सूचनाको शक्ति - The Power Of Information

        

चार आना सुनको टपका लागि १३ बर्षे बालकको हत्या

  • दसीका रुपमा सुन फेला परेपछि यसरी खुल्यो जघन्य अपराधको रहस्य


कञ्चनपुर, ३० भदौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षीय तिलक चन्दको विहानको दैनिकी थियो, सबेरै उठेर स्कुल जाने । बिहानी सत्रमा स्कुल लाग्ने भएकाले उनलाई घरका कोही सदस्यले स्कुल जान उठाउनु नै पर्दैन्थ्यो । तिलक सधै सबेरै आफै उठेर विहानको खाजा खाएर स्कुलतिर लाग्थे । बिहानको कक्षा ७ बजेदेखि सुरु भएर दिउँसो १२ बजे छुट्टी हुन्थ्यो । सरकारी स्कुल महाकाली जनसेवा मावि कक्षा ८ मा अध्ययनरत तिलक स्कुल छुट्टी हुँदासाथ समयमै घर फर्किसक्थे । भदौं २५ गते आइतबारको दिन थियो, सदाझै विहानै उठेर उनी स्कुलतिर गएँ। तर, त्यो दिन घर फर्किएनन् । छोरो घर नआएपछि उनका बाबुआमाले सोचे कतै साथीकोमा बसेको होला, भोलि आउँला भन्ने । छोराको त्यो दिन खोजी गरेनन् । तर, भोलिपल्ट पनि छोरो घर नफर्किएपछि उनका परिवार चिन्तित भएँ । स्कुलमा गएर सोधे–तिलक हिजो घर आएन आज स्कुल आएको थियो कि थिएन ? स्कुलका एक शिक्षकले जवाफ दिए, अहः तिलक त आज कक्षामा उपस्थित थिएन ।
स्कुल पनि नगएको भन्ने थाहा पाएपछि उनका परिवार तनावमा परे, छोरो कता गयो होला । कसैले अपहरण गरेर लिएर त गएन ? यस्तै यस्तै अड्कलबाजी गर्दै तिलकका बाबु २६ गते छोरो हराएको सूचना प्रहरीकोमा दर्ता गराएँ । स्कुलदेखि नजिकै महाकाली सिंचाई आयोजनाको नहर छ । त्यही नहरमा त डुबेन ? भन्ने शंका लागेर प्रहरी र परिवारले खोजे । तर, तिलक भेटिएनन् । दिनभरि तिलकको खोजी गरियो तर नभेटिएपछि परिवार रित्तो हात निराश हुँदै घर फर्किए । भदौं २७ गते पीडित परिवारले प्रहरीमा दोस्रो पटक निवेदन दियो, १३ वर्षीय छोरो तिलक दुई दिनदेखि हराएकाले खोजतलास गरी पाउँ भनेर । दुई दिनसम्म पनि तिलक नभेटिएपछि त्यसपछि भने प्रहरीले आफ्नो सक्रियतालाई झनै बढायो । प्रहरीले भिमदत्त नगरपालिकाभर प्रहरी परिचालन गरेर तिलकको खोजीको काम सुरु ग¥यो । तर, त्यो दिन पनि कतै भेटिएनन् ।
तीन दिनसम्म पनि तिलक फेला नपरेपछि प्रहरीले सुरुमा अपहरणमा परेको आशंका ग¥यो । त्यही अनुसार प्रहरीका सबै तहमा तिलक हराएको र त्यसबारे खोजतलास गर्न जिल्लाभर नै सर्कुलर ग¥यो । त्यति गर्दा पनि प्रहरीले तिलकको अवस्थाबारे पत्ता लगाउन सकेन । तेस्रो चौथो दिन, साँझपख स्थानीय खन्नेखोला किनारमा घाँस काट्न गएका स्थानीयहरुले नराम्रो गन्धको चाल पाए । त्यसपछि वरपर के रहेछ भनेर खोजविन गर्दा खोप्टो परेको अवस्थामा शव भेटे । शव गलेर दुर्गन्धित भइसकेको थियो । अनुहार चिन्ने अवस्थामा नभएपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीलाई शब फेला परेको खबर आएपछि तत्काल प्रहरीको टोली घटनास्थल पुग्यो । शव स्कुलबाट हराइरहेका बालकको भएको थाहा पाएपछि प्रहरीले उनका परिवारलाई खबर गरेको थियो ।

स्कुलमा एउटै कक्षामा एउटै बेन्चमा बस्ने साथीले हत्या गरेको खुलासा

चार दिनदेखि बेपत्ता रहेका कञ्चनपुर भिमदत्त नगरपालिका–७, हल्दुखालका १३ वर्षीय बालक तिलक चन्दको हत्या उनकै साथीले गरेको रहस्य खुलेको छ । आइतबार स्कुलको मध्यान्तरपछि वेपत्ता भएका चन्दको हत्या उनीसँगै महाकाली जनसेवा माविमा कक्षा आठ मै पढ्ने उनका साथी सोही ठाउँका आशिष अधिकारीले रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश चन्दले बालकको शव चार दिनपछि खोलाको बगरमा रहेको झाडीमा फेला परेको र उनको हत्यामा आशिषको संलग्ना रहेको पुष्टि भइसकेको बताए एसपी चन्दले तिलकको शव स्कुलदेखि ५ सय मिटर दक्षिणमा रहेको खन्नेखोलाको बगरमा फेला परेको बताए । एसपी चन्दले भने, ‘महिलाहरु घाँस काट्न जाँदा शव देखेपछि हामीलाई खबर आयो । त्यसपछि हामी घटनास्थल पुगेर हेर्दा तिलककै शब फेला पारेका हौं ।’ उनका अनुसार तिलकसँगै हिड्ने केही स्कुलका साथीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा हत्यामा संलग्न व्यक्तिको समेत सजिलै पहिचान भएको थियो ।

चार आनाका दुईवटा टपको लोभमा साथीको हत्या

१३ वर्षीय तिलकको हत्याको आरोपमा पक्राउ परेका १७ वर्षीय आशिषले हत्या गरेको स्वीकार प्रहरीसमक्ष गरिसकेका छन् । प्रहरीका अनुसार आशिषले सुनको टपको लोभमा तिलकको हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेट्ठीका अनुसार प्रहरीलाई बयान दिने क्रममा आशिषले सुनको टपको लोभमा हत्या गरेको बताएका छन् । ‘प्रारम्भीक अनुसन्धानबाट सुनकै लोभमा हत्या गरेको खुलेको छ । थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्छ,’ उनले भने । प्रहरीले आशिषका साथबाट दुई वटा सुनका टप फेला पारेपछि तिलकका परिवारसँग त्यसबारे सोधपुछ गरेको थियो । तिलकका परिवारले चार आनाका दुई वटा सुनका टप छोराले लगाएको बताएका थिए । त्यसपछि आशिषमाथि प्रहरीले थप सोधपुछ सुरु गरेको थियो । सोधपुछका क्रममा आशिषले ति दुई वटा सुनका टप तिलककै भएको बताएका थिए । ‘आशिषले सुनकै लोभमा आफूले तिलकको हत्या गरेको स्वीकारेका छन्,’डिएसपी सेट्ठीले भने ।

आशिषमाथि प्रहरी अनुसन्धान

प्रहरीले १३ वर्षीया बालकको हत्याको कारणबारे छानविन सुरु गरिसकेको डिएसपी सेट्ठीले जानकारी दिए । डिएसपी सेट्ठीका अनुसार प्रहरीले तिलकको हत्याराको पहिचान भइसकेकाले थप छानविन सुरु गरिएको छ । ‘तिलकको हत्यारा पत्ता लागिसकेको छ । उनकै साथी सोही ठाउँका १७ वर्षीय आशिष अधिकारीले गरेको भन्ने खुलिसकेकाले छानविन अघि बढाएका छौं,’ उनले भने, ‘हत्यामा अरु को को संलग्न थिए भन्नेबारे पत्ता लाग्न बाँकी छ ।’ उनका अनुसार अहिलेसम्म तिलकको हत्यामा आशिषको मात्रै संलग्ना रहेको भन्ने पत्ता लागेको बताए । ‘अरु पनि कोही संलग्न हुनसक्छन् । त्यसबारे हामीले अनुसन्धान गरिरहेका छौं। छिट्टै पत्ता लगाउँछौं,’ डिएसपी सेट्ठीले भने । उनले आशिषमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ०४:३७