के लत बस्यो मलाई
कहिले सुधार हुन्छ ।।
एक दिन तिमी नबोल्दा
यो दिल बिमार हुन्छ ।।
साथी रहेछ दुःख
हरपल सवार हुन्छ ।।
सुख पाहुना रहेछन्
छुट्नै हतार हुन्छ ।।
पानी परेर धर्ती
आकास हुन्छ सुन्दर ।।
धर्ती बनेर तिम्रो
के नै बिगार हुन्छ ।।
गजलकार, संगीतकार तथा गायककार तीलकसिंह पेलाको यो गजलले जीवनका को वास्तविकतालाई उजागर गरेको छ । गजलमा जस्तै मान्छे साँच्चै जीवन र जीवन भोगाइका अनौठो यात्रामा उभिएर जीवनका हरेक उतारचढावसँगै संघर्षका खुड्किला चाल्ने गर्दछ । जिन्दगी कहिले खुसी उमंग बोकेर त कहिले दुःख पीडा सँगालेर लम्कन्छ । यहाँ हरेक मान्छे आफ्नै जिन्दगीका उतारचढावसँग सम्झौता गरिरहन्छ । जीवन र जीवनको अर्थ बुझाई फरक–फरक खालको छ ।
कोही भन्छन्, जीवन भोगाइ हो । कोही भन्छन्, जीवन दुई दिनको पाहुना हो । तर जीवन भनेको दुख सुखको संगम हो । जीवन जिउने क्रममा हामीले हरेक दिन हरेक क्षण वा पल जिन्दगीका तिता नमिठा क्षणहरु भोग्नुपर्छ । यहाँ जीवन यथार्थका सन्दर्भमा मान्छेका आफ्नै बुझाई र भोगाई भिन्नभिन्नै छन् । वास्तवमा जीवनमा सुख त केवल पाहुना हो, दुई दिन आउँछ जान्छ । तर दुख हाम्रो साथी हो, जुन हरपल जीवनका मोडहरुमा भेटिइरहन्छ । दुख हरपल हरक्षण जीवनको साथी बन्छ ।
हुनत जीवन भन्नु नै संघर्षको पाटो हो । किनकी संघर्ष विनाको जीवन असम्भव छ । तर, हामीले हाम्रो जीवन र जीवनका हरेक क्रियाकलापहरुलाई कुन तरिकाबाट बुझ्ने ? हामीले हाम्रो जीवनको अर्थलाई कसरी व्याख्या र विश्लेषण गर्ने ? यहाँ हरेक मानिसले आ–आफ्नै तरिकाले आफ्नो जीवन व्यतित गरेका छन् । जीवन जिउने क्रममा आउने उतारचढाव, दुख, पीडा, अप्ठ्यारा परिस्थितिमा विचलित हुनुहुँदैन । दुखलाई आफ्नो शोखलाई शक्तिमा बदलेर निरन्तर अगाडि बढिरहनुपर्छ । किनकी समय यस्तो चिज हो । जुन न पर्खन्छ, न फर्केर नै आउँछ ।
जीवन जगत बुझ्नका लागि अधिकांश मानिस आध्यात्मिकतर्फ लाग्ने गर्दछन् भने अधिकांशले सकारात्मक बाटोतर्फ मोडिने गर्दछन् । तर, जीवन र जीवन भोगाइ अनुभव आफ्नो आफ्नो पाटो अनुसार भोगिरहन्छन् । यहाँ हरेक व्यक्तिको जीवन मुल्यवान छ । जीवन जगत आफैमा अनमोल छ । किनकी मानिसको जीवन भनेकै संघर्षको पर्यावाची हो । जन्मपश्चात बाचुञ्जेल संघर्षरत कर्मशिलसँगै मृत्युलाई वरण गर्दछ । तर, कहिलेकाँही अनयासै जिन्दगी लरखरिदा जीवन शुन्य लाग्छ, निराश लाग्छ ।
यहाँ सयौं मानिसहरु शुन्यतामा बाँचिरहन्छ त जिन्दगीलाई मौका सम्झेर रमाउने गर्छन् । साँच्चै कति प्यारो अनि अनमोल छ । जीवनका अनेक दुख, पीडा तथा संघर्षका बाबजुद पनि हाँसिरहन्छ, मुस्कुराइ रहन्छ सयपत्री र बामरी फूल जसरी । तिमी बिनाको शुन्यतामा बाँचिरहेको जिन्दगीलाई सयपत्री र बामरी फूल जसरी फुलाउन अनेकन प्रयत्न गरिरहेकै छु । किनकी तिम्रो अनुपस्थितिमा तिमीले छाडेर गएको निसानीको जिन्दगीलाई सयपत्री र बामरी फूल जसरी फुलाउन हरपल गोडमेल गरेर शुयोग्य नागरिक बनाउनुछ ।
