सूचनाको शक्ति - The Power Of Information

        

छाडा चौपाया नियन्त्रणमा पनि खुला सीमा चूनौति


दुर्गा रोकाय
बाँके, ३० भदौ । पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकामा छाडा चौपाया नियन्त्रणमा निकै चुनौती देखिएको छ । उपमहानगरपालिकाले नगर क्षेत्रबाट चौपाया नियन्त्रणमा लिएर जंगलमा छोड्ने गरे पनि हरेक दिनहुँजसो नगरमा चौपाया थपिएका छन् । नगरमा दिनहुँ छाडा चौपायाको बिगबिगी हुनुको मूख्य कारण खुला सीमाना देखिएको छ । खुला सीमाका कारण भारतबाट चर्दै पशु चौपाया नेपाल छिर्न थालेपछि नेपालगन्जमा बिगबिगी बढेको सरोकारवालाको अनुसन्धानले देखाएको छ । नेपालगन्ज उपमहानगरपालिका
निरीक्षण विभाग प्रमुख पवन कनौजिया नगरमा छाडा चौपाया नियन्त्रणका लागि गरिएको प्रयास विफन हुुनुमा भारतबाट आउने चौपाया नै भएको बताउँछन् ।
उनले भने, ‘हामी एकातिर नियन्त्रण गरेर पशु चौपाया जंगल छोडिरहेका छौं अर्कोतिर खुला सीमानाका कारण भारतबाट नेपाल प्रवेश भएका भएै छन् अनि कसरी रोकिन्छ ।’ उनले छाडा चौपाया बढ्नुको अर्को कारण शहरमा ठाउँ नहुनेले दुधका लागि छोडेर पाल्ने गरेको पनि बताए । दुध दुहुने बेला गाई घरमा आउने कुडो, दाना खुवाएर दुहुने अन्य समयमा छाडि दिने कारणले गर्दा छाडा चौपायाको संख्या बढ्दै गएको उनको ठम्याई छ । गत साउनयता मात्र छाडा चौपाया नियन्त्रण गरेर १ लाख ५४ हजार राजश्व संकलन भएको प्रमुख कनौजियाले बताए । उनले भने, ‘हाम्रो उद्देश्य राजश्व संकलन गर्नु होइन, नगरमा सरसफाई र छाडा चौपाया नियन्त्रण गर्नु हो । तर, यति धेरै लापरवाही देखिएको छ अब मालिकलाई नै कारवाही गर्ने प्रावधानमा लाग्नुपर्छ ।’ उनले नगर क्षेत्रबाट गत वर्ष र यो वर्ष गरेर ५०५ वटा छाडा चौपाया अमिलिया जंगल लिएर छोडेको जानकारी दिए ।
अहिले पनि नगरबाट ८४ वटा छाडा चौपाया फुल्टेक्रामा रहेको कान्जी हाउस अथार्त पशु बन्दी गृहमा राखिएको छ । नियम अनुसार नियन्त्रणमा लिएको ८ दिनसम्म बन्दी गृहमा राख्ने त्यो समयभित्र पशु मालिक पुगेर जरिवान तिरको खण्डमा आफ्नो चौपाया लिन सक्ने प्रावधान रहेको उनले बताए । खुला सीमाना र बजारका मालिकका कारण नगरमा दिनहुँ चौपायाको बिगबिगी भएर हरेक दिनजस्तो दुर्घटना भई मानिस घाइते भएका खबर सार्वजनिक हुँदै आएका छन् । यसरी एकातिर छाडा चौपायाका कारण दुर्घटनाको शिकार भएको अवस्था छ भने अर्कोतर्फ छाडा चौपाया नियन्त्रणका लागि ठूलो जनशक्ति र रकम खर्च गर्नुपर्ने वाध्यता रहेको कनौजिया बताउँछन् । उनले अहिले पनि शहरी क्षेत्रमा करीब १ हजारको संख्यामा छाडा चौपाया देख्न सकिने र भारतबाट नेपाल आउने क्रम नरोकिएकाले यस्तै अवस्था रहेको खण्डमा वार्षिक करीब १० लाखभन्दा बढी चौपाया नियन्त्रण र व्यवस्थापनमै खर्च हुने अनुमान गरे । हाल नेपाल प्रहरीको सहयोगमा छाडा चौपाया नियन्त्रणको काम भइहरेको छ । दिनहुँजसो पशु जंगल पठाउने र थुन्ने गरे पनि अवस्था भने अझै विकराल बन्दै पशु चौपायाकै कारण दुर्घटना बढिरहेको सर्वसाधारणहरुको गुानासो छ ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ०९:२८