डा. पदम नेपाली
स्वास्थ्य समस्याको दृष्टिले सुदूरपश्चिम सधैंजसो समाचारमा छाइरहने क्षेत्र हो । छाउपडी प्रथादेखि गर्भवतीहरुले अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउनुपरेको जस्ता धेरै स्वास्थ्य समस्या सुनिराखेकै विषय हुन् । यही भेगको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा आठ महिनाअघि मेरो पोस्टिङ भयो । लोकसेवा मार्फत डेन्टल सर्जनको रुपमा छनोट भई पदस्थापन भएर जानुपर्ने थियो । हत्तपत्त कसैको रोजाइमा नपरेको त्यस्तो ठाउँमा जागिर खान जानुपर्ने भएपछि रातभर निद्रा लागेन । काठमाडौंबाट सडक मार्ग हुँदै ७७३ किलोमिटर (२४ घन्टा बसयात्रा) छिचोलेपछि डडेल्धुरा पुगिने रहेछ । जहाजमा जाँदा काठमाडौंबाट धनगढीसम्म सवा एक घन्टाको हवाई यात्रा र ४–५ घन्टाको बस यात्रापछि पुगिन्छ ।
पहिले कांग्रेस नेता शेरबहादुर देउवाको गृहजिल्ला भनेर मात्र चिनेको डडेल्धुरामा आठ महिना बसेपछि सुदूरपश्चिमका धेरै कुरा बुझ्ने मौका पाएँ । यो क्षेत्रको स्वास्थ्य स्थिति पनि सूक्ष्म रुपमा बुझिरहेको छु । त्यसैले यहाँ बसेर अनुभव गर्दाको वास्तविकता चित्रण गर्ने उद्देश्यले यो लेख लेख्दै छु । समग्र सुदूरपश्चिमको स्वास्थ्य स्थितिबारे आगामी लेखमा चर्चा गर्नेछु, यो पालि भने आफ्नो दखल रहेको ’मुख स्वास्थ्य’को बारेमा चर्चा गर्दैछु । डडेल्धुरा सदरमुकामको तुफानडाँडाबाट बायाँतिर लागेपछि उपक्षेत्रीय अस्पताल पुगिन्छ । बाहिरबाट हेर्दा अस्पताल टिनका धेरै छाप्राको देखिन्छ । त्यही छाप्राभित्र इमर्जेन्सी, ओपिडी वार्ड लगायत ५० बेडको अस्पताल सोचेभन्दा व्यवस्थित तरिकाले मिलाइएको छ । तर, भवन र फराकिलो ठाउँको अझै अभाव नै छ । भित्रपट्टि कुनामा रहेको १९ नम्बरमा मैले काम गर्ने दन्त विभाग छ ।
सुरुसुरुमा दाँत र मुखका बिरामी दैनिक २–३ जना मात्र आउँथे । आजकाल भने दिनमा १०–१५ जनासम्म आउँछन् । बिहान ९ देखि ३ बजेसम्म नियमित सेवामा समर्पित भए पनि टाढाको बिरामी भएको बेलामा ४–५ बजेसम्म बिरामीको उपचारमा खट्दा पनि सन्तुष्टि नै मिल्छ । परेको बेला फोनबाट पनि इमर्जेन्सीमा मुख र दाँत सम्बन्धी सेवा बिरामीलाई चौबीसै घन्टा प्रदान गरिन्छ । यहाँको सरकारी अस्पतालमा दाँत सम्बन्धी सम्पूर्ण आधारभूत सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको पाएँ । म सुरुमा आउँदा यो देखेर सुदूरपश्चिमका जनतालाई दाँत र मुख स्वास्थ्यमा आधारभूत सेवा दिन सक्छु भनेर खुसी लाग्यो । आफ्नो विभागमा सहयोग गर्ने जनशक्तिको पनि अभाव थिएन । टिम वर्कबाट दाँत झिक्ने, दाँत भर्ने, जरैदेखि भर्ने आरसिटी, दाँत सफा गर्ने, दुख्ने तथा पाक्ने खालको संक्रमणको उपचार गर्ने, नयाँ दाँत राख्ने लगायतको सेवा दिन सफल भएका छौं ।
स्वास्थ्य सेवा लिन आउन बझाङ, बाजुरा, डोटी, बैतडी लगायत बिरामीलाई यो ठाउँ पनि धेरै टाढा पर्छ । त्यसैले सबै जिल्लामा सेवा विस्तार गर्नु जरुरी देखिन्छ । केही जटिल उपचारको लागि बिरामीलाई बुटवल, चितवन, काठमाडौं, भारत लगायतमा रेफर गर्नुपर्ने बाध्यता अझै छँदैछ । मुख तथा दाँत स्वास्थ्यमा पनि अरु विकट पहाडी भेग झैं सुदूरपश्चिम पनि धेरै पछाडि नै देखिन्छ । दाँत कीराले खाएर होस् वा अन्य कारणले, प्रायले १६–१७ वर्षकै उमेरमा ४–५ वटा दाँत गुमाइसकेका हुन्छन् । त्यस्ता धेरै बिरामी आउँछन्, जसलाई नयाँ दाँत राख्न ४–५ पटकसम्म अस्पताल आउनुपर्ने हुन्छ । खर्च पनि ५०–६० हजार रुपैयाँ लाग्छ । जसका लागि उनीहरु समयका साथै र आर्थिक कठिनाइका कारण आउन सक्दैनन् । राज्यले आर्थिक भार बेहोर्न पनि असम्भव नै हुन्छ । कतिपय अवस्थामा एउटै बिरामीमा गिजा सुन्निने, पाक्ने, दाँत हल्लिने जस्ता समस्या एकसाथ देखिन्छ । यस्तो अवस्थामा कुन उपचार पहिले सुरु गर्ने भन्नेमा कहिलेकाहीँ आफैं अलमल्ल पर्छु ।
