नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन । अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटु यथार्थलाई नकार्न सकिँदैन । तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ । यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको छ ।
नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपाली फुटबल सही दिशातर्फ अघि बढेको सबैले अनुभव गरेका थिए । उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल भएको थियो । यसका लागि उनले राम्रै वाहवाही पनि पाउँदै आएका थिए । तर उनी नेपाल आएदेखि नै विभिन्न विवादहरूमा समेत मुछिँदै आएका थिए, पछिल्लो घटनाक्रमलाई त्यसैको कडीका रूपमा लिन सकिन्छ ।
खेलाडीहरूले खाने र बस्नेजस्तो सामान्य तर आधारभूत विषयमाथि असन्तुष्टी व्यक्त गर्दा राष्ट्रिय टोलीको क्याम्प नै छाड्न वाध्य पारिएको आरोप प्रशिक्षकमाथि लगाएका छन् । नेपाली टोलीमा किरण चेम्जोङ्गपछिका सबैभन्दा सिनियर खेलाडी रोहित चन्दले अल्मुताइरीसमक्ष खाने र बस्ने ठाउँको विषयमा असन्तुष्टी जनाउँदा उनलाई जबर्जस्ती क्याम्प छोड्न वाध्य पारिएको बताइएको छ ।
त्यसपछि रोहितको समर्थन गर्दै टोलीका अन्य ९ खेलाडीले समेत प्रशिक्षण क्याम्प छाडेर बाहिरिएका थिए । त्यसरी क्याम्प छाड्ने खेलाडीहरूमा रोहित चन्दसँगै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगर आदि रहेका छन् । क्याम्प छाडेको भालिपल्ट ती दश खेलाडीले पत्रकार सम्मेलन नै आयोजना गरेर अल्मुताइरीविरुद्ध उभिएका छन् । उनीहरूले सार्वजनिक रूपमै अब अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसकिने अभिव्यक्ति दिएका छन् ।
खेलाडीहरूले पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीमाथि थुप्रै आरोप लगाएका छन् । उनले अनावश्यक कुराहरूमा समेत खेलाडीहरूलाई नियन्त्रणमा राख्न खोजेको, खेलाडीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गरेको र तानाशाही चरित्र प्रस्तुत गरेका कारण उनले प्रशिक्षणमा बोलाइहाले पनि अब उनको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताएका छन् ।
यता प्रशिक्षक अल्मुताइरी पनि ‘विद्रोह’ गरेका खेलाडीहरूलाई कुनै पनि हालतमा टोलीमा फिर्ता नबोलाउने पक्षमा रहेका देखिन्छन् । उनले सार्वजनिक रूपमै आफू यहाँ रहुञ्जेल क्याम्प छाडेर बाहिरिएका खेलाडीहरू टोलीमा फिर्ता नहुने बताउँदै १७ नयाँ खेलाडीहरूलाई समावेश गर्दै बन्द प्रशिक्षण शुरू गरिसकेका छन् । हाल माल्दिभ्समा लिग फुटबल खेलिरहेका नेपाली टोलीका कप्तान किरण चेम्जोङले सामाजिक सञ्जालमार्फत आफू खेलाडीहरूको पक्षमा भएको बताएका थिए ।
प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा बोलाएका अर्का गोलकिपर विकास कुथुले समेत अहिलेको अवस्थामा टिममा समावेश हुन नसक्ने बताएपछि राष्ट्रिय टोलीलाई अनुभवी गोलरक्षकको अभाव हुने देखिसकिएको छ । यो अभाव पूर्ति गर्न भारतीय आर्मीबाट खेल्ने भविन्द्र मल्ल ठकुरीलाई नेपाली टोलीमा समेट्न प्रयास भइरहेको समाचार समेत बाहिरिएको छ । यस्ता किसिमका कुनै पनि घटना नेपाली फुटबलको भविष्यका लागि पक्कै पनि राम्रो संकेत होइन । यसै पनि समस्याग्रत नेपाली फुटबललाई यसले अझै ठूलो संकटको भूमरीमा फसाउने निश्चित छ ।
खेलाडीहरूमाथि प्रश्न
यो घटनाले नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले कस्ता–कस्ता विषयहरूका बारेमा सोचेर बस्नु परिरहेको रहेछ भन्ने एउटा गम्भीर प्रश्न बाहिर ल्याइदिएको छ । देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूले बस्ने र खाने कुराहरूकै लागि संघर्ष गर्नुपर्ने अवस्था भएपछि उनीहरूबाट कसरी ठूला कुराको आशा गर्न सकिन्छ । यस प्रकरणले राष्ट्रिय टोलीका सिनियर खेलाडीहरूमा अनुशासनको कमी रहेको देखाएको छ ।
खेलाडीको खाने–बस्ने वा अन्य सेवा–सुविधाको जिम्मेवारी प्रशिक्षकको होइन, एन्फाको हो । त्यस्ता आधारभूत कुराहरूको समेत व्यवस्थापन गर्न नसक्नु अखिल नेपाल फुटबल संघ (एन्फा)को कमजोरी हो । तर खेलाडीहरूले प्रशिक्षकसामु आफ्नो समस्या राखेर कुनै अपराध भने पक्कै पनि गरेका थिएनन् जसका कारण यत्रो ठूलो विवाद उत्पन्न भएको छ । त्यसका पछाडि अरू नै केही कारण लुकेको भए त्यसको छानबिन हुनु आवश्यक छ ।
हिजोका दिनसम्म नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका अधिकांश खेलाडी अहिले टोली बाहिर छन् । वर्तमान अवस्थामा पक्कै पनि यी खेलाडीहरू नेपालकै उत्कृष्ट खेलाडीहरूमा पर्दछन् । टोलीबाट बाहिरिएका रोहित चन्द र किरण चेम्जोङलाई छाड्ने हो भने बाँकी सबै युवा खेलाडी छन् । यी युवा खेलाडीहरूको सम्मिश्रणमा नेपाली टोलीले एउटा आकार लिनै लागेको देखिएको थियो ।
तर एकाएक यी खेलाडीहरूको बर्हिगमनले उनीहरूको खेल भविष्य नै दाउमा परेजस्तो देखिन्छ । एकातिर अब के हुने हो भन्ने अन्यौलताका कारण यी खेलाडीहरूले अहिले ठूलो मानसिक दवाव खेप्नु परिरहेको छ भने अर्कातिर उनीहरू कसैसँग खुलेर कुरा गर्न समेत सकिरहेका छैनन् । ‘विद्रोही’को ट्याग झुण्ड्याइएका सबै खेलाडीहरू पत्रकार सम्मेलनको दिनदेखि बाहिरी सम्पर्कमा पनि छैनन् र उनीहरूका तर्फबाट थप प्रतिक्रिया समेत केही आएको छैन ।
प्रशिक्षकको कार्यशैलीमाथि प्रश्नचिन्ह
एन्फाले २०२१ को अप्रिल महिनामा अल्मुताइरीलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पदमा नियुक्त गरेको थियो । तर उनले एन्फाभित्रको चरम राजनीतिका कारण आफूले मानसिक दवाव भोग्नु परिरहेकाले यहाँ काम गर्न नसक्ने बताउँदै फेसबुकमार्फत एकतर्फी रूपमा राजिनामा दिएर स्वदेश फर्किएका थिए ।
एकपटक नेपाली टोलीको नेतृत्व सम्हालेर स्वदेश फर्किएका कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई एन्फाले विशेष आग्रह गरेर २०२१ को अक्टोबरमा पुनः दुई वर्षका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मा दिएको थियो । आफ्नो पहिलो कार्यकालमा नै उनले आफ्नो विशेष छाप छोड्न सफल भएका कारण उनलाई पुनः नेपाल बोलाइएको थियो । २८ वर्षमा पहिलोपटक नेपाललाई साफ च्याम्पियानशीपको फाइनलमा पुर्याएका अल्मुताइरीको उपस्थितिले नेपाली फुटबलले सही बाटो समात्ने अपेक्षा गरिएको थियो ।
तर अल्मुताइरीके कार्यशैली हेर्दा नेपाली टोलीको जिम्मा दिन एन्फाले उनलाई विशेष अधिकार नै दिनुपरेको थियो कि भन्ने आशंका अहिले उत्पन्न भएको छ । हाल टोलीबाट बाहिरिएका खेलाडीले प्रशिक्षकले स्वेच्छाचारी ढंगले मनोमानी गरेका कारण आफूहरू अन्यायमा परेको बताएका छन् । उनीहरूले प्रशिक्षकका कारण आफूहरू ठूलो मानसिक दवावमा परेका कारण क्याम्पबाटै बाहिरिनु परेको आरोप लगाएका छन् । यदि यो कुरा सत्य हो भने त्यसको पनि छानबिन हुनुपर्छ र उनी दोषी देखिए उनीमाथि पनि कार्बाही हुनुपर्छ । आफूलाई मन लागेको समयमा खेलाडीलाई टोलीबाट निकाल्ने र आफ्नै कुरा मात्रै सही हुनुपर्छ भन्ने अधिकार त प्रशिक्षकलाई पनि नहुनुपर्ने हो ।
अल्मुताइरीको नेपाल आगमनपछिका घटनाक्रमहरूलाई हेर्दा उनको दुईथरि रूप देख्न पाइएको छ । उनी बारम्बार नेपाली फुटबललाई माया गर्छु भन्न पछि पर्दैनन् तर उनले नेपाली फुटबललाई आफ्नो बोलीअनुसार सम्मान दिन नसकेको स्वयम् उनका व्यवहारहरूबाट प्रस्ट हुन्छ । सधैँ नयाँ र प्रतिभाशाली युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने, उनीहरूलाई ‘एक्सपोजर’ प्रदान गर्ने अल्मुताइरी एक क्षण पनि नसोची उनीहरूकै भविष्यमाथि खेलवाड गर्न पनि पछि पर्दैनन् । आफ्नो हकका लागि लड्नुपर्छ भनेर खेलाडीहरूलाई शिक्षा दिने अल्मुताइरीसमक्ष जब खेलाडीहरूले आफ्नो हकको कुरा राखे, उनीहरूलाई टोलीबाटै निष्कासन गर्ने निर्णय गरेर उनले द्वैधचरित्रको प्रदर्शन गरिरहेका छन् ।
अल्मुताइरी शुरूदेखि नै विभिन्न किसिमका विवादमा फस्दै आइरहेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसँग अल्मुताइरीको सम्बन्ध उनको पहिलो कार्यकालकै समयमा बिग्रिएको थियो । रोहित चन्दसँगको उनको मतभेदलाई सामाजिक सञ्जालहरूमा त्यस घटनासँग पनि जोड्न खोजिएको छ । सम्पूर्ण देशले नै सम्मान दिएर राखेको विदेशी प्रशिक्षकले आफ्नो प्रतिष्ठाको बारेमा पनि ख्याल राख्न जरुरी देखिन्छ । तर यदि उनले गलत ढंगमा काम गरिरहेका छन् भने अब उनको नेपाल बसाइँ धेरै लामो नहुने भने निश्चित छ ।
एन्फाको भूमिकामाथि प्रश्नै–प्रश्न
यो सम्पूर्ण प्रकरणले अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा)ले कुन ढङ्गले काम गरिरहेको छ भन्ने कुरा प्रष्ट पारेको छ । खेलाडीहरूको खाने र बस्नेजस्तो आधारभूत कुराहरूको व्यवस्था त गर्न नसक्ने संस्थाले कसरी फुटबलको विकास गर्न सक्छ भन्दै अहिले एन्फाको कार्यशैलीमाथि चारैतिरबाट प्रश्न उठाउन थालिएको छ । अहिलेको समस्या समाधान गर्नेतर्फ आवश्यक पहल गर्नसमेत एन्फा चुकेको देखिएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले समस्या समाधानको प्रयत्न भइरहेको बताए पनि के–कस्ता प्रयत्नहरू भइरहेका छन् भन्नेबारे प्रष्ट पारेका छैनन् ।
अध्यक्ष शेर्पाले आगामी असार महिनामा एन्फाको कार्यसमितिको निर्वाचन हुन गइरहेको र सबै त्यसैमा व्यस्त रहेकाले केही समय लाग्ने बताउँदै समस्या समाधानको प्रयास जारी रहेको भन्नु भएको छ । यता एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसहित चार पदाधिकारीले एन्फाको कार्यसमितिको बैठक बस्न माग गर्दै शुक्रवार एन्फामा पत्र दर्ता गरेका छन् । तत्काल बैठक बोलाएर अहिलेको समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ । तर अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनावको मुखमा तत्काल बैठक बोलाउन नसकिने संकेत गरेका छन् ।
यी सबै परिदृश्यहरूलाई हेर्दा अहिले देखिएको समस्या समाधान गर्नेतर्फ एन्फाले पर्याप्त प्रयास गर्न नसकेको हो वा अन्य कुनै कारणले एन्फा समस्या समाधानतर्फ उदासिन रहेको हो भन्ने प्रश्न खडा भएको छ । समस्या समाधान गर्नेतर्फ एन्फा लगायत सबै पक्षले तत्काल सकारात्मक पहल नथाले नेपाली फुटबल बर्बादीको भूमरीमा नजाकिएला भन्ने सकिने स्थिति छैन ।
आइएनएस–स्वतन्त्र समाचार
सत्यपाटी । काठमाडौं ।