सूचनाको शक्ति - The Power Of Information

        

मैले तक्मा किन पाउने हजुर ? (व्यङ्ग्य)


हो हजुर ! मैले तक्मा पाउनुपर्ने कुनै कारण देखिनँ । गणतन्त्र नामधारी यो तक्मा पाउन त गणतन्त्रको लागि केही योगदान त गर्नुप¥यो नि, होइन र हजुर ! मैले तक्मा पाउनुपर्ने त्यस्तो के नै पो गरेको छु र यो देशका लागि ? हो हजुर ! तक्मा पाउनेहरूको नाम सार्वजनिक हुनु अगाडिसम्म त मैले पनि गणतन्त्र र देशको लागि केही गरेको छु, तक्मा पाउनेहरूमा म पनि पर्छु कि भन्ने मलाई आसा लागेको थियो हजुर! पछि म तक्मा पाउनेमा परिनँ भन्दा मलाई कता कता खल्लो लागेथ्यो । तर गोरखापत्रमा तक्मा पाउनेहरूको नाम हेर्दा पो बल्ल थाहा पाएँ हजुर ! तक्मा पाउनको लागि म योग्य नै भएको रहेनछु । हो हजुर ! त्यस्ता त्यस्ता दिग्गजहरूले पाउने गणतन्त्रे तक्मामा मैले आँखा गाडेर ठूलो भूल गरेछु । यस्तो मेरो मूर्खताप्रति म आफैँलाई दया लागेर आयो हजुर ! त्यस्ता, देशभक्त इमान्दार, दिग्गज, विद्वान्, राष्ट्रवादी, जनसेवी गणतन्त्रवादीहरूले पाउने तक्मामा म कसरी आसे बनेछु हजुर ?
हो हजुर ! ती तक्मा पाउनेहरूले देशको गणतन्त्रको स्थापना र विकासको लागि गरेको साम, दाम, दण्ड, भेदको नीति अवलम्बन मैले कहिल्यै गर्न सकिनँ । के गर्ने हजुर ! गर्नै चाहे पनि त्यो कला मसँग छैन । मैले छल, छाम र छुल्याइँ र छुद्र्याइँ पनि गर्न सकिनँ, न त मैले चाकरी, चाप्लुसी र चुक्ली नै गर्न जानेँ हजुर ! के गर्ने हजुर ! भ्रष्टाचार गर्ने त झन कुरै भएन, कहाँबाट भ्रष्टाचार गर्न पाउनु कहिल्यै सरकारी जागिर खा’को भा’पो त हजुर ! अनि अत्याचार र दूराचार पनि मेरो दिनचर्या बन्नै सकेन हजुर ! म यी सबै काम गर्न अक्षम छु भने मैले केका लागि तक्मा पाउने हजुर ? के गर्ने हजुर! मैले गाउँको अगुवा भएर छिमेकी छिमेकीलाई फुटाउन, छुटाउन र टुटाउन जानिनँ। न त नेता भएर जनतालाई थिच्न, मिच्न र पाएसम्म जनताको मानो मुठी घिच्न नै जानेँ हजुर ! हो हजुर ! न त समाजसेवी भएर सोझासाझालाई हकार्न, थचार्न, पछार्न र लछार्न नै जानेँ । न त मैले विद्वान्का नाममा आफूले सदस्यता लिएका पार्टीका नेताले जेजे भन्छन् त्यसमा आँखा चिम्लेर ताली पड्काउँदै समर्थन नै गर्न सकेँ हजुर !
हो हजुर ! मैले ओल्लो कित्तामा फाइदा हुँदा ओल्लो कित्तामै बसेर लुट्ने र पल्लो कित्तामा फाइदा हुनेजस्तो देखेपछि त्यतै फड्को मार्ने सुन्दर कला पनि जानिनँ । अनि मैले न त मानव अधिकारकर्मीका नाममा पार्टी–पार्टीबीचका तँछाडमँछाडका घटनामा चर्को स्वरमा बोल्न नै सिकेँ, या त पत्रकारका नाममा पार्टीका ठूला बडा नेताको गाथा नै गाउन जानेँ । न त राष्ट्रसेवकका नाममा जनताका छातीमा गोली बर्साउन नै जानेँ, न नागरिक समाजका अगुवाको पगरी भिरेर दलका एजेण्डालाई काँध थाप्दै हिँडे हजुर ! हो हजुर ! यीमध्ये मसँग कुनै योग्यता नै छैन भने मैले तक्मा किन पाउने हजुर ? न मैले उद्योगपति भएर गुणस्तरहीन सामान उत्पादन गर्न सकेँ, न त व्यापारीका नाममा दाल चामलमा बालुवा मिसाई त्यसबाट आएको फाइदाबाट पार्टीलाई चन्दा दिन नै सकेँ । न मैले गाँजा, चरेसको व्यापार गर्न सकेँ, न त अकुत सम्पत्ति कमाएर कर छल्न नै सकेँ । न मैले विदेशी मुद्राको अवैध कारोवार गरेँ, न त ठमेलका बारमा नग्न चेली नचाउन नै सकेँ । तब यी सबै गर्न नसक्ने भएपछि मैले तक्मा किन पाउने हजुर ?
हो हजुर ! माथिका कामहरू कुशलतापूर्वक सम्पन्न गरेका दिग्गजहरूका तुलनामा गणतन्त्र ल्याउनको लागि मैले के नै गरेको छु र हजुर, गणतन्त्रे तक्मा पाउन ? गणतन्त्रे आन्दोलनमा मेरो जाबो एउटा छोरो गोली लागेर मरेको र अर्को छरो आन्दोलनकै गोली खाएर लङ्गडो भएको न हो हजुर ! जनताका छातीमा गोली हानेर चराझैँ पुर्लुक पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु केको बहादुरी हो र हजुर ? कहीँ कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर ? मार्नेलाई नै त बहादुर घोषित गर्ने गरिएको छ नि, होइन र हजुर ? त्यसैले हो हजुर! यत्रा बहादुरहरूको योगदानको तुलनामा एकबारको मर्ने जुनीमा मेरो छोराले छातीमा गोली थापेर मृत्युवरण गर्नु कुन ठूलो कुरा भो र ! मलाई चित्त बुझ्यो हजुर, मैले तक्मा पाउनुपर्ने होइन रहेछ र गणतन्त्रका लागि मृत्युवरण गरेको मेरो छोरो पनि यसका लागि योग्य रहेनछ हजुर ! तक्माका लागि त तिनीहरू नै योग्य रहेछन् हजुर, जसको गोरखापत्रभरि नाम छापिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ११:५३