सूचनाको शक्ति - The Power Of Information

        

कहाँ छिन् कुवेत पुगेकी दिपा ?

काठमाडौं, २९ भदौ । कुवेतबाट दिपा सिंहले दिनहुँ फोन गर्थिन्, दिदी रक्षा चौधरीलाई । दिपाले जाने बेलामा ८ वर्षका छोरालाई पनि रक्षाकै साथमा छाडेर गएकी थिइन् । कामको बारेमा दिपाले कहिल्यै नराम्रो सुनाइनन् । ‘घरको काम गर्नुपर्छ, बच्चा हेर्ने खाना पकाउने त हो भन्दै हाँसेरै बोल्थी फोनमा पनि,’ रक्षाले बहिनीसँग फोनमा गरेको कुराकानी सुनाइन् । बहिनीले दिनमा चार पटकसम्म मिसकल गर्ने, फोन पनि गर्ने भएकाले रक्षाले बहिनीको कामको बारेमा नराम्रो छ कि भनेर शंका नै गरिनन् । अझ खुसी भएर बोलेको सुन्दा बहिनीका दुःखका दिन सकिए भन्ने सोच्दै खुुुसी थिएन् रक्षा । दिपाले पहिलो महिनाको तलव भनेर २६ हजार रुपैयाँ घर पठाइन् । रक्षालाई त्यो पैसा ‘छोराको लागि खर्च गर्नु है दिदी’ भनेकी थिइन् दिपाले ।
विदेश पुगेको दुई महिनापछि दिपाको फोन कम आउन थाल्यो । काममा व्यस्त भएर फोन नगरेको हो कि जस्तो लाग्यो । तर उनले सोचेको जस्तो भएन । दिपाले बिस्तारै फोन गर्नै छाडिन् । झण्डै दुई महिना पछि दिपाले साथीको नम्बरबाट फोन गरिन् । पहिले फोनमा हासेर बोल्ने बहिनीको बोली बेग्लै थियो । रोएको जस्तो बोली आयो । ‘के भयो भनेर सधेका ठिकै छ म पछि पैसा पठाउछु । मेरो छोरालाई राम्रोसँग हेरिदिनु है भनी,’ दिपाले त्यती भनेर फोन राखिन् । पहिले गर्ने नम्बरमा रक्षाले धेरै पटक फोन कोसिस गरिन्, तर लागेन । दिपाले फेरि केही समयपछि फोन गरिन् । त्यती बेला पनि दिपाले साहु दुवईबाट आएपछि पैसा पठाउँछु भनेर राखिन् । बहिनीले त्यस्तो व्यवहार देखाएपछि रक्षालाई शंका लाग्यो ।
रक्षाले बहिनीले फोन गरेको नम्बरमा फोन गरिन् । त्यो नम्बर दिपाले काम गर्ने घर नजिकैको घरमा काम गर्नेे साथीको नम्बर रहेछ । साथीले दिपाको बारेमा बताएपछि रक्षा छक्क परिन् । बहिनीले तलब माग्दा साहुले कुटेछन, त्यसपछि उसको पनि बहिनीसँग भेट भएको छैन रे, दिपाले आत्तिदै भनिन्, ‘बहिनीलाई नराम्रो केही पो भयो कि ।’ साथीले रक्षालाई बताए अनुसार दिपा अहिले त्यो घर छाडेर भागिसकेकी छन् । बहिनी कहाँ गइन भन्ने चिन्ताले सताएको छ रक्षालाई । दिपा सुर्खेतकी हुन् । श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि उनी सुर्खेतमा आमासँगै बस्थिन् । पेटमा गर्भ लिएर माइत आएकी दिपाको छोरा पनि ८ वर्षको भैसकेका छन् । माइतीमा आमा पालेर बसेकी दिपालाई गाउँकै चिनजानका दलाल शशी खत्रीले भारतको बाटो हुँदै कुवेत पठाएकी हुन् ।
नेपालबाटै विदेश पठाउने भनेर दिपासहित अरु महिलालाई पनि काठमाडौं बोलाएकी शशीले एक महिना काठमाडौंमा राखेर पछि नेपालगन्ज हुँदै दिल्ली पठाएको रक्षाले पछि मात्र थाहा पाइन् । बहिनीलाई भारतको बाटो हुँदै विदेश पु¥याए भनेको सुन्दा नै रक्षाको मन चिसो भएको थियो । धेरै महिलालाई भारतको बाटो हुँदै खाडीमा लगेर बेचेको सुनेकी रक्षालाई बहिनीलाई पनि त्यस्तै गर्ने हुन कि भन्ने लागेको थियो । नभन्दै अहिले त्यस्तै भयो । दिपाको सही खबर समेत नपाउँदा रक्षालाई निको चाल छ भन्ने लाग्दैन । दिपाको छोरा रक्षासँगै बसेर एलकेजीमा पढ्छन् । छोरालाई दिपा बेखबर भएको थाहा छैन । तर छोराले आमाले किन फोन नगरेको भनेर सोधिरहन्छन् । रक्षालाई एकातिर बहिनी बेखबर हुँदाको पीडा छ त अर्को तिर छोरालाई ढाँट्नु पर्दाको पीडा । रक्षा भन्छिन्, ‘ठूलो ममीसँगै बसेर पढ्छु भनेको छ छोराले । उसलाई त पढाउला तर बहिनी आइन् भने छोरालाई के जवाफ दिनु ?’ -उज्यालोबाट

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार ११:२८