सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य–डायरी

सार्वजनिक शौचालय सुधारमा बेवास्ता

यहाँका घरधनीहरु नागरिकलाई दिशापिसाब लागेमा शौचालय प्रयोग गर्न दिँदैनन्, तर आफ्नो घरको कुकुरलाई भने बाटोमा ल्याएर दिशापिसाब गराउने गर्छन् ।

देशको राजधानी काठमाडौंमा ७७ वटै जिल्लाका नागरिकहरु काम लिएर, आफन्त भेट्न वा घुम्न आउने गर्छन् । राजधानीमा राजनीतिक दलका उच्च नेताहरुदेखि लिएर प्रधानमन्त्री, राष्ट्रपतिसम्म बस्ने गर्छन् । साथै हाम्रो पूर्व राजा पनि यही राजधानीमा नै बस्दै आएका छन् । यो ठाउँमा बृद्धिजिवीदेखि सुकिलामुकिला नागरिकहरुसम्म बस्ने गर्छन् । विदेशी पाहुनाहरु पनि यही घुम्न आउने गर्छन् । यहाँ बाहिरी जिल्लाका लाखौं नागरिक कोठा भाडामा लिएर बस्ने गर्छन् । यहाँका घरधनीलाई नै होस् या बहालमा बस्ने नागरिकहरुलाई घरबाट बाहिर निस्किपछि दिशा, पिसाब गर्नेका लागि सार्वजनिक शौचालय छैन ।

यसरी घरबाट निस्किपछि यदि बाटामा दिशापिसाब लागेमा कि सहेर बस्नुपर्ने हुन्छ होइन भने ट्याक्सी चढेर घरमा आउनुपर्ने बाध्यता छ । यहाँका घरधनी वा बहालमा बस्ने नागरिकलाई त यस्तो समस्या छ भने गाउँबाट आएका नागरिकहरुलाई झन् बढी समस्या रहेको पाइन्छ । उपत्यकाभित्रका गुठी, सरकारी जग्गा र मठमन्दिरहरुको जग्गा सबै व्यक्तिको नाममा नामसरी भइसकेको छ । वडा, नगर तथा महानगरले यी सार्वजनिक सम्पत्ति खोजेनन् र यिनीहरुको सदुपयोग पनि गरेन । सबै सरकारी सम्पत्ति सरकारी कर्मचारी र राजनितिक दलका नेताहरु मिलेर व्यक्तिको नाममा पुर्याए ।

उपत्काभित्र जम्मा ४३ ओटा सार्वजनिक शौचालय छन् । ती शौचालयहरु पनि महानगरपालिकाले ठेक्कामा दिएको पाइन्छ । एउटा शौचालयले दिनहुँ ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गर्छ । यी शौचालयहरुमा पिसाब गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ लिने गरिन्छ । यो पैसा सरकारले निर्धारण गरेको पनि होइन र सरकारको ढुकुटीमा जाने गर्दैन । यो पैसा व्यक्तिको खल्तीमा जाने गर्छ । यता त्यो पैसा पनि नहुने नागरिकहरु शौचालय प्रयोगबाट वञ्चित हुने गर्छन् । जसले गर्दा कि उसले बाटामा गर्नुपर्छ होइन, भने सहेर बस्नुपर्छ । के पैसा नहुने नागरिकलाई चाहिँ दिशापिसाब लाग्दैन ।

सार्वजनिक शौचालयहरु धेरै नरहेको हुनाले गाउँबाट कोही नागरिक आउँदा उसले कसैलाई चिनेको हुँदैन र नचिनेको नागरिकको घरमा शौचालय प्रयोग गर्न दिँदैन । ट्याक्सी चढेर अलि टाढा जंगलतिर दिशा, पिसाब गर्न जाऊभन्दा पनि पैसा पनि नहुने र जंगल तथा खोलाहरु पनि रहेको छैन । उपत्यकाभित्र अहिले सबै घर र बाटा मात्रै रहेको छ । यसले गर्दा कतै दिशापिसाब लागेमा पनि खुल्ला ठाउँ पाइँदैन । शौचालय प्रयोग गर्नका लागि कि होटेलमा गएर खाजा खानुपर्छ र पैसा छैन भने यतिकै सहेर बस्नुपर्ने बाध्यता छ । यता कति होटेलमा खाजा खाएपछि पनि शौचालय प्रयोग गर्न दिँदैनन् । उनीहरु खाजा बेचेर पैसा कमाउँछन्, तर शौचालय प्रयोग गर्न दिँदैनन् ।