भाग्यमा देखेको होइन लेखेको मिल्छ भन्ने कुरा यथार्थतामा बदलिएको छ । प्रिय तिम्रो र मेरो भाग्य सात जुनीसम्मका लागि लेखिसकेको छ । तिमीले मेरो भाग्यमा ल्याएको बदलावलाई मैले संघर्षपूर्ण जीवनभित्र यथार्थता खोजिरहेको छु । सात जुनीसम्म सँगै जिउने सँगै मर्ने बाचा कसम खाएको थाहा छ की भुल्यौ, कतिबेला त लाग्छ तिम्रो र मेरो भेट सपनामा हो कि कल्पना, आँखा बन्द गर्दा तिम्रो त्यो न्यानो स्पर्श महसुस गर्छु, तिम्रो अङ्गालोमा बाँधिएको हुन्छु र सबै संसार भुलेको हुन्छु, तर यथार्थ फरक छ, तिम्रो पर्खाइमा जहिले ।
जब तिमीसँग बिताएका पल सम्झन्छु, मुटु भकानिन्छ, मेरो जिवनमा आउनु नै थियो भने किन यति छोटो समय लिएर आयौं ? बाचा कसम निभाउनु नै सक्दैन थियौं भने किन मेरो जीवनमा आयौं ? ठूला–ठूला सपना मेरो आँखामा सजाएर हाम्रो सुन्दर सपनाको महलमा म तिम्रो रानी र तिमी मेरो राजा भएर बस्ने संसार किन सृजना गर्यौं, ? तिम्रो साथ र त्यो सपनाको महल सिसाजस्तै रहेछ, क्षणभरमै चक्नाचुर भएर तहसनहस भयो । तैपनि बल्ल–बल्ल आफूलाई सम्हालेर त्यो सिसालाई जोड्ने कोशिष गरे, फेरि संसार बनाउने प्रयत्न गर्दा मेरो हात काटिदियो र जताततै रगतमा परिणत भइदियो ।
१३ बर्षदेखि रातो रङ्गबाट म निकै टाढा छु । तिमी हुँदासम्म रातो रङ्गमा सजिए, जुन दिन तिमी गयौं, तिमीसँगै यो समाजले मेरो जीवनको रातो रङ्ग पखालिदियो । आज १३ वर्ष पुगेछ, तिम्रो र मेरो विछोड, आफ्नो पहिचान, अंशमा मलाई सुम्पेको तिम्रो निसानी त्यो पनि १६ वर्षको भएछ । तिम्रो छोरा दुरुस्त तिमी जस्तै छ, मेरो प्यारो मान्छे । २०६४ फागुन ३ गते तिम्रो निसानी जन्मेको दिन, हाम्रो सन्तान जन्मेको दिन, खुसीको सिमा नाघेको दिन, म छोरी, बुहारी, श्रीमती अनि आमा बनेको दिन मेरो जिन्दगीको अविष्मरणिय दिन हो ।
तिम्रो त्यो मधुर मुस्कान देख्दा मेरो वेदना सबै हराएर दुर पुग्थे । बुवा बनेको र आफ्नो जिम्मेवारी अझ बढ्यो भन्दै थियौं, त्यो सुन्दा सारै आनन्द महसुस भएको थियो । तिमी कति निस्ठुरी थाहा छ, आफ्नो जिम्मेवारी मलाई सुम्पेर आफू आनन्दले सुतिरहेका छौं । यो जिम्मेवारी निभाउँदा निभाउँदै मेरो उमेर ढल्केको र छोरोको उमेर बढेको पत्तै पाइन । जिम्मेवारी हाम्रो भन्थेउ, तर हाम्रो शब्दमा केवल म मात्र रैछु । तिमी त आफ्नो जिम्मेवारी मलाई सुम्पेर गयौं, एक्लो बनाएर गयौं । तर म र मरो संघर्ष जारी छ ।
के लाग्छ मैले समाज बुझको छैन, समाजका नकारात्मक सोच पढेको छैन ? तर यथार्थमा प्रतिक्रिया नदिएरै अबुझ बनिदिन्छु । कहिलेकाँही मन भक्कानिन्छ, ठूलो आवाज निकालेर रुन मन लाग्छ, तर कसैले सुन्छकी भनेर आफ्नो रोदनलाई आवाजबिहिन बनाइदिन्छु । म र मेरो आँसु त केवल मलाई र मेरो सिरानीलाई थाहा छ । २०६७ मंसीर २४ गते तिमीले दिएको अर्को अविष्मरणीय चोट तिमी सदाका लागि आखा बन्द गरेर मेरो हाँसो, श्रृगार, मुस्कान, रंग, रमाइलोपन र तिमीप्रतिको निर्भरता सबै आफूसँगै लगेको दिन म कसरी भुल्न सक्छु प्रिय ?
हतार कति के ? के तिमीलाई एकपल्ट मलाई हेर्न मन लागेन ? मरो अवस्था हेर्न मन लागेन ? मेरो आँखाले जसरी तिमीलाई खोज्दै थियो, त्यो आफ्नोपन तिमीलाई महशुुुस भएन ? कुरा ठूला गर्थौ, तर छाडेर जाने बेला एकपल्ट पनि जाँदैछु भनेनौ है ? एक्कासी गयौं, एक्लो बनाएर गयौं । तिमीले दिएको मायारुपी उपहार एकान्त र एक्लोपन जो म जहिले, हरपल आफुसँग लिएर हिँड्छु । धन्यवाद प्रिय ! यो मायारुपी उपहारको लागि तिमीलाई फेरि पनि धन्यवाद ।
जिन्दगीको परिक्षा केवल मेरो मात्र किन ? सँगै बस्ने कसम तिमीले पनि त खाएका थियौं, सँगै जिउने सँगै मर्ने वाचा तिम्रो हो, तर मलाई एक्लो पारेर आफ्नो वाचा अधुरो किन बनायौं प्रिय ? जिन्दगीको परिक्षा केवल मेरो मात्र किन ? तिमी र तिम्रो सबै वाचा कसम शब्दलाई आँखा बन्द गरी विश्वास गरे, तिमीले जताजता भन्यौं, त्यही बाटोमा हिँडे, तर बीच बाटोमै तिमीले साथ छाडेर कहाँ गयौं ? तिमीले जहाँ छाड्यौं, अहिले पनि म त्यहीँमा बाटोमा छु । बाटो मैले परिर्वतन गरेको छैन, तिमीले गर्यौं, साथ मैले छाडेको छैन, तिमीले छाड्यौं ।
२०६४ बैशाख १४ गते हामी जोडिएका थियौं । २०६७ मंसीर २४ गते तिमीले छाडेर हिड्यौं । अब आफैं भन त यति छोटो मिलन, बिछोड हुन नै थियो भने किन जोडिएको ? मनमा धेरै प्रश्नहरु छन् । भाग्यको खेल भन्दै आफूले आफूलाई समाल्ने कोसिस गरे । तिमी कति बाठा है, यदि म एक्लो भएको भए म पनि तिमीसँगै जान्थे होला, तर तिम्रो अंश साथमा र मेरो काखमा भएको भएर म तिमीसँगै जान सकिन । समाजको आँखा, तिरस्कार, नकारात्मक प्रश्न सबैलाई झेल्न बाँकी नै थियो । सबैभन्दा पहिले मैले झेलेको मैले सुनेको शब्द अति नै बिचित्र थियो ।
तिमी साथ हुँदाको व्यवहार र साथ छाड्न वित्तिकैको व्यवहार फरक हुँदोरैछ । म आफुलाई आफैले समाल्दै थिए, सुरुवात मैले मेरो जागिरवाट सुरु गरे । एकल महिला, नयाँ नामसँग परिचित भए । सानो बच्चा काखमा राखेर बच्चाको भरणपोषणको जिम्मेवारी काँधमा बोकेर अघि बढे । यो संघर्षमा साथ दिने बुवा र आमा हुनुहुन्थ्यो । बाँकी त रमिता हेर्नेमा पर्नुहुन्छ । मेरो बुबाको हौसलाले म अहिलेको उर्मिला बन्न सफल भएको हुँ । मेरो संघर्ष, समाजको नकारात्मक सोच, मेरो माइती पक्षको साथ, छोराको माया र साथी संस्थाको साथले मलाई अहिलेको उर्मिला बनाएको छ ।
