विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगन्जले शुक्रवार १३३ औं वार्षिकोत्सव मनाएको छ । सात शैय्याबाट सुरु भएको यो अस्पताल हाल १५० शैय्यामा सञ्चालित छ ।
अस्पताललाई ५०० शैय्याको रुपमा स्तरोन्नति गर्ने प्रयास र योजना अघि सारिएको छ । नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेका कारण ३५० शय्यामा छिट्टै स्तरोन्नति हुने अस्पताल प्रतिनिधिको भनाइ छ ।
शुक्रबार आयोजित १३३ औं वार्षिकोत्सवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले अस्पतालमा सुधारको धेरै प्रयास गरिएको भन्दै यसलाई भौतिक र जनशक्तिको माध्यमबाट थप सशक्त बनाउन आवश्यक भएको बताए ।
थप २०० शय्यामा विस्तारका लागि निर्माण गरिएको ओपीडी भवन निर्माणको अन्तिम चरणमा छ । निर्माण कम्पनीले ढिलाइ गरे पनि इमरजेन्सी कक्ष नयाँ भवनबाट सुरु भइसकेको छ ।
वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चापागाईले भने, ‘अहिले पनि २०१६ सालमा बनेको जीर्ण भवन छ, सो भवन प्रयोग गर्न छोडेका छौं, नयाँ भवन बने पनि थप भौतिक पूर्वाधारको आवश्यकता छ ।’
डा.चापागाईले एक अर्ब आठ करोड लागतमा अस्पतालको नयाँ भवनसहित दुई अर्ब ४३ करोड लागत स्टिमेटसहित भौतिक पूर्वाधार निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिए । सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पतालले पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
भेरी अस्पताल सङ्घ मातहत रहे पनि प्रदेशले विभिन्न समयमा सहयोग गर्दै आएको मन्त्री खनालले जानकारी दिए । मन्त्री खनालले जिल्लामा राम्रो उपचार सेवा लग्न सके भेरी अस्पतालमा चाप कम हुने बताए ।
मन्त्री खनालले भने, ‘सबै जिल्ला अस्पतालमा कम्तीमा विशेषज्ञ सेवा दिनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ, यसका लागि ती जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुविधाको सुरुवात गरेका छौं ।’ उनले मातृमृत्युदर र कुपोषण बढी भएका कारण त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
सत्यपाटी संवाददाता । बाँके