एउटा व्यक्तिको सम्पूर्ण दाँतको उपचार राम्रोसँग गर्नै एक महिना चाहिन्छ जस्तो लाग्छ । केहीमा मुखको क्यान्सर पनि भेटिन्छ त कोही चोटपटक लागेर मुखको तलमाथिको हड्डी नै भाँचेर आइपुग्छन् । केही महिनाअघि अछामबाट ६ वर्षे बालिका भीरबाट लडेर अनुहारको हड्डी भाँचिएको अवस्थामा यहाँ ल्याइयो । यो केस जटिल भएकाले एक्सरे र बालिकाको फोटो पठाएर कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत ओरल एन्ड म्याजिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंहसँग सल्लाह गरेँ । त्यस क्रममा अनुहारको हड्डी भाँचिएकाले अपरेसन नै गर्नुपर्ने निष्कर्षमा पुगियो । यस्तो अपरेसनका लागि नजिकमा बुटवलसम्म पठाउनुपर्ने हुन्छ । आर्थिक अभावका कारण अभिभावकले बल्लबल्ल ३–४ दिनमा मात्र बालिकालाई बुटवल लैजान सके । बडो दुखसाथ खर्च जुटाएर टाढासम्म जाँदा परिवारका सदस्यको मुहारमा पीडा झल्किन्थ्यो ।
डडेल्धुरामा सम्भव नभए पनि धनगढीमा अपरेसन सेवा उपलब्ध गराउन सकिए सुदूरपश्चिमका जनतालाई धेरै राहत हुन्थ्यो । अर्को उपाय, सरकारले यस्तो सेवा दिन सक्ने सर्जनलाई सके हप्तामा १ पटक र त्यो सम्भव नभए महिनामा २ पटक सुदूरपश्चिममा ल्याएर बिरामीलाई सेवा दिन सकिन्छ । यहाँको गरिब जनताले महँगो फिस तिर्न नसक्ने भएकाले प्राइभेटबाट डाक्टर ल्याउँदा गाह्रो नै हुन्छ । भ्रमण भत्तामा राज्यकोषबाट करोडौं खर्च भइरहेको अवस्थामा डाक्टरलाई पनि सेवासुविधा दिएर जनताको जनताको घरदैलोमा पु¥याउनु सराहनीय कार्य नै हुने थियो । दाँतको संक्रमणलाई उपेक्षा गर्दा कतिपल्ट संक्रमण फैलिएर घाँटी सुन्निने र खानेकुरा निल्न गाह्रो हुने, गाला सुन्निने, आँखाको वरिपरिको भाग सुन्निने, सास फेर्न समस्या हुने र मुख नै खोल्न गाह्रो हुने र बिरामीलाई भर्ना गरेरै उपचार गर्नुपरेको घटना पनि छ ।
कतिपय बिरामीलाई रेफर समेत गर्नुपर्ने हुन्छ । यसरी दाँत तथा मुखको स्वास्थ्य समस्या विकराल रहनुको मुख्य कारण अशिक्षा र जनचेतनाको अभाव हो । चेतना अभावमा बच्चाको दाँत भोलि झर्ने त हो नि भनेर हेरविचार गरेको पाइँदैन । त्यसले गर्दा सबै दाँत कीराले खाएर मुख नै संक्रमणको प्रमुख स्रोत बन्छ । यो समस्या हटाउन स्कुलदेखि गाउँगाउँसम्म चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ । दाँत कीराले खाए पनि नदुखुन्जेल र जटिल समस्या ननिम्तिएसम्म उपचारमा नलाग्ने हाम्रो बानी हुन्छ । अर्को कुरा, आर्थिक अभावका कारण पनि धेरै मानिसले दाँतको महँगो उपचार उपभोग गर्न पाएका छैनन् । यसका लागि सरकारी स्तरबाटै उपचार सेवालाई सहज र सर्वसाधारणको पहुँचमा ल्याउन सक्नुपर्छ ।
सामान्यतया मुखको स्वास्थ्यलाई हामीले कम आँकिरहेका हुन्छौं । फलस्वरुप दाँत र मुखको रोगले सताएपछि पैसा खर्च हुने त छँदै छ, असह्य दुखाइ भोग्नुपर्ने र उपचारका लागि धाउँदा समय पनि नष्ट हुन्छ । यो अवस्था आउन नदिन मुखको सरसफाइमा ध्यान दिनुपर्छ । हरेक पटक खाना खाइसकेपछि कुल्ला गर्ने, दिनमा दुई पटक खानापछि फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्ने, धेरै जमेको फोहोर भए मेसिनद्वारा दाँत सफा गर्ने गर्नाले मुख स्वच्छ राख्न सकिन्छ । हामीले खानपिनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । धेरै गुलियो र दाँतमा टाँसिने खालका र बजारमा पाइने रेडिमेड खानेकुराभन्दा काँक्रा, मुला, गाँजर र अन्य फलफूल तथा खानाले मुख स्वस्थ राख्न सकिन्छ । त्यति गर्दागर्दै कुनै समस्या आएमा समयमै दन्त चिकित्सककोमा गएर परामर्श लिन र उपचार गराउनुपर्छ । यति गरेमा पछि पछुताउनु पर्दैन । (डा. नेपाली डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत छन् ।)
।