प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि यही मंसिर ४ गते अर्थात् भोलि मतदान हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उमेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ ।
उमेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ ।’
त्यस्तै, समानुपातिकतर्फ कुनै दलले कम्तीमा एक सिट पनि नल्याएमा धरौटी जफत हुने व्यवस्था छ । ‘समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुनेछ’ सोही दफाको उपदफा २ मा उल्लेख छ ।
राष्ट्रिय दल बन्न के–के हुनुपर्छ ?
निर्वाचनपछि राष्ट्रिय दल बन्ने योग्यता के–के हुन् भन्ने जिज्ञासा पनि उठिरहेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल राष्ट्रिय दल बन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नपर्ने र समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने बताउँछन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलसम्बन्धी व्यवस्था छ । ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ,’ भनिएको छ । मानौँ यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा बढी मत खस्यो ।
त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ । कुनै दलले प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये एकभन्दा बढी सिटमा निर्वाचित भयो र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसद्मा प्रतिनिधित्व हुन्छ तर, त्यसले राष्ट्रिय दलको मान्यता पाउँदैन । यस्तै, समानुपातिकतर्फ एक सिट पनि प्राप्त नगर्ने दलको जमानत जफत हुनेछ ।
प्रत्यक्षतर्फ नजिते पनि समानुपातिक सांसद बन्न कति मत चाहिन्छ ?
निर्वाचनमा कुनै दलले प्रत्यक्षतर्फ एक सिट पनि ल्याएन तर समानुपातिकतर्फ केही लाख मत ल्यायो भने संसदमा प्रतिनिधित्व हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरैमा छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रत्यक्षतर्फ शून्य सिट भए पनि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत ल्याएमा उमेदवार निर्वाचित हुनेछन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि संसद्मा त्यो दलको प्रतिनिधित्व हुनेछ । खसेको सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याएमा उक्त दलका उमेदवार निर्वाचित हुने छैनन् । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (११) मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुनेछ ।’
मानौँ, यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा बढी मत खस्यो । त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ । तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसदमा प्रतिनिधित्व हुनेछैन । प्रत्यक्षतर्फ निर्वाचित भएको खण्डमा भने प्रतिनिधित्व हुन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं