सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री पद गुम्ने भएपछि प्रदेशसभा बैठकबाटै भागे हिक्मत !

कोशी प्रदेशसभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा गरेका छन् । दलहरूले मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री हिक्मत कार्की प्रदेशसभा बैठकबाट बाहिरिएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसलगत्तै मुख्यमन्त्री कार्कीले संसद् बैठक आजलाई स्थगित गर्न दबाब दिएका थिए ।

तर, सभामुखले नमानेपछि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिए । त्यसपछि मुख्यमन्त्री कार्कीले दलमार्फत सभामुख गौतमलाई पत्र पठाए शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन माग गरेका थिए ।

विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै मुख्यमन्त्री कार्की बैठकबाट बाहिरिएका थिए ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन माग गरे पनि कोशी प्रदेशसभा सचिवालयले शुक्रबार बेलुका ८ बजे पुनः बस्ने जनाएको थियो । तर अबेर रातिसम्म पनि बैठक नसक्दा स्थगीत भएको थियो ।

प्रदेशसभामा १ सीट रहेको जसपा जेठ १७ गते सरकारबाट फिर्ता भएको थियो । जसपाका निर्मला तावा लिम्बू स्वास्थ्यमन्त्री थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

सोही प्रावधान अनुसार मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका थिए । तर, विश्वासको मत नपाउने अवस्था देखेपछि उनले एकदिनको लागि प्रदेशसभा बैठक स्थगित गराएका हुन् । एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने समीकरण प्रदेशसभामा छैन ।

९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्रै उनलाई समर्थन छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन् ।

मुख्यमन्त्री कार्कीले ४७ सांसदको समर्थन जुटाएर प्रदेशसभाको बैठकमा विश्वासको मत लिने अवस्थामा सभामुख अनुपस्थित भइदिए उपसभामुखले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा बराबर मत भएपछि मात्रै बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउँछन् ।

विश्वासको मत सुनिश्चित गर्न मुख्यमन्त्री कार्कीलाई गठबन्धन दलका दुई प्रदेश सांसद तान्नैपर्ने बाध्यात्मक अवस्था छ । तर गठबन्धन दल प्रत्येक प्रदेश सांसदलाई निगरानीमा राखेर मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्ताव विफल बनाउने तयारीमा छन्  ।

गठबन्धन दलका प्रदेश सांसद तान्न नसकेको अवस्थामा मतदान हुनुअघि नै राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिने संकेत मुख्यमन्त्री कार्कीले गरेका छन् । विश्वासको मत लिनका लागि बिहीबार प्रदेशसभा बैठक बस्नु अगाडिसम्म प्रयास गरेका थिए । तर, सफल भएनन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् तर पहिले आफैँले सरकारले चलाउनुपर्ने दाबी दुवै दलले गरिरहेका छन् । कांग्रेस र माओवादी दुवै दलले आ–आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन्  ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ०८:५०