सूचनाको शक्ति - The Power Of Information

        

भेरी बबई डाइभर्सनमा भित्रियो सुरूङ खन्ने चिनियाँ टनेल बोरिङ मेशिन : कात्तिकदेखि सुरुङ्ग निर्माणमा तिब्रता

काशीराम शर्मा
बाँके, २६ भदौ । नेपालकै पहिलो अन्तरजलाधार बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन परियोजनाले डबल शिल्ड टनेल बोरिङ मेशिन भित्र्याएसँगै अब नयाँ गति लिने भएको छ । परियोजनाको १२ किलोमिटर लामो सुरुङ खन्नका लागि भित्र्याइएको डबल शिल्ड टनेल बोरिङ मेशिन परियोजना स्थलमा पुगिसकेको छ । परियोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार २५० मिटर लामो यो मेशिन जडान गर्न करिब दुई महिना लाग्नेछ ।
मेसिन जडान लगत्तै कार्तिकबाट तीब्र गतिमा सुरुङ्ग निर्माणको कार्य अघि बढ्ने परियोजनाले जनाएको छ । नेपालमा ठुलो परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो । आयोजनामा मेसिनविना गर्न सकिने कामसहित सुरुङको मुख्यद्वारसमेत निर्माण गरिसकिएको छ । आयोजनाले टीबीएम मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने ४ मेगावाट ऊर्जाको समेत व्यवस्था गरिसकेको प्रमुख बस्नेतले बताए ।
चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल ल्याइएको हो । नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो । ‘मेसिन जडानका लागि प्री–टनेल एरेञ्जमेन्टको काम सकिएको छ,’ उनले भने, ‘नोभेम्बर महिनाबाट टीबीएम मेसिन प्रयोग गरी टनेल खन्न सुरु गर्ने गरी तयारी गरिएको छ ।’
राष्ट्रिय गौरवको यो परियोजना अन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाल्नका लागि १२ किलोमिटर लामो सुरुङ खन्न टीबीएम मेसिन प्रयोग गर्न लागिएको हो । यो प्रविधि नेपालमै पहिलोपटक भित्रिएको छ । बबई नदीको किनारबाट सुरुङ खनेर सुर्खेत भेरीगंगा नगरपालिकास्थित चिप्लेबाट भेरीको पानी बबईमा खसालिने छ । टनेल बोरिङ मेशिनले नेपालको उत्खनन् क्षेत्रमा ठूलो अपेक्षालाई साकार तुल्याउने छ ।
परियोजना प्रमुख बस्नेतका अनुसार अनुसार दुई महिनाअघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स पूरा भएको थियो । त्यहाँबाट गत सेप्टेम्बर २ मा नेपाल प्रवेश गर्ने गरी सबै भन्सार प्रक्रिया पनि पूरा गरिएको थियो । तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५.०६ मिटर छ भने नेपाल सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै शाङ्हाईबाट निर्माण गराएको हो ।
सुरुङभित्र आफै खन्दै बाटो बनाउँदै सर्पझैँ घिस्रिँदै अगाडि बढ्ने यो मेसिन विकसित देशहरूमा खासगरी भूमिगत मेट्रो रेलमार्ग निर्माणमा प्रयोग गरिन्छ । त्यस्तै जलविद्युत आयोजना वा खानेपानी आयोजनाको सुरुङ खन्न पनि यो मेशिन प्रयोग गरिन्छ । यो काम कुनै व्यवधान नभए सन् २०२० सम्म सम्पन्न हुने आयोजना प्रमुख बस्नेतले बताएका छन् ।
भेरी बबई सिचाई तथा जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना हो । जसलाई रणनीतिक महत्व दिएर सरकारले निर्माण कार्य अगाडि बढाइरहेको छ । १५ मिटर अग्लो यो ड्यामबाट प्रतिसेकेण्ड ४० क्यूविक मिटर पानी भेरीबाट बबई नदीमा फाल्ने योजना छ । निर्माण परियोजनामा १२ किलोमिटर गहिराइसम्म खन्ने क्षमता भएका यस्ता मेशिनले विकासको मार्गमा अघि बढेको नेपाललाई ठूलो सहायता पुग्नेछ ।
पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको परियोजना सम्पन्न भए ४८ मेगावाट जलविद्युत उत्पादन हुनेछ भने बिजुली निकालिएको पानीबाट बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर क्षेत्रफलमा १२ महिनै सिचाईं सुविधा हुनेछ । यो परियोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । अबको दुई महिनाभित्रैसुरुङ खन्ने काम सुरु हुने भएकाले यस क्रममा आइपर्ने बाधाहरु हटाउनका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको आयोजना प्रमुख बस्नेतले बताए । मध्यपश्चिमको आर्थिक समृद्धिसँग जोडिएको उक्त बहुउद्देश्यीय आयोजनाको काम तीव्र भएसँगै सर्वसाधारण उत्साहित देखिएका छन् ।
आयोजना निर्माणका लागि सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । १६ अर्व खर्च लाग्ने अनुमान गरिएको आयोजनाको २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । आयोजनाले सुर्खेतका २२, सल्यानका ३ र बर्दियाको १ गाविसलाई समेटेको छ । आयोजना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले पाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ०७:२९