यता पसलमा पनि केही सामान किनेर शौचालय प्रयोग गर्छु भन्दा पनि पसलेहरुले पनि शौचालय प्रयोग गर्न दिँदैनन् । पछिल्लो समय कुनै नागरिक घरबाट बाहिर निस्किपछि मलाई दिशापिसाब लागेमा कता जान भनेर सोच्दै ठिक हुन्छ । यो एउटा मात्र नागरिकको समस्या नभई उपत्यकाभित्र बस्ने लाखौं नागरिकको समस्या हो । शारीरिक रुपमा स्वस्थ्य नागरिकले त दिशापिसाब लागेपछि सहन सक्दैन भने बिरामी तथा अशक्त नागरिकले त के गर्ने होला ? उनीहरु कि बाटोमै दिशापिसाब गरिदिन्छन् वा दौडिएर आफ्नो घर आउने गर्छन् । यता बाटोमा धेरै नागरिक तथा सवारीसाधनहरु हुने हुँदा दिशापिसाब गर्न लाजमर्दो हुन्छ र नगरेमा सहन सकिँदैन ।

यस्तो समस्या धनीदेखि गरिब र प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई आउने गर्छ । यो मानवीय गुण हो । साथै हामी मानवलाई दिशापिसाब भनेर आउने गर्दैन । यो जुनसुकै समय र ठाउँमा आउने गर्छ । घरधनी तथा विभिन्न होटेल तथा पसलहरुमा शौचालय प्रयोग गर्न दिनु भनेर आग्रह गर्दा उनीहरु प्रयोग गर्न दिदैँनन् र जबरजस्ती जान खोजेमा चोर आयो भनेर हल्ला गर्ने गर्छन् । हामी नागरिकहरु एउटा दिशापिसाब लागेको नागरिकलाई त आफ्नो शौचालय प्रयोग गर्न दिँदैनौं भनी हामी अरु के ठुलो काम गर्छौ । घर ठुलो हुँदैमा, सुनको सिक्री लाउँदैमा र चिल्लो गाडी चढ्दैमा त्यो नागरिक ठुलो हुँदैन । नागरिकको बानीव्यवहार हेरेर मात्र उसलाई ठुलो मान्न सकिन्छ ।

दिशापिसाब लाग्ने नागरिक पनि मान्छे त हो ? दिशापिसाब लाग्दा कति गाह्रो र समस्या हुन्छ भन्ने कुरा सबै नागरिकलाई थाहै हुन्छ तर हामी थाहा हुँदाहुँदै किन हाम्रो शौचालय अरुलाई प्रयोग गर्न दिँदैनौं । हामीले हाम्रो शौचालय यदि कसैलाई समस्या परेको समयमा प्रयोग गर्न दिँदा उसले हाम्रो घर त लिएर जाँदैन नि त । तीन दशकअघि उपत्यकाभित्र खुला ठाउँ हुन्थ्यो । नागरिकहरु खोलाको छेउ, जंगल र खाली ठाउँमा गएर दिशा, पिसाब गर्ने गर्थे । अहिले खोला छैन, खाली ठाउँ छैन र जंगल पनि रहेको छैन । सरकारले सार्वजनिक शौचालय बनाएपनि निकै कम बनाएको छ र बनाएकोमा पनि प्रयोग गर्नका लागि पैसा तिनुपर्ने रहेको छ ।

दिशापिसाब गरेको पनि पैसा तिनुपर्दा कस्तो देशमा हामी नागरिक भएर जन्मिएछौं भनेर नेपालीहरु सरकारप्रति वा आफूप्रति नै धिक्कार गर्ने गर्छन् । पैसा तिरेर शौचालय बस्न गएमा पनि शौचालयको ढोकामा चुकुल हुँदैन, पानी हुँदैन र एकदमै फोहोर हुने हुँदा त्यहाँ दिशा पिसाब गर्न पनि सकिँदैन । साथै नागरिकले पान, पराग, भोला जस्ता गुट्खा खाएर भुइँ तथा भित्तामा सबैतिर थुकिदिएका हुन्छन् । शौचालय बसेर बाहिर आएपछि हात धुन पानी र साबुन पनि हुँदैन र हात पुस्न कुनै कपडा पनि हुँदैन । यसले गर्दा नागरिकलाई झन् रोग लाग्ने गर्छ । पछिल्लो समय पैसा हुने नागरिकहरु शौचालय जान पाउँछन् भने पैसा नहुने नागरिकले बाटा वा कपडामा नै गर्नुपर्ने बाध्यता छ ।

