- दुई बर्षदेखि चामल र नुन खानबाट वञ्चित
डोल्पा, २९ भदौं । डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि काठमाडौंमै थन्किएको छ । उपल्लो डोल्पाका लागि छुट्ट्याइएको ६ हजार ८ सय क्विन्टल चामल र ३ हजार क्विन्टल नुन काठमाडौंको गोदाममा थन्किएको छ । खाद्यान्न संकटको मार खेपिरहेको उपल्लो डोल्पामा दुई वर्षदेखि अनुदानको चामल र नुन नजाँदा उपल्लो डोल्पावासी मर्कामा परेका छन् । केरुङ नाका विवादका कारण माथिल्लो डोल्पामा चामल लैजान नसकिएको ठेकेदार विजय रोेक्काले बताए । भन्सार करमा वृद्धि भएकाले व्यापारीसँग कुरा नमिलेपछि समयमै खाद्यान्न ढुवानी हुन नसकेको उनको भनाइ छ ।
।