हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुन देशैभरि फैलिएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज देशबार आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
साथै भारी बर्षा तथा हावाहुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने हुँदा भारी वर्षा, मेघगर्जन तथा चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं