सूचनाको शक्ति - The Power Of Information

        

गर्मी बढ्दै, तापक्रम उकालोतर्फ

केही दिनयता गर्मी बढ्दै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक हप्तायता तापक्रम उकालो लागिरहेको छ ।

‘गर्मी क्रमशः बढ्दो छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम अहिलेसम्म २९ डिग्री सेल्सियस पुगेको छ भने सबैभन्दा बढी गर्मी भएका जनकपुर, भैरहवातिर अधिकतम तापक्रम ३६ डिग्री सेल्सियससम्म पुगेको छ ।’

मौसमविद् पौडेलका अनुसार तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । ‘तर यसो भनेर दिनदिनै तापक्रम बढ्छ भन्ने हुँदैन,’ उनले भने, ‘आकाशमा बादल लागेको दिन तापक्रम केही घट्न सक्छ भने हावा चल्दा तापक्रम स्थिर रहन्छ ।’

सामान्यतया गर्मी बढ्दो क्रममा नै रहने उनले बताए । मौसमविद् पौडेलका अनुसार गर्मी महिनामा गर्मीको मात्रा अधिकतम तापक्रमले जनाउँछ भने जाडोयाममा न्यूनतम तापक्रमले चिसोको मात्रा थाहा हुन्छ । ‘अधिकतम तापक्रम बढ्दै जाने क्रममा न्यूनतम तापक्रम पनि केही बढ्छ,’ उनले भने ।

अहिले दिउँसो अधिकत तापक्रम बढिरहेको छ भने बिहानको चिसो पनि कम हुँदै गएको छ । पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय भएन भने अब मौसम गर्मीतर्फ अगाडि बढ्ने उनको अनुमान छ । मौसमविद्का अनुसार दिनभर घाम लाग्न पायो भने अधिकत तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ०९:३०