सरकारले अब सार्वजनिक शौचालयमा पैसा लिने यस्तो बेथिति हटाउनुपर्छ । स्थानीय सरकारले व्यापार गर्ने व्यवसायी र घरधनीहरुसँग भने कर उठाउन सक्दैन, तर शौचालय प्रयोग गरेको तै पैसा लिन्छ । स्थानीय सरकारले यदि व्यवसाय गर्ने वा घरधनीहरुसँग कर उठाउने हो भने पैसा जति पनि आउँछ नि ? उपत्यकाभित्र कुनै ठाउँभित्र मात्रै सार्वजनिक शौचालय भेटिन्छ, अरु ठाउँमा छैन । यसका साथै ललितपुर र भक्तपुरमा पनि सार्वजनिक शौचालय छैनन् । सार्वजनिक शौचालय बनाउन हाल निर्वाचन भएर आएका वडाध्यक्ष तथा मेयरले पनि कुनै चासो दिएका छैनन् । नागरिकहरु आफ्नो काम लिएर सरकारी कार्यालयमा जाँदा त्यहाँ शौचालय प्रयोग गर्नुपरेमा त्यहाँको शौचालयमा तल्चा लगाएको हुने वा निकै फोहोर हुने गर्छ ।

सरकार, के सरकारी शौचालय नागरिकले प्रयोग गर्न पाउँदैनन् । सरकारी सम्पत्ति त नागरिकको पनि होइन र ? यसरी सरकारी कार्यालयमा नै सरकारी शौचालयमा तल्चा लगाएको देखेपछि नागरिकहरुले पनि आफ्नो घरको शौचालय कसैलाई प्रयोग गर्न नदिएका हुन् । काठमाडौँका मेयर बालेन्द्र साहले चुनाव जितेपछि कति वित्तिय संस्था तथा सघसंस्थाले हाम्रो कार्यालयमा रहेको शौचालय हामी सार्वजनिक बनाउँछौं भनेर मेयरसँग गएर फोटो खिचे तर अहिले ती संस्थाहरुले नागरिकलाई शौचालय प्रयोग गर्न दिएका छैनन् । अब वडा र महानगरले सार्वजनिक शौचालय बनाउनुपर्छ भने घरधनी र व्यापारीले आफ्नो शौचालय प्रयोग गर्न दिनुपर्छ । साथै शौचालय प्रयोग गर्न न दिने घरधनी तथा व्यवसायीलाई जरिवाना १ लाखदेखि ३ लाख र १ वर्षदेखि ३ वर्षसम्म कैद भनेर कानुन बनाउनुपर्छ ।

यसले गर्दा बाटो फोहोर पनि हुदैँन र मानव स्वास्थ्यमा पनि कुनै हानिनोक्सान पर्दैन । यहाँका घरधनीहरु नागरिकलाई दिशापिसाब लागेमा शौचालय प्रयोग गर्न दिँदैनन्, तर आफ्नो घरको कुकुरलाई भने बाटोमा ल्याएर दिशापिसाब गराउने गर्छन् । यिनीहरुले कुकुरलाई घरभित्र राम्रो खानपान, बाँसस्थानको व्यवस्था मिलाउँछन्, तर आमनागरिकलाई शौचालय प्रयोग गर्न दिँदैनन् । अब काठमाडौं तथा उपत्यका सफा तथा सुन्दर बनाउने घरमा पालेका कुकुरलाई बाटामा लयाएर शौचालय गराउनेलाई कारबाही गर्ने, फोहोर कम्पनभित्र राख्ने र आफ्नो घरको वरपर रहेको बत्ती बिग्रिएमा पनि आफैँले जोडान गर्नुपर्ने जस्ता कानूनहरु बनाउनुपर्छ । सरकारले मात्र फोहोर उठाएर र बाटो सफा गरेर सक्दैन ।

