जाजरकोट । आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एकघण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । ‘घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफैं जाने हो भने घरको काम हुँदैन,’ हैकलीले भने ।
६२ वर्षीया पानसरी विक पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव हुँदै आएको बताउँछिन् । यस दलित बस्तीमा २३ घरपरिवार बस्दै आएका छन् । सबै दलित घण्टौँ हिँडेर पानी ल्याउन बाध्य छन् । माथिल्लो गाउँमा पानीको धारा आँगनमै हुँदा सरसफाई, तरकारी बाली लगायतमा सिँचाइसमेत गर्न सजिलो भएको छ ।
माथिल्लो दल्लीमा अधिकांश ठकुरी र मगर समुदायका बस्ती छ । त्यहाँ नियमित पानी आउँछ । आधा घण्टाको दूरीमा रहेको दलित बस्तीमा भने खानेपानीको समस्या वर्षौैदेखि हुँदै आएको छ । यहाँका दलित अर्काको काम गर्दै र माछा मारेर जीवनको गुजारा गर्दै आएका छन् । गिट्टी कुटेर यहाँका दलित अहिले बिहान–बेलुकाको छाक टार्ने गरेको अर्का दलित मने वादीले बताए । दलित समुदायका बालबालिका दैनिक विद्यालय पनि जाँदैनन् ।
उनीहरु आमा, बाबासँग गिट्टी कुट्नेदेखि भारत गएर काम गर्ने गर्दछन् । खरले छाएको छाप्रोभित्र यहाँका दलितको बसाइ छ । अभावै अभावको जिन्दगी बिताउन बाध्य भएको वादी समुदायका अगुवा रत्ने वादीले बताए । पर्याप्त जमिन भएको भए केही खेती, किसानी गरेर परिवार पाल्ने सजिलो हुने थियो तर सम्पत्तिको नाममा छाप्रो घर मात्र रहेका कारण केही प्रगति हुन नसकेको मनेले बताए । पानी भएको भए थोरै भएको जमिनमा केही खेती गरेर उत्पादन गरी समस्या हल हुने उनको भनाइ छ ।
।