सूचनाको शक्ति - The Power Of Information

        

वडा सदस्यकै घरमा महिला हिंसा : बिहे भएको एक वर्षमै घर निकाला

श्याम बिसी
मुगु, २६ भदौ । वडा सदस्यको छोरासँग विवाह गरेकी एक महिलालाई घरबाट निकालिएको छ । वडा सदस्यमा निर्वाचित ससुरा, सासु र श्रीमानले घर निकाला गरेपछि उनी न्यायका लागि हारगुहार गर्दै्छिन् । उनी हुन्, मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ की उतिकला बिक । १७ वर्षकी बिकको अघिल्लो वर्षको वैशाखमा सोनाम बिकका १८ वर्षका छोरा सुनबहादुर बिकसँग परम्परागत रुपमा बिवाह भएको हो । गाउँले दिदी नाता पर्नेले फकाएर अन्जानमै बिहे गरेकी उनको गर्भमा अहिले ६ महिनाको शिशु छ । गर्भवती अवस्थाकी उतिकला अहिले सासु आमाको हेला, श्रीमान र ससुराको कुटाई खान बाध्य छिन् ।
१७ वर्षकी बिकको अघिल्लो वर्षको वैशाखमा सोनाम बिकका १८ वर्षका छोरा सुनबहादुर बिकसँग परम्परागत रुपमा बिवाह भएको हो । ससुरा सोनाम त्यहिँ वडाका वडा सदस्य हुन् । वडा सदस्यमै निर्वाचित भएका ससुराले आफूलाई गालीगलौज र कुटपीट गर्ने गरेको उतिकलाले बताइन् । ‘मान्छेले ४ बच्चा बच्ची जन्माएकी श्रीमती छोड्छन, तेरो त एउटा बच्चा मात्र त्यो पनि पेटमा छ, भन्दै आफ्नो छोराबाट छुटाईदिने भन्दैथिए ससुराले पहिलेदेखि नै धम्की दिन्थे’ उनले भनिन् । माइतीबाट दाईजो नल्याएको भन्दै आफूलाई घरमा गाली गलौज तथा अपहेलना गर्ने गरेको उनी बताउँछिन् । ‘घरमा पहिले पहिले त एउटा मात्र बुहारी भन्दै राम्रै गर्थे’ उनले भनिन् ‘हिजो आज त अगाडी जे पायो त्यसैले हिर्काउँछन् ।’ गत मंगलबार राती श्रीमान घरमा नभएको बेला सासु र ससुराले घरबाट निकालिदिएका छन् ।
त्यो रात उनी गाउँलेको गोठमा बास बसिन र गर्भवती अवस्थामा श्रीमान र ससुराको कुटाई खाँदा बिरत्तिएर न्यायको खोजीमा जिल्ला सदरमुकाम गमगढी पुगेकी छन् । ‘घरमा झगडा हुदाँ सधै यस्तै हेला गर्ने भए म महिला कार्यालय र प्रहरीमा जान्छु भनेकी थिएँ’ उनी रुदै भन्छिन्, ‘ससुराले त जहाँ गए पनि मेरो छोरो र जितिहाल्छौ भनेका छन्, म अब के गरौँ ?’ उनले महिला तथा बालबालिकाको कार्यालयको सहयोगमा जिल्ला प्रहरी कार्यालय मुगुमा आफुलाई न्याय दिलाई दिनका लागी जाहेरी समेत दिईसकेकी छन् । उनको पेटमा बच्चा भएकाले त्यो बच्चा जन्मने बेलासम्म उनको सुरक्षाका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको महिला बिकास अधिकृत हसिना पराजुली सुवेदीले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ०६:४४