विश्वराज पछल्डङ्ग्या
बाँके, ३० भदौं । आफूले उत्पादन गरेका सामग्रीले मुल्य नपाएको नेपालगन्ज कारागारका कैदीहरुको गुनासो छ । कारागारका बन्दीले बाँस र प्लाष्टिकको डोरीबाट मुढा, डाली, डोको, कुर्सी, सोफा, डाइनिङ टेबल बनाउँदै आएका छन् । उत्पादन गरेका सामग्रीले मूल्य नपाउँदा उनीहरु चिन्तित छन् । कारागारसम्म ल्याउँदा कच्चा पदार्थ महंगो पर्ने भएकोले मेहनत अनुसारको फाइदा नहुने गरेको मुढा बनाउँदै आएका बन्दी लालबहादुर रानाले बताए । उनले गाउँमा १०० रुपैयाँ मूल्य पर्ने बाँस कारागारसम्म आउँदा ३०० रुपैयाँसम्म पर्ने गरेको बताए ।
‘मुढा बनाउन चाहिने प्लाष्टिकको धागो, साइकलको टायर, छडको रिङ, पेन्टको खर्च कटाएर एउटा मुढाबाट नाफा ५० रुपैयाँ मात्र हुन्छ,’ उनले भने । एउटा मुढा बनाउन कम्तिमा २ दिन लाग्ने गरेको मुढा उत्पादनका मुख्य नाइके बन्दी लोकेन्द्र विकले बताए । उनले प्रति मुढा ५०० विक्री गर्दै आएको बतए । बाँस बाँकेका विभिन्न गाउँबाट ल्याए पनि प्लाष्टिक भारतीय सीमा बजार रुपईडिहाबाट ल्याउने गरेको उनले बताए । उनले ३ वर्षदेखि एउटा मुढाको ५०० रुपैयाँमा बिक्री गर्दै आएको बताए । ‘टाढा–टाढबाट कच्चा पदार्थ ल्याएर मेहनत गरेर बनायो, विक्री गर्नै समस्या हुन्छ,’ उनले भने ।
प्रचारप्रसार र तालिमको कमी
कारागारका बन्दीले उत्पादन गरेका सामग्रीले मूल्य नपाउँदा ब्यवसाय फस्टाउन नसकेको विकले बताए । उनले कारागारमा मुढा, डाली, डोको, कुर्सी, सोफा, डाइनिङ टेवल उत्पादन हुने भएपनि प्रचारप्रसार नभएकै कारण सजिलै बिक्री नभएको बताए । ‘मेहनत गरेर बल्लतल्ल बनायो किन्ने मान्छेले यस्तो उस्तो भनेर कम मूल्यमा किन्न खोज्छ, कच्चा पदार्थको तुलनामा मूल्य नपाउँदा सामग्री बनाउन जाँगर चल्दैन,’ विकले भने । कारागारमा उत्पादन र निर्माण भएका सामग्रीको बजारीकरण भएको खण्डमा धेरैभन्दा धेरै सामग्री उत्पादन गर्न सकिने अर्का बन्दी दिनेश चौधरीले बताए । उनले यहाँ उत्पादन भएका सामग्री कैदीबन्दीले खरिद गरेर घरमा पठाउने गरेको जानकारी दिए । ‘बाहिरबाट किन्न कोही आउँदैन, कैदीबन्दीले नै किन्ने गरेका छन्,’ चौधरीले भने ।
दाताको पर्खाईमा कैदी
तालिम नलिएरै नेपालगन्ज कारागारका कैदीबन्दीले बाँस र प्लाष्टिकको डोरीबाट मुढा, डाली, डोको, कुर्सी, सोफा, डाइनिङ टेबल, सुपो उत्पादन ब्यवसाय गर्दै आएका छन् । साथीभाईले बनाएको देखेर मुढा बनाउन सिकेको बन्दी वीर बहादुर बुढाथोकीले बताए । तालिम र कच्चा पदार्थ सुपथ मूल्यमा पाए जमेरै व्यवसाय गर्ने उनले आफ्नो योजना सुनाए । उनले बाँस र प्लाष्टिकको डोरीबाट उत्पादन गर्ने व्यवसायका लागि समयमा कच्चा पदार्थ नपाउने गरेको दुखेसो पोखे। ‘एउटा सामान मगाउन २–३ दिन लाग्छ, कहिले काहीँ त कच्चा पदार्थ नभएर कामनै रोकिन्छ,’ बुढाथोकीले भने । बजारिकरण, तालिम र कच्चा पदार्थका लागि दातृ निकायले सहयोग गरे व्यवसाय संचालनका लागि थप सहयोग पुग्ने मुख्य नाइके लाल बहादुर रानाले बताए । उनले कच्चा पदार्थ खरिदका लागि सहयोग गर्न संघसंस्थासँग अपिल समेत गरेका छन् ।
‘हामीलाई कच्चा पदार्थ खरिदमा सहयोग गर्नुस् हामीले बजारको माग अनुसार सामग्री पठाउन तयार छौँ,’ रानाले भने । नेपालगन्ज कारागारका १५ जना कैदीबन्दीले बाँस र प्लाष्टिकको डोरीबाट मुढा, डाली, डोको, कुर्सी, सोफा, डाइनिङ टेवल बनाउने ब्यवसाय गरेको सहायक जेलर श्याम लामिछानेले बताए । उनले बन्दीको माग अनुसार कच्चा पदार्थ बाहिरबाट मगाई दिने गरेको बताए । कारागारमा बनेका सामान कारागारमा मात्र विक्री हुने गरेको उनले बताए । ‘धेरै उत्पादन भए पनि बाहिरका ब्यापारी खरिद गर्न आउँदैनन्,’ उनले भने । उनले बजारिकरण, तालिम र कच्चा पदार्थका लागि सहयोग भए कैदीबन्दीले अझै राम्रो गर्न सक्ने बताए । ‘मुढा बनाउने बन्दीका लागि तालिम र बजारिकरण एकदमै जरुरी छ,’ लामिछानेले भने । नेपालगन्ज कारागारमा ६४३ जना कैदीबन्दी छन् ।
।