलाई कसरी न्यूयोर्कबाट सोमलियासम्म खाद्यान्न पुर्याउन सकिन्छ भन्ने लाग्यो । तर सोमलियामा टर्किस विमान मात्रै अवतरण गर्छ भन्ने जानकारी पाएपछि त्यहाँ खाद्यान्न पुर्याउन सो विमानलाई नै किन प्रयोग नगर्ने भन्ने सोच ज्यारीमा आएको थियो । त्यही सोचअनुरुप उनले ट्वीटरमा आर्थिक संकलनका लागि ‘गो फन्ड मी’ अभियान सुरु गरे । यसलाई उनले ‘लभ आर्मी फर सोमालिया’ नाम दिए । सोमालिया उड्ने एक मात्र टर्केली एलरलाइन्सलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा ह्यासट्याग सहित टर्किस एअरलाइन्स हेल्प सोमालिया नाम दिएर अर्को अभियानको थालनी गरे । यो अभियान भने उनले सोमालियामा खाद्यान्न राहत कार्गो गरिदिनका लागि टर्केली एयरलाइन्सलाई ट्वीटर मार्फत गरेको आह्वान थियो ।

सोमालियाका लागि संकलित खाद्यान्नले भरिएको विमान देखाउँदै अभियन्ता जेरोमा ज्यारी ।

उनको यो अभियानले सामाजिक सञ्जालमा निकै चर्चा पायो । सामाजिक सञ्जालमा नै सक्रिय जुनापा जुरिता, अमान्दा केर्नी र क्याजी न्याइस्टाटले ज्यारीको अभियानलाई साथ दिँदै विश्वव्यापी बनाउन सहयोग गरे । यस्तै, ज्यारीलाई साथ दिन प्रसिद्ध कलाकार बेन स्टिलर र प्रसिद्ध खेलाडी एड नर्टन समेत अभियानमा संलग्न भए । सबैभन्दा रोचक कुरा त के भयो भने, ट्वीटरबाट गरिएकोे आह्वानलाई टर्केली एअरलाइन्सलले ट्वीटरबाटै सहमतिको उत्तर दियो । दस दिनमा एक करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको उक्त अभियानले २४ घण्टामा नै त्यो लक्ष्य पूरा गर्न सफल भयो । उक्त अभियान सफल पार्नका लागि एकै व्यक्तिले १० हजार अमेरिकी डलरदेखि ५० हजार अमेरिकी डलरसम्म सहयोग गरेका थिए । यस्तो सहयोगबिना उक्त सामाजिक सञ्जालको अभियान सायदै सफल हुने थियो । सङ्कलित रकमबाट उनीहरूले चामल, पीठो, चिनी, दूध पाउडर, तेल, लगायतका ६० टन खाद्यान्न सामग्री किनी कार्गोका लागि राजी भएका टर्केली एयरलायन्स पूरै भरे । खाद्यान्न सामग्री वितरण सही ठाउँमा सही मानिसलाई सही तरिकाले हुन्छ या हुँदैन भन्ने कुराको प्रत्यक्ष अवलोकन गर्नका लागि जेरोम र उनका टिम राहत साम्रगीसँगै सोमालिया पुग्यो ।

खाद्यान्न भरेर भोकमरीग्रस्त सोमालियाका लागि उड्न लागेको विमानमा साथीहरूका साथ ज्यारी ।

तर यो अभियानले मात्रै ज्यारी र उनका सहयोगीहरूलाई पर्याप्त लागेन । सोमलियाकै सहयोगका लागि उनिहरूले ‘नोमिनेटेड फर सोमालिया’ लेखेर अभियानमा सहभागी प्रत्येकले आफ्ना ३र३ जना साथीहरूलाई सहयोगको लागि अपिल गर्न अनुरोध गरे । यसले धेरै जनालाई सोमलियावासीहरूलाई सहयोग गर्नका लागि प्रोत्साहन गर्यो । ज्यारी जस्तै सहयोग गर्न इच्छुकहरूलाई यस टविट्ले थप सहयोग भयो । उक्त अभियान सामाजिक सञ्जालको प्रयोगद्धारा सफल भएपछि सामाजिक सञ्जालमा मानिसहरूले विविध प्रतिक्रिया जनाएका छन् । ओम्निकोर, युएईका संस्थापक हफिज मुहाम्मद अली लेख्छन्, ‘सामाजिक सञ्जाल सेल्फी खिच्नका लागि मात्रै नभई लभ आमी फर सोमालिया जस्ता सशक्त अभियानका लागि पनि प्रयोग गर्न सकिन्छ ।’ तर सामाजिक सञ्जालको यति ठूलो स्तरमा रचानात्मक प्रयोग भएको यो पहिलोपटक भने पक्कै होइन भन्दै उनले आफैले यसभन्दा अघि सुरु गरेको ‘नो मेकअप सेल्फी’ अभियानबारे पनि चर्चा गरेका छन् । क्यान्सरसम्बन्धी अनुसन्धान गर्नका लागि थालिएको उक्त अभियान पनि हप्तादिन बित्न नपाउँदै आठ करोड पाउण्ड संकलन गर्न सफल भएको थियो ।

संकलित खाद्यान्न भोकमरीबाट प्रभावित सोमालीहरूलाई वितरण गरिँदै ।

अफ्रिकाका एली सुलिमान भन्छन्, ‘म अफ्रिकामा जन्मे र हुर्कें । खानेकुरा र पानी पाउने कुनै ठाउँ नहुँदा कस्तो हुन्छ भन्ने मलाई थाहा छ । मानिसहरू पानीकै खोजीमा तातो घाम र असुरक्षित वातावरणमा टाढासम्म जान्छन् । आफ्ना कोही आफन्तहरू सोमालिया नहुँदा पनि सोमालीहरूको सहयोगको लागि यी व्यक्तिहरू बनाएकोमा म भगवान्लाई धन्यवाद दिन चाहन्छु ।’ यस्तै कार्लोस एभिला लेख्छन्, ‘म चाहन्छु मसँग सोमालीहरूलाई सहयोग गर्न केही पैसा होस्, तर मसँग छैन । जो सोमालीहरू पिडामा छन्, उनीहरूको लागि मेरो माया र सम्झनासँगै प्रार्थना पनि छ ।’ सन् २०१५ देखि सोमालियामा सुरु भएको खडेरीले ६ करोड दुई लाख सोमालियनहरूलाई खाद्यान्न सहयोगको आवश्यकता छ । एक करोड अमेरिकी डलर बराबरको राहत सामग्री वितरण भइसके पनि अझै सोमालियाको समस्या घटेको भने छैन । किनकी खडेरीले डेरा जमाएको सोमालियामा अझै खडेरी हटिसकेको छैन । बुझ्नैपर्ने कुरा के छ भने सोमालियाका डिपार्टमेन्टल स्टोरहरूमा प्रशस्त खाद्य सामग्रीहरू छन् । खडेरीले निम्त्याएको अन्नबाली, पानी र पशुको सखापले मानिसहरूसँग ती वस्तु बजारबाट उपभोग गरेर खपत गर्न सक्ने पैसा छैन । त्यसैले सोमालियावासीहरूलाई राहतको थप आवश्यकता छ । सोही कुरालाई ध्यानमा राख्दै ज्यारीले आफ्नो अभियानको आर्थिक संकलन तीन करोड अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य राखेका छन् ।
(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार १२:१६