सूचनाको शक्ति - The Power Of Information

        

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु

डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्दै गरेको तारा एयरको विमान । फाइल तस्वीर

रामचन्द्र न्यौपाने
डोल्पा, २८ भदौ । जुफाल विमानस्थलमा समिट एअरको जहाजले सोमबारदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफालले जनाएको छ । समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको जहाज अवतरण गरेको समिट एअरका जुफाल स्टेशन इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए ।
उनले भने, ‘अब दैनिक उडान हुनेछ, यात्रुलाई सकेसम्म सुविधा प्रदान गर्नेछौँ, टिकटको पीडा डोल्पालीले खेप्नुपर्दैन ।’ समिट एअरले भाडादर भने तारा एअरको जत्तिको कायम गरेको क्याप्टेन रोकायाले जानकारी दिए। नेपालगन्ज–डोल्पा आठ हजार ६५० र डोल्पा–नेपालगन्ज तीन हजार ६१५ रुपैयाँ भाडा छ ।
विमानस्थल सञ्चालन भएको ४२ वर्षपछि कालोपत्रे भएको धावनमार्गमा नयाँ कम्पनीका जहाज कुदेको देख्दा स्थानीयवासीले खुशी मनाएका छन् । ‘अब सहजै यात्रा गर्न सकिन्छ, टिकटको लागि हप्तौँसम्म कुर्न नपर्ला, थोरै भए पनि राहात पुग्ने भयो,’ उनीहरूको भनाइ थियो । कुल ५६० मि लम्बाइ धावनमार्ग रहेको विमानस्थलमा कालोपत्रे गरिएपछि विभिन्न विमान कम्पनीका जहाजले उडान भर्न थालेका हुन् । यसअघि तारा एअर र नेपाल एअरका ट्वीनअटर जहाज तथा गोमा र मकालुका जहाजले उडान भर्ने गरेका थिए । धावनमार्ग कालोपत्रे भएपछि सीता एअरको डोनियर जहाजले पनि उडान भर्ने नेपाल नागरिक उड्यन प्राधिकरण नेपालगन्जका प्रमुख प्रकाशबाबु तिवारीले बताए ।
हालसम्म तारा एअरले मात्र यात्रुलाई सेवा दिँदा हप्तौँसम्म टिकटका लागि कुर्नुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो अवस्था नआउने उनले बताए । ‘यसअघि जुफाल विमानस्थलमा टिकट पाउन मन्त्रीसम्मको पावर लाग्थ्यो, एअरलाइन्सका कर्मचारीलाई नमस्कारले रिझाउनुपर्ने अवस्था थियो, अबदेखि त्यस्तो अवस्था नहोला,’ त्रिपुरा सुन्दरी–१ का गौरीशंकर उपाध्यायले भने, ‘यतिसम्म कि विमानस्थलमा जहाज कुर्दाकुर्दा पैसा सकिन्थ्यो, आफ्नो काम नै छुट्थ्यो, समयमै उपचार नपाएर बिरामीसमेत मथ्र्यो, अब नियमित उडान भयो, त्यस्ता समस्याको पक्कै समाधान होला ।’ रासस

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ०५:३९