सूचनाको शक्ति - The Power Of Information

        

आर्चरीमा बालिकादेखि वृद्धसम्म खेलाडी

आठौं राष्ट्रिय खेलकुद

बाँके । तराईमा गर्मीले तताउँदै गएको छ । विहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्ला ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यहीबेला नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकूद चलिरहेको छ ।

खेलकुदको रौनकले बेग्लै रंग लिएर देशको वातावरणलाई तरंगित तुल्याइरहेको छ । खेलाडीहरू खेलिरहेका छन्, प्रशिक्षकहरू खेलाइरहेका छन्, आयोजकहरू खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पुर्याइरहेका छन् ।

माहोल खेलकुदमय छ, कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराते, तेक्वान्दो वा उसु, कतै भलिबल । धेरै खेल उमेर अनुसार पनि खेल्ने गरिन्छ । तर प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा चलिरहेको आर्चरी प्रतियोगिताभित्रको रहस्य भने अलि फरक छ ।

जहाँ १२ बर्षिय अनुष्का शेरचनदेखि ७० बर्षिय रामप्रसाद राईले खेलिरहेका छन् । पोखरा महानगरपालिका–४ रानीपौवाकी अनुष्का कक्षा ७ मा भर्खरै उत्तीर्ण भएकी छन् । उनी आठ जना प्रतिश्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् ।

त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आवद्ध छ । बुवा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौं राष्ट्रिय खेलकूदमा गोल्ड मेडल तथा ११ औं ओलम्पिककी टप स्कोरर हुन् ।

उनका दाजु अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० बर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ बर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकूदमा भाग लिने अवसर पाइन् ।

आफूभन्दा सिनियर र खारिएका खेलाडीहरुसँग अनुष्काले प्रतिश्पर्धा गरिरहेकी छन् । ९६ जना प्रतिश्पर्धीहरुका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकहरुले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन् । आफूभन्दा निकै सिनियरहरुसँग प्रतिश्पर्धा उनका लागि चूनौतिपूर्ण छ ।

उनी भन्छिन्, ‘खेल जितिहाल्छु भन्ने त लागेको छैन । तर आफूभन्दा योग्य, सिनियर र अनुभवी खेलाडीहरुसँग खेल्न पाउँदा धेरै कुराहरु सिक्ने अवसर पाइरहेकी छु ।’ आर्चरीमै ओलम्पियन बन्ने उनको धोको छ । ‘१३ औं सागमा पनि भाग लिन्छु,’ अनुष्का भन्छिन्, ‘आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।’

अनुष्का प्रतिश्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर त्यही प्रतियोगितामा ७० बर्षिय रामप्रसाद राईले पनि भाग लिएका छन् । २००६ सालमा जन्मिएका उनी २०१८ सालमा बेलायती सेनामा भर्ना भए । त्यहाँ रहँदा उनले अन्य खेलहरु खेले पनि आर्चरी भने कहिल्यै खेलेनन् ।

२०५६ सालमा बेलायती सेनाबाट अवकास पाएका राईले त्यसपछि विभिन्न समाजिक संघसंस्थामा क्रियाशिल रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर उनी आर्चरी खेल खेल्न थाले । उनी भन्छन्, ‘यसमा अन्य खेलजस्तो दौडधुप गर्नुपर्दैन ।’

६ बर्षदेखि नियमितरुपमा आर्चरी खेलिरहेका राईले सातौं राष्ट्रिय खेलकूदमा देशभरबाट पाचौं स्थान हाँसिल गरेको सुनाउँदै भने, ‘बुढेसकालमा सहजै खेल्न सकिने भएकै कारण मैले यो खेल खेलिरहेको छु । मलाई १३ औं सागमा पनि भाग लिने धोको छ ।’ नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ्ग यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन् ।

उनले भने, ‘आर्चरीलाई थप व्यावसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर मेडल भिœयाउन हामी लागिपरेका छौं ।’ संघले सबै प्रदेशमा खेलाडीहरु उत्पादन गर्ने योजना बनाएको गुरुङ्गको भनाई छ ।

‘आर्चरी खेलको प्रवद्र्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।’

उनले बालिकादेखि वृद्धसम्मको सहभागिताले अन्य खेलाडीहरुको मनोवल पनि बढाएको बताए । उनी भन्छिन्, ‘यहाँको सहभागिताले खेलाडीहरुमा उत्साह बढाएको छ ।’ नेपालमा आर्चरीको सुरुवात २०४४ सालदेखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको छ ।

खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङ्गको भनाई छ । उनले भने, ‘विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०८:५३