सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थी प्रकरणमा शुक्रबार थुनछेक आदेश आउने

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छाड्ने भन्ने शुक्रबार निर्क्योल हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएको छ । न्यायाधीश न्यौपानेले शुक्रबार विहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । गत मंगलबार नै आदेश गर्ने योजना रहे पनि बहस लम्बिएको थियो ।

जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्छ ।

शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने होइन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्छ ।

थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ ।

उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुन्छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:५८