सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा बिहीवार गाईजात्रा मनाईयो

नेपालगञ्जमा बिहीवार गाइजात्रा पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगञ्जमा सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो ।

नेवाः पुचको आयोजना, नेवाः दये दबुको सह आयोजना र बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीले बताए ।

स्थानीय भेरी स्कुल धम्बोझीमा भेल भएका यस वर्ष मृत्यु भएका मृतकका परिवार र आफन्तहरुले बिभिन्न प्रतिकात्कम पहिरनमा धम्बोझी, पुष्पलाल चोक, बसपार्करोड, न्यूरोड हुँदै बागेश्वरी मन्दिर पुगेर सापारु जात्रा सम्पन्न गरिएको थियो ।

बागेश्वरीमा पुगेका सापारुमा संलग्न बालबालिकालाई पुचःको तर्फबाट सुगुन दिएर जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका पार्षद एवं वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले बताए ।

जात्रामा नेवाः समुदायको लाखेनाच प्रदर्शन गरिनुका साथै प्रतिकात्मक तायमचा र बिबिध पहिरनमा सिङ्गारिएका बालबालिकाले पदयात्रा गरेका थिए ।

साउन शुक्ल पुर्णिमाको पछिल्लो प्रतिपदा तिथिमा नेवाः समुदायले पछिल्लो वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा सापारु जात्रा गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १८:४९