सूचनाको शक्ति - The Power Of Information

        

जिम्मेवारी एकातिर, कर्म अर्कैतिर

चेकिङको ‘पासो’ थाप्दै ट्राफिक प्रहरीको असुली, ट्राफिक व्यवस्थापन ‘भद्रगोल’

चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछन् । जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा निकाल्छन् र बिलबुक फिर्ता गर्छन् ।

बाँकेमा चेकिङका नाममा ट्राफिक प्रहरीको असुली तीव्र बनेको छ । साँझ परेपछि ट्राफिक प्रहरीको चेकिङ सुरु हुन्छ । अनि चेकिङका नाममा असुली सुरु हुन्छ । बिहीबार साँझ ८ः४५ बजे कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत हाइस्कुल बिटमा असुलीका दृष्यहरु छरपस्ट भएका छन् ।

अचम्मको कुरा, चेकिङस्थलमा ट्रक, टिप्परसहित अन्य मालबहाक सवारीसाधन मात्र ट्राफिक प्रहरीको चेकिङमा पर्छन् । अन्य गाडी र मोटरसाइकल चेकिङमा पर्दैनन् । जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ । अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५००–१००० रुपैयाँसम्म रकम असुली हुन्छ ।

धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ ।

नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा ट्राफिकलाई पैसा बाँढ्दा बाँढ्दा एक हजारसम्म रुपैयाँ खर्च हुने उनी बताउँछन् । ट्राफिक प्रहरीलाई पैसा दिएको यथार्थ प्रमाण भने चालकहरुले उपलब्ध गराउन सक्दैनन् । ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको छ ।

ट्राफिक प्रहरीले दिने झन्झटका विषयमा गुनासाहरु भने खुलेर गर्छन् । प्रहरीले विभिन्न कारण देखाउँदै फाइन (जरिवाना)का नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् । ट्राफिक प्रहरीले उनीहरुबाट विभिन्न बाहनामा रकम असुल्ने गरेको पाइएको छ ।

नेपालगन्जतिरबाट गएको भे त १३२ नम्बरको ट्याक्टर कोहलपुरस्थित हाइस्कुल अगाडि रोकियो । ट्याक्टरले बालुवा बोकेको थियो । त्यसमा चालकसँगै एकजना पछाडिको ट्रलीमा तीन जना सवार थिए । ट्याक्टरलाई सुरक्षाकर्मीले रोके । तीमध्ये चालक सुरक्षाकर्मी भएतिरै गए । त्यहाँ उनी करिब ३–४ मिनेट जति नै बसेका थिए ।

ट्याक्टर कम्दीबाट बालुवा ल्याएर आएको रहेछ । ट्याक्टरमा बसेकालाई किन रोकेको भनेर जिज्ञासामा ती व्यक्तिले भने ‘बिलबुक लाइसेन्स सबै छ । पैसा खानको लागि त होला । पैसा पायो भने पनि छाडिन्छ । नभए पनि राख्दिन्छ । त्यतिकैमा चालक आए । उनलाई सोध्दा भने, ‘बिलकुल राख्दियो । पैसा देउ भन्थ्यो । पैसा छैन अनि ।’

ती चालकले डबल लोड भएको भनेर पैसा मागेको र पैसा नहुँदा भोलि आउनु भन्दै बिलबुक आफूसँगै राखेर पठाइदिएको जानकारी दिए । उनीहरुका अनुसार प्रहरीले फाइन काट्ने भन्दै १०० देखि ५०० रुपैयाँसम्म माग्ने गरेको छ । तर, त्यसको न बिल हुन्छ न त अरु प्रमाण नै । लाइसेन्स भए पनि पैसा माग्ने गरेको स्थानीयहरु बताउँछन् ।

उनीहरुले भने, ‘ह्या असुल्न पल्केका । १००, २००, ३०० मागेर हैरान बनाउँछन् । स्रोतका अनुसार चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछन् । जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा निकाल्छन् र बिलबुक फिर्ता गर्छन् ।

यदी पैसा छैन भने बार्गेनिङ गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । प्राप्त जानकारी अनुसार फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्लाका ‘हाकिम’लाई पैसा बुझाउने गरेको स्रोत बताउँछ । ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् ।

मनप्रसाद आचार्य, अध्यक्ष, बागेश्वरी यातायात व्यवसायी समिति

सबै कागजात बोकेर चलेका सवारी साधनबाट रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि रोक्न खोज्दा गत महिना नेपालगन्जको सडक विभाग अगाडी ट्राफिक प्रहरी र टिपर चालकबीच झडपकै स्थिति निम्तिएको थियो । त्यस क्रममा ट्राफिक प्रहरीका जवान टेकराज अधिकारीले टिपर चालकमाथि हातपातसमेत गरेका थिए ।

ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि ट्राफिक व्यवस्थापन भद्रगोल छ । स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान हुन्छ । ट्राफिक नियम पालना गराउनुको साटो बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुलीमा सक्रिय छ ।

पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले बताए ।

दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटनासँगै पछिल्लो समयमा बाँकेका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनभन्दा रकम असुलीका केन्द्रीत रहेको प्रष्ट हुन्छ ।

बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।

ट्राफिक प्रहरीले असुली धन्दामा सक्रिय भएकोले बाँकेमा ट्राफिक व्यवस्थापनको दिगो समस्याको सामधान हुन नसकेको सरोकारवालाहरुको दावी छ । कोहलपुर–८ का पुर्णबहादुर शाहीले भने, ‘ट्राफिक व्यवस्थापनमा भन्दा जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा ट्राफिक चेकिङ हुन्छ । ट्राफिक प्रहरी पैसा असुल्ने काममा मात्रै ब्यस्त छ ।’

बागेश्वरी यातायात समितिका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले रकम लिएर रसिद नदिएको गुनासो आइरहेको बताए । उनले भने, ‘यस विषयमा हामीलाई अत्यधिक गुनासो आउँछ । जथाभावी गाडी रोक्ने र रकम असुल्ने काम राम्रो होइन । चौराहा क्षेत्रमा ५०० मिटर खाली गर्ने निर्णय भएको छैन । हाइस्कुलतिर जरिवाना काट्ने मात्रै भएको छ ।

ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालनामा राम्रोसँग सुधार गर्नका लागि नियमभन्दा बढी लोड ल्याएका, कागजपत्र नभएकालाई कारबाही गर्नुपर्नेमा ट्राफिक प्रहरीले नै सुधार हुनुपर्ने वातावरण बिगारिरहेको उनले बताए । ‘कारबाही गर्ने, जरिवाना तिर्ने वित्तिकै अपराध गरेको भए पनि छुट हुने भनेपछि झन् विकृति बढ्छ,’ उनले भने ।

अध्यक्ष आचार्यले गल्ती पहिचान गरी नियमअनुसार कारबाही नहुने भएकाले झन् विकृति बढिरहेको उनको दावी छ । उनले भने, ‘गल्ती जे गरेपनि जरिवाना गर्ने वित्तिकै मुक्त हुने भनेपछि त्यो संविधानभन्दा माथि भयो ।’ ट्राफिक व्यवस्थापन चुस्तदुस्त र मर्यादित बनाउनुको सट्टा ट्राफिक प्रहरी असुलीमै केन्द्रीत रहेको सरोकारवालाहरुको आरोप छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०७:०७