सूचनाको शक्ति - The Power Of Information

        

बर्थिङ सेन्टरको रकमले ‘सुनको सिक्री’ उपहार

विमल विष्ट
डोटी, २९ भदौ । डोटीको डौड इलाका स्वास्थ्य चौकी इञ्चार्ज शिवशंकर रावतको विदाईमा केही दिन पहिले दिइएको ‘दुई तोलाको सुनको सिक्री’ बर्थिङ सेन्टरको रकमबाट खरिद गरी दिइएको खुलेको छ । जिल्लाको दुर्गम क्षेत्र डौडमा २०५५ सालदेखि निरन्तर सेवारत रावतलाई साबिकको डौड गाउँ विकास समितिले बर्थिङ सेन्टरका लागि छुट्याइएको रकमबाट सिक्री दिइएको खुलेको हो । डौडमा गएको पुसमा सम्पन्न गाउँपरिषदबाट बर्थिङ सेन्टरका लागि ४ लाख २० हजार रकम विनियोजन गरिएको थियो । त्यसमध्ये ३ लाख २० हजार रुपैयाँ बर्थिङ सेन्टरमा कार्यरत अनमी राधिका सिंह र कार्यालय सहयोगी कटी नागरीको तलबमा खर्च भएको थियो । बाँकी १ लाख रकम र डौड स्वास्थ्यचौकी व्यवस्थापन समितिको खातामा रहेको थप २० हजार रकमबाट सिक्री खरिद भएको स्वास्थ्य चौकी इञ्चार्ज शिवशंकर रावतले बताए ।
उनले भने, ‘साउन १९ गते स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकको निर्णयमा उपहारसहित सम्मान गर्ने भन्ने निर्णय उल्लेख भएको छ, अनौपचारिक रुपमा सुनको सिक्रीको कुरा भएको थियो, यस विषयमा के कति रकमबाट किनियो, कति तोला बराबरको किनियो भन्ने बारेमा म जानकार छैन, सबै कुरा तत्कालिन गाबिस सचिब लालबहादुर बोगटीलाई थाहा होला ।’ त्यस्तै सुनको सिक्री उपहारका विषयमा आफूलाई कुनै जानकारी नभएको तर एक्कासी सार्वजनिक कार्यक्रममा सिक्री पहिराईदिन भनेपछि आफूले स्वास्थ्यकर्मी रावतलाई पहिराइदिएको अहिलेको सायल गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टेकबहादुर सिंहले बताए ।
उनले भने, ‘स्वास्थ्यचौकी इञ्चार्जको विदाईमा उपहार र सम्मान गर्ने भन्ने जानकारी मात्रै थियो, एक्कासी सुनको सिक्री उपहार भन्ने कुरा जानकारी पाइयो, त्यो मैले पहिराएको हुँ, मैले त १ लाख २२ हजारको भन्ने जानकारी पाएको हुँ, त्यसको निर्णय बारेमा मलाई कुनै जानकारी छैन, गाविस सचिव लालबोगटीलाई सबै कुरा थाहा होला ।’ साउन १९ गतेको निर्णय अनुसार भदौ १५ गतेका दिन रावतको सम्मान कार्यक्रम राख्ने निर्णय भएता पनि भदौ २४ गतेका दिन सायल गाउँपालिकाको प्रथम गाउँसभामा सम्मानसहितको सुनको सिक्री दिइएको हो । यो सम्मानबारे समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणीसहित सायल गाउँपालिका पनि दोषी रहेको आलोचनापछि सायल गाउँपालिकाले बुधबार विज्ञप्ती निकाले आफ्नो बचाउ गरेको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार ०५:५६