सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै

राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ ।

दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।

सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ ।

उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ०६:३९