अरुलाई लाग्दो होला म कमजोर भए भनेर म त्यतिबेला नै साहसी नारी भइसकेको थिए, जव तिमीले छाडेको ६ महिनाभित्र काम गर्न सुरु गरिसकेको थिए । जिल्लाको प्रतिनिधित्व गर्दै थिए । त्यतिबेला मेरो कापेको आवाज, रुन्चे स्वर, डराएको अनुहार अरुले महसुस गरेका थिए, तर त्यतिवेला मैले मेरो कमजोरहरुलाई लुकाउँदै आफुले आफुलाई बलियो बनाएर अघि बढे । आज म त्यहि उर्मिला हुँ, जसको आवाजमा कम्पन, डर छैन, बोल्न डराउँदैन, स्पष्टसँग आफ्नो भनाइ राख्न सक्छु । समय बलवान छ थाहा भयो, समाज र परिवारले दिएको चोटलाई आफ्नो कमजोरी होइन, हतियारको रुपमा प्रयोग गर्न सिके ।
जति मलाइ कमजोर बनाउन खोजे, म र मेरो सोच त्यति नै माथि उठ्दै गयो । अहिले म महिलाको पक्षबाट बोल्न सक्छु । उनीहरुको हितको लागि आवाज उठाउन र उनीहरुको पक्षमा बोल्न सक्छु । जो मैले भोगे, त्यो कसैले भोग्न नपरोस् । अहिले थाहा भयो समाजले न भएर समाजमा बस्ने केही नकारात्मक सोचले मबाट मेरो जिन्दगीको रङ्ग खोसियो, म खुसी हुने सबै वातावरण खोसियो, तर अहिले त्यही समाजमा सकारात्मक सोचले मलाई ति नकारात्मक सोचबाट उठ्न मद्दत गर्यौं । अहिले म सबै रङ्गसँग रमाउँदैछु ।
रङ्गको के गल्ती ? रङ्गलाई के थाहा म एकल हुँ ? जब रङ्गले बिभेद गरेन भने म किन रङ्गलाई आफुभन्दा टाढा राख्ने ? त्यसैले म अहिले सबै रङ्गमा रमाउन थालेको छु । मेरो उपस्थितिले शुभ कार्यमा अप्ठेरो पार्छ रे ? फेरि मैले सहयोग गरेको पैसा किन र कसरी पबित्र ? अचम्म छ यो रितीरिवाज । जुन ठाउँमा मेरो सम्मान छैन, त्यो ठाउँमा मेरो उपस्थिति हुँदैन । किनकी मैले मेरो आत्मसम्मानलाई प्राथमिकता दिने गरेको छु । बिधवा म रहरले भएको होइन, बिधाताले बनाएको हो । दोष मेरो थिएन, बिधाताको दोष थियो ।
जुन तरिकाले मलाई कमजोर बनाउने कोसिस गरियो, त्यहि पक्षलाई मैले हिम्मतको रुपमा लिँदै अघि बढ्दै गए, निरन्तर बढिरहनेछु । जिन्दगीले प्रतिकार गर्न सिकायो, जुन दिन प्रतिकार गर्न सिके मसँग बोल्दा नकारात्मक सोंचहरु लचिलो बनेर प्रस्तुत हुन थाले । धेरैले भन्नुहुन्छ, ‘मुभ अन !’ सुरुवातमा ‘मुभ अन’ भनेको के हो भन्ने नै थाहा भएन । यदि बिहे गरेर अघि बढ्नुपर्छ भन्न खोजेको हो भने छोराको अनुहार र भविष्य सम्झेर ‘मुभ अन’ भन्ने शब्द सोच्नै सक्दैन । म फेरि त्यो चोट सम्झन चाहँदैन ।
मैले ‘मुभ अन’को फरक अर्थ बुझेरै आज यहाँसम्म आइपुगेको छु । त्यसैले होला नारी र पुरुषमा फरक । अहिले मलाई अरुले के भन्छ, कसरी लिन्छ, मलाई कसरी हेर्छ, केही मतलव छैन । काम गर्ने हो, आफ्नो जिन्दगी जिउने हो । एक्लो छु, तर कमजोर छौन, हिम्मत साहस संघर्ष जहिले मसँग छ, जसले मलाई एक्लो महसुस हुन दिदैन । दुनियाँ बदल्छु भनेर म कहिले हिँडिन । किनकि यथार्थ सबैलाई थाहा छ, दुनियाँ बदल्न सकिँदैन, बदल्न सकिन्छ त केवल आफुलाई । त्यसैले सुरुवात म आफैबाट गरे ।
अन्त्यमा, महलमा बस्नेले पनि जीवन बिताएकै छन्, बाँचिरहेका छन् भने गरिबीसँग जुध्दै झुपडीमा साग र सिस्नु खाएर पनि जीवन त बिताएकै छन् । तर, के भने मानिसको सबैभन्दा ठूलो शत्रु भनेको आत्मसन्तुष्ट हुन नसक्नु हो । जब मानिस इच्छा चाहनाले उड्ने कोशिस गर्छ, उसका पखेटाहरु पलाउन थाल्छ अनि ऊ जीवनका हरखुसी प्राप्त गर्न चाहन्छ । तर कहिलेकाही यति धेरै महत्वकांक्षा देखिन्छ । ऊ कि नकारात्मकतातर्फ धकेलिन्छ कि त सकारात्मकतातर्फ । जसका कारण ऊ र उसको जीवन परिवर्तन अवश्य गर्दछ ।
यहाँ जीवन यथार्थको व्याख्या र विश्लेषण गर्दा केवल मानिस रमाउनै हुँदैन । इच्छा चाहना प्रकट गर्नु नै हुँदैन खाली दुखी निराश मलिन बनाएर भित्रभित्रै कुण्ठित भएर बाँच्नु नै जीवन हो भन्न खोजेकै होइन ? कदापि होइन । जीवनको अर्थ बुझेर समयको गति सँगै चल्न थाल्ने हो भने जीवन सुखी र सरल हुनेछ । वर्तमान समाजमा त्यस्ता कैयौं घटना भइरहन्छन् र भइरहने पनि छन् । यद्यपी संघर्ष विना जीवनको अर्थ र महत्व बोध हुँदैन । म त्यही नारी हो, मेरो समाजले मलाई एकल र बिधवाको बिल्ला भिराउँदा पनि जीवनलाई गतिशिल बनाउन सके ।
म कर्म गर्नुपर्छ, संघर्ष गर्नुपर्छ, स्वाभिमान हुनुपर्छ भन्ने धारणाबाट अघि बढेको नारी हुँ । जीवन भोगाइदेखि वाक्क बन्नु हुँदैन, क्रुर, बुद्धिहिन, कमजोर बन्नुहुँदैन भन्ने नारी हुँ । किनकी म संघर्ष र चुनौतीलाई स्वीकार गर्न सक्छु । मभित्रको ‘म’ले जीवन र जीवन भोगाइको गन्तव्य मार्गमा अघि बढ्न वा जीवनदेखि हार मानेर बस् भनेर भन्दैन । मलाई मभित्रको ‘म’ले एक संघर्षशील नारी भएर तैले संघर्ष गर्नैपर्छ र आफ्नो गन्तव्यलाई पछ्याउँदै अगाडि बढ्नुपर्छ भन्दै सँधैं डोहोर्याइरह्यो । त्यसैले पनि संघर्षको त्यो अग्नी ज्वालामा होमिरहेको छु ।
भाग्य र समयको चक्र, जीवनमा आइपरेका दुःख र हैरानीलाई मैले आफ्नै ठाने र प्रेम गरे । जीवनमा सफलताको लागि त्याग, मेहेनेर, चोट, कष्ट जस्ता कुराहरू सहन सक्ने क्षमता अवश्य हुनुपर्दछ । मान्छे बाँचेको छ भन्नलाई सपना देख्नुपर्छ भन्छन् । यात्रा रमाइलो हुन बीचमा घुम्तीहरू आउनुपर्छ । उचाइ लिन उकालो हिँड्नुपर्छ । अक्करे भिरमै फुलेका हुन्छन् सुन्दर फूलहरू । तसर्थ अहिलेको उर्मिला बलियो छ कमजोर होइन, म र मेरो संघर्ष जारी छ, जीवन लामो छ अझै देख्न भोग्न बाँकी छ, जुन सधैं रहनेछ । म र मेरो संघर्ष र तिम्रो पर्खाइ जारी रहनेछ । तिमी जहाँ भए पनि मेरो संघर्ष र मेरो आत्मविश्वासलाई उर्जा दिइरहनु ।
उही तिम्रो प्रिय
उर्मिला शाही, महेन्द्रनगर
Design : Aarush Creation
रीतु खड्का पाल । सुदूरपश्चिम