त्यसकारण घरधनीले आफ्नो घरको फोहोर आफैं व्यवस्थापन गर्ने र आफ्नो घरको अगाडि आफैं सफा गर्ने हो भने सहर सफा र सुन्दर बन्न समय लाग्ने छैन । पछिल्लो समय घरधनीहरु घर भने भाडामा लगाउँछन् । पैसा पनि महंगो लिन्छन्, तर भाडामा बस्नेको आफन्त आउँदा शौचालय प्रयोग गर्न दिँदैनन् । यदि शौचालय प्रयोग गर्न नदिने हो भने घर किन भाडामा लगाउनु ? घरधनी तथा व्यवसायीले नागरिकलाई निःशुल्क रुपमा शौचालय प्रयोग गर्न दिने हो भने आमनागरिकले सरकारको मात्र मुख ताक्नुपर्दैन भने महानगरले नयाँ शौचालय बनाउनुपर्दैन र त्यही बजेटबाट शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न पाइन्छ ।

यहाँका घरधनीले २ करोडदेखि १० करोडसम्मका घर बनाएका छन्, करोड पर्ने चिल्लो गाडी चढ्छन्, हात र घाँटीमा लाखौं मूल्य पर्ने सुन लगाएर हिँड्छन् । हामी शिक्षित छौं भन्छन्, हामीले देश विदेश सबै घुमेका छौं भन्छन्, आफ्नो घरको ग्रेटमा कुकुरबाट सावधान भनेर लेख्छन् र आफ्नो घरको चारैतिर सिसिटिभी क्यामरा राख्छन्, तर एकछाक गरिबलाई खाना र शौचालय प्रयोग गर्न भने दिँदैनन् । यी व्यक्तिहरुको मन ढुंगोभन्दा पनि साह्रो हुने गर्छ । यिनीहरुमा धर्म र सहयोगको भावना हुँदैन । पहिलाका नागरिकहरु कोही नचिनेको नागरिक आएमा उसलाई खाना दिन्थे र बास दिने गर्थे, तर अहिलेका नागरिकहरु एक छाक खाना पनि दिँदैनन् र एकपटक शौचालय प्रयोग गर्न पनि दिँदैनन् । पछिल्लो समय नागरिकहरुले धर्म र जिम्मेवारी दुवै बिर्सिसकेका छन् ।

अहिलेका नागरिकहरु आफू सार्वजनिक काम गर्दैनन्, राजनीतिक दलले केही गरेन भन्छन् र सबै दोष सरकारको टाउकोमा हाल्ने गर्छन् । एक नेपालीले अर्को नेपालीलाई समस्या परेको समयमा सहयोग गर्यो भने र सरकारको मुख ताकेनौं भने समस्या पनि हल हुन्छ र देश पनि विकसित हुनेछ । सुधार सरकारले होइन, हामी आफैँले गर्नुपर्छ । यसले गर्दा राष्ट्रको विकास हुन समय लाग्ने छैन । सरकारले सार्वजनिक शौचालय कहिले बनाउँछ थाहा छैन, तर हामीले हाम्रो घरमा भएको शौचालय प्रयोग गर्न दिएमा त त्यो समस्या हल हुन्छ नि ? त्यसैले अब हामी नागरिक सरकारको मुख ताकेर नबसौं र आफैँले सुधार ल्याऔँ । वडाध्यक्ष र मेयर आएको यत्रो महिना भयो, तर सार्वजनिक सम्पत्तिहरु खोज्न चासो नदिनु दुःख लाग्दो कुरा हो ।

सरकारले सरकारी सम्पत्तिको खोजी गरेर त्यस्तो ठाउँमा सार्वजनिक शौचालय, पार्टी, धारा वा पार्क बनाउने हो भने यसले गर्दा सरकारी सम्पत्तिको दुरुपयोग पनि हुँदैन र सबै नागरिकले त्यसलाई प्रयोग पनि गर्न पाउँछन् । साथै खुला ठाउँ पनि हुन्छ र वातावरण पनि स्वच्छ हुन्छ । बाटोमा हिँड्दा पानी तिर्खा लागेमा पानी खाने ढुंगे धारा तथा कुवा छैनन् र भएका पानीका स्रोतहरु सुकेर पानी आउँदैन । सरकारले अब ती ढुंगेधारा मिचेर घर बनाएको जग्गाको पनि खोजी गर्नुपर्छ र धारामा पानीको व्यवस्था मिलाउनुपर्छ । अहिले पानी खानाका लागि २५ रुपैयाँ तिर्नुपर्छ र पैसा नभएको अवस्थामा होटेल तथा घरमा पानी माग्दा पनि दिने गर्दैन । अब सरकारले ढुंगे धाराहरुको पनि व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १६:०८

सिफारिस