सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि मलमास सुरु, के गर्नुहुँदैन ?

आजदेखि मलमास सुरु भएको छ । पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान् विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ ।

सूर्यले ग्रहण नगरेको मास अर्थात् महिनालाई भगवान् पुरुषोत्तम स्वयम्ले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ ।

अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरू भने गर्नुहुँदैन । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने मान्यता छ ।

अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेनारायण मन्दिरमा आज मंगलबार भव्य मेला लागेको छ । मन्दिर दर्शनका लागि विहानैदेखि भक्तजन आइपुगेका छन् ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख छ ।

मत्स्यनारायण रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा पनि यस मन्दिरको पुरा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०६:५१