सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज कारागारमा लागूऔषध मुद्दाका कैदीबन्दी धेरै

५४ जना विदेशी नागरिक पनि जेलमा


बाँके, २८ भदौ । नेपालगन्ज कारागारमा लागु औषधको मुद्दामा सबैभन्दा बढी कैदी र थुनुवा रहेका छन् । क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी रहेको सो कारागारमा लागू औषधका मात्र करिब २०० कैदी बन्दी छन् । नेपालगन्ज कारागारका निमित्त जेलर श्याम लामिछानेले कारागारमा १७९ जना लागू औषधको मुद्दामा कैदी बन्दी रहेको बताए । उनले भने, ‘कारागारमा रहेका कैदी बन्दी र थुनुवा मध्ये १७९ जना लागू औषधको मुद्दाका छन् । यसमा पनि २९ जना गैरनेपाली नागरिक छन् ।’ नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवाको कारण सुत्न बस्न स्थान अभाव छ ।
कारागारमा ३०० जनाको क्षमता रहेको भए पनि ५६ महिलासहित ६५४ कैदी बन्दी र थुनुवा रहेका छन् । नेपालगन्ज कारागारमा कर्तव्य ज्यान मुद्दाका १६६, बलात्कारको मुद्दामा ७६ कैदी र २७ थुनुवा गरी १०३ जना अपहरण तथा शरिर बन्धकको मुद्दामा ४७ जना रहेका छन् । जेलर लामिछानेका अनुसार केही सार्वजनिक अपराधका मुद्दा र पटके चोरीको मुद्दामा एकरदुई हजार जरिवाना समेत तिर्न नसक्नेहरुलाई कारागार पठाउने गर्दा पछिल्लो समयमा थुनुवा र कैदीको संख्या बढेको बताउँछन् । नेपालगन्ज कारागारमा रहेका कैदी थुनुवा मध्ये ५४ जना गैरनेपाली छन् । उनीहरुमा १ जना पाकिस्तानी, २ जना बंगलादेशी र बाँकी ५१ जना भारतीय नागरिक विभिन्न मुद्दामा थुनिएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार ०६:०८